‘धोती न टोपी’ जब थाहा पाइन्न

‘धोती न टोपी’ जब थाहा पाइन्न
सुन्नुहोस्

नेपालमा बस्ने, विदेशमा बस्ने नेपाली, प्रवासी नेपाली। गैरआवासीय नेपाली मिलेर पुस १ गते ‘राष्ट्रिय झण्डा दिवस मनाउने निर्णय गरे । पुसको सङ्क्रान्ति नेपाली राजनीतिमा। इतिहासमा एउटा कालो दिन भनेर सम्झिइन्छ जुन दिन जननिर्वाचित प्रधानमन्त्री र उनको मन्त्रिमण्डलका सदस्य र राजनीतिक दलका नेतालाई ईश्वरीय वरदानप्राप्त भनिएका व्यक्ति वा आफैँ विष्णु भनिने राजावतारले सैनिक लगाई गिरफ्तार गरेका थिए ।  ग्रेगोरिन क्यालेण्डर भनिने अङ्ग्रेजी नयाँ वर्षको पात्रो फेरिने दिन जनवरी १ लाई भने ‘राष्ट्रिय टोपी दिवस’ (अझ पोसाक दिवस पनि भन्न थालिएको छ) मनाउन थालियो । एक दशक अवधिमा विश्वभर पुगेको नेपाली समुदाय र स्वदेशकै राष्ट्रवादी नेपाली समूह (जो सङ्गठित, असङ्गठित छन्) ले झण्डा र टोपीलाई दिएको यस महत्त्वलाई सडकमा हिँडेको, रमाइलो गरेको र सामाजिक सञ्जालमा तस्बिर पोस्ट्याउन ( राख्न) लालसा राखेको मात्र भनेर हेरिनुहुन्न, यसको बेग्लै गरिमा छ भनेर बुझ्नु आवश्यक छ । यस अभियानले राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान संस्था नै पो जन्माइदिएको छ ।  

बहुसङ्ख्यक नेपालीले मानेको कालो दिन वा दिवसमा राष्ट्रिय झण्डा बोकेर सो दिनलाई प्रतिस्थापन गर्न ल्याइएको यो अभियान सिर्जनात्मक छ । यसले हाम्रो राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनताको प्रवद्र्धन गरेको छ । विश्वभरकै अनुपम यस झण्डामा रहेका जून र घामले चन्द्रवंशी र सूर्यवंशी राजा वा  राजतन्त्रको प्रतिनिधित्व गर्दैन, अपितु शीतलता र प्रतापतालाई प्रतिनिधित्व गर्छ, करुणा र सौर्यलाई बुझाउँछ । रातो र नीलो रङ क्रान्ति । परिवर्तन, शान्ति । विशालताका द्योतक हुन् । तिनको अनुपातको पनि बेग्लै वैदिक महत्त्व छ । त्रिकोणले हाम्रो हिमाललाई बुझाउँछ ।

हिमालपट्टि ढल्काएर अर्थात् सिइएको भागलाई दाहिने पारेर लगाइने हाम्रो आफ्नै बानी छ जसले त्यो उचाइको सम्मान गर्छ । ‘नेपालको संविधान २०१९’ आउनुपूर्व अनुपात नमिल्ने,  सूर्य कसैले माथि र चन्द्र तल, कसैले त्यसको उल्टो राख्ने, चन्द्रसूर्यलाई मानवीकरण गर्न आँखा, नाक, मुख राख्ने, जुन रङ  भेटिन्छ त्यही राख्ने चलन थियो जसलाई इञ्जिनियर तथा आर्किटेक्ट शङ्करनाथ रिमालले एक मानकीकरण दिए । रिमाल नेपालको राष्ट्रिय झण्डाका  ‘रिडिजाइनर’ (पुनःसंरचनाकार) हुन् । समालोचक प्रा. दयाराम श्रेष्ठ सम्भवले यही झण्डामाथि पुस्तक लेखेर विसं २०५३ मा मदन पुरस्कार नै जिते । कालो दिनलाई झण्डाले विस्थापन गरी एउटा गौरवमय प्रतीकबारे चिन्तन–मनन–मन्थन गर्न परिणत गराउने ती युवा तथा  अन्य राष्ट्रवादी समूह धन्यवादका पात्र हुन् । आगामी दिनमा संयुक्त राष्ट्र सङ्घमा रहेको र ‘नेपालको संविधान’ मा समेत उल्लिखित विश्वको छुट्टै यस ध्वजाबारे अझ छलफल गर्न र यसका विभिन्न चित्र, कोण र रङबारे बुझ्न र बुझाउन जरुरी छ । 

जनवरी १ को हामी नेपालीसँग प्राविधिक रूपले कुनै साइनो छैन । कुनै कुनै सरकारी दस्तावेजमा सन्को प्रयोग गरिए पनि ती विश्व सन्दर्भसँग जोड्नका लागि मात्र हुन् । तथापि यसको अन्तर्राष्ट्रिय महŒवलाई हामी नकार्न सक्दैनौं र हाम्रा राजकीय पदाधिकारीहरूले पनि यस दिनमा शुभकामना सन्देश दिने गर्छन् । विश्वका विभिन्न भागमा मनाइने यस दिनमा हामी भने मौन बस्न सुहाउँदिलो होइन । संसारसँग एकाकार हुनका लागि यस दिनलाई स्वागत गर्न अधिकांश नेपालीले लगाउने ढाका वा भादगाउँले टोपी दिवसका रूपमा मनाउन थालिएको हो । ढाका र भादगाउँले टोपी पुरुषले मात्र लगाउने चलन छ तर महिलाले पनि यसको महत्वलाई बुझेर पुरुषलाई साथ दिँदैआएका छन् र सुहाएकै पनि छ । वास्तवमा ढाकाटोपी महिला–पुरुष, बाल–युवा–वृद्ध सबैलाई सुहाउँछ नै । अब नारीका लागि भने यस दिन गुन्युचोली छानियो, बडा राम्रो भयो ।  नारीपुरुष दुवैका पोसाक छनोट भई राष्ट्रिय पोसाक दिवस घोषणा गरियो, अघोषित रूपमा ।

तर विडम्बना, हाम्रो राष्ट्रिय खेलकुद डण्डीबियो र कपर्दी हटेर ‘भलिबल’ (बरु बाघचाल नै ठीक हुन्थ्यो होला) बनाइयो, दौरासुरुवाल–टोपी–पटुका– गुन्युचोली हटेर नेपालका सबै जातिले लगाउने लुगा नै राष्ट्रिय पोसाक भयो, राष्ट्रिय भाषा नेपालीका सट्टा ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्’ भनी मानियो । पुस १६ अर्थात् जनवरी १ मा सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले अप्रत्यासित रूपमा ‘धोती दिवस’ मनाइदियो । सरकारका प्रहरी पनि आश्चर्यचकित भए । तिनका लागि धोती मर्यादित पोसाक भएन । तिनले हाम्रा बर्मन बुढा धोती हैन, कछाड लगाएर संसद् प्रवेश गरेको बिर्से, भारतमा गर्मी प्रदेशमा धोती नै लगाइन्छ, हाम्रा ब्राह्मण–पण्डित–पुजारी आदि धोती लगाएर पूजाकर्म गर्छन् र भान्छा गर्छन् । अझ तिनले धोती लगाउने देशका मोहनदास करमचन्द गान्धीलाई बिर्से जसले धोती लगाएरै सुटप्यान्ट्सवाला अङ्ग्रेजलाई हिन्दूस्तानबाट धपाइदिए । तिनले झन् के पत्याउलान्, गान्धीले आफू रानी एलिजाबेथको जन्मदिनमा लँगौटी लगाएर भोजगृहमा पसाउन  बाध्य पारेको कथा । अनि हाम्रा राउत र तिनको दलका सदस्यले धोती लगाएर के बिराए जो मातृभूमि टुक््रयाउन नै दल खोली गतिविधि गरिरहेकामा आफ्नो मान्यता छाडी संसदीय निर्वाचनमा संलग्न भएका छन् ।  सुरक्षाकर्मीलाई जो सडकमा उत्र्यो, डण्डा हान्न र गोली बर्साउन बानी परिसकेको कुरा त बालकुमारी घटनाले नै देखाइदियो । 

विदेशी चलनलाई नयाँ नेपाली मौलिक पहिचानले विस्थापन ग¥यो, राम्रै भयो । नेपालीहरू विसङ्गतलाई सङ्गत तुल्याउन सिपालु छन् । नेपालीहरूले धर्मका प्रवत्र्तक एवं  दूत तथा अन्य अवतारहरू शिव, काली, लक्ष्मी,  राम, कृष्ण, बुद्धदेखि मोहम्मद, जिससदेखि लिएर पृथ्वीनारायण शाहसम्मप्रति सम्मान गर्न पनि जानेका  छन् र तिनप्रति भक्तिभाव–आराधना गर्न सार्वजनिक बिदा नै दिने चलन छ । हुँदा हुँदा ‘जनयुद्ध दिवस’ भनी फागुन १ मा पनि बिदा दिन थालियो तर सर्वाेच्च अदालतले त्यसलाई उल्टाइदियो । तैपनि बहस भने जारी छ ।

नेपालीहरूको भावनामा बग्ने चलन छ । वैशाख नववर्षदेखि रामनवमीसम्म प्रायः हरेक महिना एक न एक दिन दिवस वा बिदाका नाममा रमाइलो गर्ने, घुम्ने, मोजमज्जा गर्ने बानी परिसकेको छ ।  ती कुनै विशेष दिनलाई बिदाको हकका रूपमा लिएर माग गरिरहन्छन् । विशेष व्यक्तित्वको निधन वा प्राकृतिक–दैवी विपत्ति वा भौतिक घटनामा ठूलो सङ्ख्यामा मृत्यु हुँदा तथा सांस्कृतिक चाडपर्वमा सार्वजनिक सेवामा रहने कर्मचारी बिदाको आशा गरेर बसेकै हुन्छन् ।

सरकारले पनि तिनलाई त्यस्ता विशेष दिनहरूमा गुलियो चटाउने गरेकै छ । बिदा मनाउँदा मनाउँदै  आफू ‘धोती न टोपी’ भएको नेपालीले थाहै पाएका छैनन् । रुसका तत्कालीन राष्ट्रपति बे्रजनेभको निधनमा नेपालस्थित रुसी राजदूतावासले आफूअन्तर्गतको भाषा कक्षाका विद्यार्थीलाई एक दिन पनि बिदा नदिएको सम्झना हुन्छ । एक चिनियाँ शिक्षिकाले क्रिसमसका दिन हिन्दू धर्मावलम्बीलाई बिदा दिएको थाहा पाएर घोर आश्चर्य प्रकट गरिन् । स्वदेशमा काम नपाएर बिदेसिन खोज्दा पनि गोली पाइने देश भनी मुलुकलाई नयाँ संज्ञा दिइएको अवस्था छ ।  पाइरहेको रमाइलो गर्ने दिनका रूपमा लिइने बिदा कटौती गर्न माग गर्नु भनेको आफू कसैको कोपभाजन वा अल्पमतमा पर्नु हो । बरु बिदा दिइएको साता भने कार्यावधि बढाउन सके बेस पो होला कि !

 

टिप्पणीहरू