कोरोनाको नयाँ भेरियन्ट नेपालमा पुष्टि नभएको प्रष्टोक्ति

कोरोनाको नयाँ भेरियन्ट नेपालमा पुष्टि नभएको प्रष्टोक्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको नयाँ–भेरियन्ट 'जेएन वान' नेपालमा हालसम्म पुष्टि नभएको प्रष्ट पारेको छ । 

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै पछिल्लो समय छिमेकी मुलुकहरुमा देखिएको ओमिक्रोनको नयाँ भेरियन्ट नेपालमा हालसम्म पुष्टि नभएको जानकारी दिएका हुन् । 

‘हाल विश्वका केही देशहरुमा कोभिड–१९ संक्रमणको नयाँ भेरियन्ट जेएन वानको जोखिम बढिरहेको र छिमेकी देशहरुमा पनि संक्रमण फैलिरहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक निगरानी एंव सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय छिमेकी मुलुकहरुमा पुष्टि भएको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन वान जीन अनुक्रमण प्रविधिबाट हालसम्म नेपालमा पुष्टि भएको छैन ।’

मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्क, स्वास्थ्य संस्था वा सम्पूर्ण सरोकारवालामार्फत आवश्यक स्क्रीनिंग र निगरानी भइरहेको जनाएको छ । त्यस्तै, यसको व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जानकारी दिदैं मन्त्रालयले भीडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न अनुरोध गरेको छ । 

‘भीडभाड हुने स्थान मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डहरु जस्तै मास्कको प्रयोग गर्नुहुन, भौतिक दुरी कायम राख्नहुन र हातको सरसफाईमा विशेषतः ध्यान दिनुहुन मन्त्रालय सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
 

टिप्पणीहरू