विषाक्त राजनीतिभित्र अल्मल र बेचैनी

विषाक्त राजनीतिभित्र अल्मल र बेचैनी

– तीर्थ सिग्देल

हल्लाहरू पनि कहिलेकाहीँ बलवान हुँदा रहेछन् । आजकल धेरैले अभियन्ताका नाममा अनेक तर्क गरेको सुनिन्छ । तिनीहरूले गरेका तर्कहरूको फ्याक्ट चेक गरिँदैन । मान्छेहरू यसै त्यस्ता कुरा पत्याउँछन् र बेतुकका तर्क गर्छन् । कुनै पनि सामाजिक, आर्थिक विषय सहतमा आउँछ, तब हामी अलग–अलग कित्तामा बाँडिन्छौं र गाली गलौजमा उत्रिहाल्छौं, हल्लै हल्लाको भरमा । त्यही भएर सायद यो हल्लै हल्लाको देश हो भनेर भूपी शेरचनले उहीबेला भनेका हुनुपर्छ । 

राजनीतिप्रति वितृष्णा छ । यो यहाँको मात्र समस्या होइन । संसारभर नै यस्तो देखिन्छ । कारण धेरै होलान् तर हामी भने क्षणिक प्रतिक्रिया दिन्छौं । र, भन्छौं, ऊ खराव छ । त्यो काम लाग्दैन । त्यसैदिन एक हुल मान्छेहरू त्यही बाटो भएर गए । जिन्दावाद... मूर्दावाद भन्दै थिए । अनि मान्छेहरूले नयाँपनको खोजी गर्न थाले । पुरानाहरूको समय सक्किएको भान पर्दै गयो । के सबै पुराना चिजहरू अब काम लाग्दैनन् त ? प्रश्न नाजायज त होइन तर अहिले एउटा भाष्य निर्माण भइरहेको छ कि अब पुरानाहरू चल्दैनन् । 

भर्खरै नेकपा एमालेले मध्यपहाडी यात्रा सकायो । समृद्धिको यात्राका नाममा शुरु भएको यात्राले कति समृद्धिको खाका कोर्न सक्यो या सकेन, त्यो त समयक्रममा पत्ता लाग्ला । त्यसअघि नेकपा एकीकृत समाजवादीले पनि तराई यात्रा ग¥यो । त्यसपछि त्यो पार्टीले आफूभित्र कस्तो परिवर्तन गर्न सक्यो, त्यो पनि खोजीकै विषय छ । त्यसै बीच दुर्गा प्रसाईले एक्लै अर्को अभियान चलाए । मान्छेहरू त्यता पनि अल्मलिए । अहिले उनी कहाँ छन् ? खोज्नै पर्छ । 

ज्ञान, विवेक, शक्ति, सामथ्र्य र तर्क सबथोक सक्किएपछि चलाउने हल्ला नै हो । क्षमताहीन र कमजोर मान्छेहरूले चलाउने हल्ला त्यसपछि चलन बन्छ ।
 

महान् रुमीले एकपटक भनेका थिए, आफ्नो तर्क बढाऊ, स्वर होइन । प्लेटोले भनेका छन््, सत्य बोल्नेलाई जति घृणा अरु कसैलाई गरिँदैन । आफ्नो ज्ञान, विवेक, शक्ति, सामथ्र्य र तर्क सबथोक सक्किएपछि चलाउने हल्ला नै हो । अनि यसरी जब हल्ला धेरेबेर चल्छ, त्यसपछि त्यो चलन बन्छ । र, मान्छेले त्यही चलन चलाउन थाल्छ । क्षमताहीन र कमजोर मान्छेहरूले चलाउने हल्ला त्यसपछि चलन बन्छ । अनि त्यो चलन मुढेबलमा रूपान्तरित हुन्छ । मुढेबलले जित्ने मान्छेलाई सधैँ त्यस्तै लाग्छ कि अब म जितिरहन्छु । यो मान्छेको आनिबानी हो । 

यति उदाहरण नै यहाँ काफी हुन्छ किनभने यस्ता अनेकौं घटना छन्, जहाँ नेपालीले अनावश्यक बहस गरेका नहुन् । खासमा यो मालइन्फर्मेशन मात्र हो । धेरैजसो यस्ता कुरा धर्म र राजनीतिमा प्रयोग हुन्छ । जब हामी समयको चेतनालाई बुझ्दैनौं, नचाहिँदा कुराका पछि लागेर पछि पछुतो मान्न थाल्छौं । आजको समाजको आवश्यकता र आफ्नो जिम्मेवारीलाई महत्व दिँदैनौं, त्यसपछि हुने त त्यही नै हो नि । समाजको यथार्थ चित्रण नगर्नु र आफू कहाँनेर छु भन्ने थाहा नपाउनु आजको अर्को ठूलै समस्या हो । 

यो समाज तर्कहरूको कारखानाजस्तो रहेछ । हरेक मान्छेले तर्क गर्छन्, तर आ–आफ्नो बुझाइ अनुसारका । बुझ्नु एउटा कुरा हो । मान्छेले जे बुझेका हुन्छन्, त्यही नै सत्य हो भन्ठान्छन् । बुझाइ र सत्य फरक पनि हुन सक्छ भन्ने कुरा नसोच्ने हो भने मान्छे असफल बन्छ किनभने कुनै पनि चिजको सत्य भन्ने हुँदैन । मान्छे सत्यसम्म पुग्न सक्दैनन्, सत्यको नजिकसम्म मात्र पुग्न सकिन्छ । भनिन्छ नि, कहिलेकाहीँ आँखाले देखेको कुरा पनि सत्य नहुन सक्छ । 

एउटा वर्ग छ, राजधानीतिर । म हरेक टेलिभिजनतिर उनीहरूको अनुहार देख्छु । आजकल युट्युबतिर पनि धेरै हेर्छु । लाग्छ, उनीहरू अधिक जान्ने मान्छे हुन्, ज्ञानी हुन् । अर्थात् न्युज मेकर हुन् तिनीहरू । रुस–युक्रेन युद्ध भो उनीहरू टिप्पणीकार बन्छन्, इजरायलमा युद्ध चर्कियो उनीहरू नै भविष्यबेत्ता बन्छन् । राजनीतिका खरो तर्कशास्त्री र विश्लेषक उनीहरू नै ! जब म उनीहरूका टिप्पणी र तर्क सुन्छु अनि सोध्न थाल्छु, अझै कहिलेसम्म राजधानी तिमी आफू राजधानी हुनुको भार बोकिरहन्छौ ? अझै थाकेनन् है तिम्रा काँधहरू ?
पूर्वतिर पहिचानको आन्दोलन सेलाएको छैन ।

कताकता यो भुसको आगोझैं सल्किँदै गएको प्रतीत हुन्छ । उनीहरूले पहिचान खोजे तर राजनीतिले उनीहरूलाई विद्रोही बनाउँदै छ । पञ्चायतमा राजाहरूले छानी–छानी विभिन्न जातका मानिसलाई सत्तामा पु¥याउँथे । बेलाबेला गाउँघरतिर पुगेर तिनै जाति, जनजातिहरूको फेटा गुत्थे । एकदिन उतै बिताउँथे र भन्थे, हामी एक हौं । त्यो एउटा सत्ता टिकाउने कडी थियो । मान्छेहरू त्यसैमा रमाउँथे । चित्त बुझाउँथे र भन्थे, ...जय । 

खै किन हो ? म बुझ्दिन । मान्छेहरू राम्रो कुराको खोजी गर्छन् र नराम्रो वस्तुको उपभोग गर्छन् । आजको विषाक्त राजनीतिभित्र मान्छेहरू अल्मलिएका छन्् । वस्तुवादी समाजमा राम्रा कुराको प्रचार गरिँदैन । हरेक नराम्रा चिजको बढी प्रचार गरिन्छ । हल्ला गरेर म ठीक छु भन्नु त्यो चिजको मौलिक मान्यता हो । दुर्गा प्रसाईंहरूका पछाडि पनि मान्छे कुदे भनेपछि मान्छेहरूले नयाँ खोजेको हो कि अल्मलिएका हुन् ? यसरी नै कुनै दिन रवि लामिछाने पनि चर्का कुरा गर्थे ।

ज्ञानेन्द्र शाही पनि एक समयका विद्रोही थिए । आज उनीहरू के गर्दै छन् ! मसिनो गरी केलाउने हो भने कुरा बुझिन्छ, चामल पनि राम्ररी केलायो भने ढुंगा निस्किन्छ । तर हाम्रो समाज उत्तेजना र हल्लाका पछाडि धेरै कुद्छ । मान्छेलाई कुरा बुझ्न समय लाग्छ । त्यतिबेलासम्म मान्छे फँसिसकेको हुन्छ । गोयबल्स शैली अपनाएर मान्छे शक्तिमा टिकिरहन चाहन्छ । एउटै कुरा धेरै पटक दोहो¥यायो भने त्यो सत्य सावित हुन्छ रे । यो तर्कमाथि विश्वास गरेर आजको समाज दिग्भ्रमित बन्दै गइरहेको छ । दिशाहीन बन्दै छ ।

इन्फर्मेशनले सही गन्तव्य निर्धारण गर्छ । त्यो सही सूचना मान्छेका लागि उपयोगी बन्छ । डिस इन्फर्मेशन असत्य हुन्छ तर सुन्दा उस्तै लाग्छ । त्यो अरुद्वारा चलाइएको हल्ला हो । सुन्दा र देख्दा उस्तै, दुरुस्तै हुन्छ तर हानिकारक हुन्छ । क्षणिकरूपमा त्यो सही देखिन्छ तर अन्ततः त्यो अनुपयुक्त हुन्छ । हाम्रो समाज यही चरणमा गुज्रिरहेको मान्न सकिन्छ कि हरेक समयमा नयाँपनको खोजीमा रुमल्लिरहेको छ । हो, नयाँ चिजहरू राम्रा देखिन्छन् । हरेक लेपन लगाएका वस्तुहरू सुन्दर हुन्छन् । तर दीर्घकालमा त्यसको परिणाम कस्तो हुन्छ ? त्यो शुरुमा थाहा पाउन गाह्रो हुन्छ । जसरी नयाँ भनिएका वस्तुका लेपन खुइलिन्छ, त्यसपछि हेर्नै नमिल्ने हुन्छन्। 

इतिहासले मान्छेलाई कमै अवसर प्रदान गर्छ । देशलाई त झन् कम । रेस जित्न अन्तिम सेकेण्डको महत्व भएजस्तो । खेलको नियमजस्तै हो, राजनीति र प्रणाली पनि । अझ मुलुक चलाउने कुरा जटिल हो । त्यो बेलाको नेतृत्व चुकेकै हो । मान्छे त्यो इतिहासले दिएको जिम्मेवारी पूरा गरेर महान बन्न सक्छन्, जसरी चीनमा देंग स्याओ पिंग र माओहरू, मलेशियामा महाथिर मोहम्मद र सिंगापुरमा लि क्वान युहरू । उनीहरूले देश कसरी बनाए ? यी त उदाहरण मात्र हुन्, यस्ता देश बनाउने सपना बोकेर आएका नेताहरूले चाहे भने देश बन्न समय लाग्दैन रहेछ । 

मुलुक प्रतिदिन अधोगतितिर गइरहेको छ । परनिर्भरता बढेको छ । रेमिट्यान्सको भरमा देश चलेको छ । आर्थिक क्षेत्र मात्र होइन, शैक्षिक, स्वास्थ्य क्षेत्र पनि डाँमाडोल छ । जनसांख्यिक आधारमा मुलुक असन्तुलित बन्दै छ । बाल जन्मदर घटेको छ । वृद्धवृद्धाको संख्या बढेको छ । युवा जनशक्ति पलायन भइरहेको छ । अझ सक्षम र योग्य जनशक्ति पनि बाहिर गइरहेको छ । यसो हुनुमा सबै सरकार वा नीति निर्माणकर्ताको मात्र दोष हो भन्ठान्ने जमात छ । 

फेरि पनि दुर्गा प्रसाईंहरू नेतालाई गाली गर्छन् । राजेन्द्र लिंगदेनहरू प्रदेश खारेजीको कुरा गर्छन् अनि मुख्यमन्त्री, मन्त्री बन्न लाइनमा हुन्छन् । रवि लामिछाने र ज्ञानेन्द्र शाहीहरू चुपचाप बस्छन् । आम मान्छेहरू चिया पसलमा बसेर नगर पालिकाको खिल्ली उडाउँछन् । यो अधिकार, कर्तव्य र जिम्मेवारीबीचको खाडल हो ।

मान्छेले अधिकार मात्र खोज्यो भने यस्तै हुन्छ । त्यतिबेला हल्लाहरू बलवान हुन्छन् । अनि मान्छेहरू आफ्नो कान नछामी कागको पछाडि हुन्छन् । त्यतिबेला जतिसुकै तराई, पहाडी त के हिमालकै यात्रा गरे पनि मान्छेको अवस्था फेरिँदैन । जबसम्म व्यवस्थाभित्रका कमजोरी सुधारिँदैन, तबसम्म मान्छेहरूमा भ्रम रहिरहन्छ किनभने यो हल्लैहल्लाको देश हो । 

टिप्पणीहरू