फाराम भरेका सबैलाई तुरुन्त लाइसेन्स दिन प्रधानमन्त्रीको निर्देशन

फाराम भरेका सबैलाई तुरुन्त लाइसेन्स दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई तुरून्तै लाइसेन्स दिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

आज दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले सरकारको सम्बन्धित निकायलाई उक्त निर्देशन दिनुभएको हो । १४ लाख सेवाग्राहीले लाइसेन्स परीक्षा उत्तीर्ण गरिसक्दा पनि लाइसेन्स नपाउनु गम्भीर चिन्ताको विषय भएको उहाँको भनाई छ। 

१४ लाख युवाले फाराम भरेर पनि लाइसेन्स पाएका छैनन् । उनीहरूलाई लाइसेन्स दिने काम तपाईहरूको हो । त्यसका लागि नीति र बजेटमा अभाव भए त्यसको समाधान म खोज्छु' प्रधानमन्त्रीले निर्देशन दिँदै भन्नुभयो, 'काम तपाईहरूले नगर्ने गाली चाहिँ मैले खाने भइरहेको छ । लाइसेन्स नपाएका युवाले सरकार खत्तम देख्छन् । प्रधानमन्त्रीको आलोचना गर्छन् । तर, काम नगरेको प्रधानमन्त्रीले होइन, विभागले हो भन्ने बुझ्दैनन् । त्यो बुझ्ने कुरा पनि भएन नि । लाइसेन्स पाउने उनीहरूको अधिकार हो । यसमा लापरवाही नगर्नुस् ।'

आफू प्रधानमन्त्री भएलगत्तै सेवा प्रदायक कार्यालयका लामालामा लाइन हटाउने प्रतिवद्धता गरेको स्मरण गराउंदै उहाँले अपेक्षाकृत नतिजा नआएको गुनासो पनि गर्नुभयो । 'एक वर्षको अवधिमा देखिने गरी सुधार त भएको छ । तर, पूरै सुधार भएको छैन', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'त्यसमा गम्भीर रूपमा ध्यान दिनुस् । विभाग र सेवाप्रदायक कार्यालयहरूको कार्यक्षमता बढाउनुस् ।'

त्यसक्रममा उहाँले आफ्नै सोर्सकोड र सफ्टवेयर कहिले हुन्छ ? भनेर प्रश्न पनि गर्नुभएको थियो । 'स–साना प्राविधिक समस्या सुल्झाउन पनि विदेशीहरू नै बोलाउनुपर्ने स्थिति छ । रातरात सबै कुरा परिवर्तन सकिँदैन, योजनावद्ध काम गर्दा क्रमशः बदल्न सकिन्छ । इञ्जिनियरहरू आफै पढाउनुपर्छ । आफै तालिम दिनुपर्छ । देशलाई आवश्यक पर्ने जनशक्ति योजनावद्ध तरिकाले उत्पादन गर्नुपर्छ । यसमा हामीले गम्भीर भएर सोचौँ र योजना बनाऔँ', प्रधानमन्त्रीको भनाई छ ।

टिप्पणीहरू