दुई मन्त्रीलाई छेउमा राखेर प्रधानमन्त्रीको निर्देशन - सहकारी समस्या छिटो हल होस्

दुई मन्त्रीलाई छेउमा राखेर प्रधानमन्त्रीको निर्देशन - सहकारी समस्या छिटो हल होस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ ।

आज बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले विभागीय मन्त्री र सरोकारवाला निकायलाई उक्त निर्देशन दिनुभएको हो । सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उहाँले दीर्घकालीन र तत्कालिन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने पनि बताउनुभयो ।

प्रधानमन्त्रीले सहकारीको अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यान गएको भन्दै हाल कार्यरत नियामक संस्थाहरुलाई राम्रा, संकटमा रहेका र डुवेका सहकारीहरुको वर्गीकरण गरी प्रतिवेदन पेश गर्न प्रष्ट निर्देशन दिनुभयो । उहाँले सहकारीमा बचतकर्ताले राखेको रकमको सुरक्षामा ध्यान दिन आग्रह गर्दै तीनवटै तहका सरकारको समन्वयमा प्रभावकारी कदम चाल्नुपर्ने खाँचो औल्याउनु भयो ।

सहकारी सम्वन्धी छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालसहित सम्वन्धित मन्त्रालय, विभाग र निकायका अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।

पछिल्लो समय सर्वसाधारण नागरिकले बचत गरेको करोडौँ रकम हिनामिना गरेर सहकारीका सञ्चालकहरु बेपत्ता हुने गरेको समाचार एकपछि अर्को सार्वजनिक भैरहँदा प्रधानमन्त्रीको यस्तो निर्देशन आएको हो ।

टिप्पणीहरू