कोभिड–१९ को नयाँ भेरियन्टबाट सर्वसाधारण त्रसित

कोभिड–१९ को नयाँ भेरियन्टबाट सर्वसाधारण त्रसित

कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट ‘जेएन वान’ नेपालमा पुष्टि भएसँगै नागरिकमा पुनः त्रास बढेको छ । छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न ४१ देशमा देखिएको जेएन वान नेपालमा पहिलो पटक पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिइसकेको छ ।

मन्त्रालयले, ‘देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मिति २०८०/०९/२२ मा गरेको पछिल्लो जेनोम सेक्वेन्सी प्रविधिबाट सात वटा नमुनामा ओमिक्रोनको सब–भेरियन्ट जेएन वान नेपालमा पहिलो पटक पुष्टि भएको,’ जानकारी गराएको छ ।

मुलुकका विभिन्न स्थानबाट संकलित १६ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सात वटामा जेएन वान संक्रमण पुष्टि भएको हो । कोरोनाको नयाँ भेरियन्ट पुष्टिसँगै यसको नियन्त्रण तथा रोकथामका लागि आवश्यक कदम चालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबी छ । 

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जेएन वानको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यक निगरानी एवम् सम्बन्धित मुलुकहरुसँग समन्वय गरिरहेको जानकारी दिएका छन् । 

‘कोरोना महामारीका बेला अपनाइएका सबै उपाय पुनः सक्रिय बनाउने निर्णयबमोजिम काम भइरहेको छ,’ उनले भने, ‘नाकाहरुमा स्क्रिनिङ र निगरानीको कामलाई निरन्तरता दिइएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा पनि निगरानी भइरहेको छ ।’

प्रवक्ता बुढाथोकीका अनुसार जेएन वान कम घातक तर छिटै फैलिने भेरियन्ट हो । तर, बूढाबूढी, गर्भवती, बालबालिका, दीर्घ रोगीलगायतलाई धेरै असर पर्न सक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । 

नेपालमा ९२ प्रतिशत मानिसले कोरोनाविरुद्धको खोप लगाइसकेकाले पनि यो भेरियन्टले धेरै असर नपार्ने मन्त्रालयको दाबी छ । ‘विश्व स्वास्थ्य संगठनका अनुसार मुलुकका ८०/८५ प्रतिशत मानिसले मात्र कोरोनाविरुद्धको खोप लगाएपनि जनस्वास्थ्यमा त्यस्तो असर पर्दैन । नेपालमा ९२ प्रतिशत मानिसले कोरोनाविरुद्धको बुस्टर मात्रासहित खोप लगाइसकेका छन् । त्यसैले, यो भेरियन्टले पहिलाजस्तो महामारीको रुप लिने देखिँदैन,’ बुढाथोकीले भने । 

जेएन वान संक्रमण पुष्टि भएको व्यक्तिहरु काठमाडौं, पोखरा, चितवन, भक्तपुर, धनगढीलगायत क्षेत्रमा रहेको जानकारी दिएका उनले संक्रमितमध्ये कोही पनि अस्पताल भर्ना हुनुपर्ने अवस्थामा नरहेको बताएका छन् । 

त्यस्तै, उनीहरु विदेशबाट आएको वा विदेशबाट हालै फर्केका व्यक्तिको सम्पर्कमा रहेको वा नरहेकोबारे पनि मन्त्रालयले बुझन थालेको प्रवक्ता बुढाथोकीले जनाएका छन् । 

सरकारसँग हाल साढे सात लाख कोरोना भाइरसविरुद्धको खोप मौज्दात रहेको छ । प्रयोग बिनै म्याद सकिएपछि चीन सरकारले निःशुल्क दिएको सिनोभ्याक खोपको ४० लाख मात्रा नष्ट गर्नुपरेको थियो । 

बुढाथोकीले नेपालमा जेएन वान संक्रमण पुष्टि भएसँगै खोप अभाव हुन नदिन थप २५ लाख ल्याउने तयारीमा रहेको जानकारी दिएका छन् । ‘प्रायजसोः सबैले खोप लगाइसकेको अवस्था छ । हाल साढे सात लाख खोप मौज्दात पनि छ । तर, खोप अभाव हुन नदिन थप २५ लाख ल्याउने तयारीमा छौं,’ उनले भने ।
 
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले अन्य भेरियन्टजस्तै जेएन वान पनि खोक्दा, हाच्छ्युँ गर्दा निस्केका छिटाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने जानकारी दिएका छन् ।
 
उनी जेएन वानले दीर्घरोगी, रोगसँग लड्ने क्षमता कम भएका व्यक्ति, वृद्धावृद्धलाई बढी समस्या गराउने बताउँछन् । ‘यो भेरियन्ट कम घातक छ । तर, मानिसमा भने चाँडै फैलिन्छ,’ उनले भने । छिटो फैलिने भएकोले सतर्कता अपनाउन मरासिनीले आग्रह समेत गरेका छन् । 

भीडभाडमा नजान, बाहिर निस्कँदा मास्क अनिवार्य रुपमा प्रयोग गर्न, नियमित रुपमा साबुन पानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न तथा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न समेत उनको अनुरोध छ ।

टिप्पणीहरू