दैलोको सरकार, दूरदराजको अनुभुति

दैलोको सरकार, दूरदराजको अनुभुति

राज्यको पुर्नसंरचनापछि नागरिकहरुलाई घर दैलोमा नै सेवा दिने सोच भए पनि विगतका गाविसलाई वडाको रुपमा विकास गरी केन्द्र कायम गर्दा नागरिकहरुले सुविधा भन्दा असुविधा भोगिरहेका छन् । गाविसका ९ वटा वडाबाट प्राप्त सेवालाई खुम्च्याउँदै गाविसलाई वडा बनाउँदै एउटा मात्रै केन्द्र बनाए पछि नागरिकहरुले सुविधा भन्दा असुविधा भोग्न बाध्य भएका हुन् । जिल्लाका १३ पालिकाका १३५ वटा वडाका नागरिकमध्ये केही वडाका बाहेक अधिकांश वडाका नागरिकले सेवा प्रवाहका लागि वडाका केन्द्रसम्म पुग्न अपायक भएको बताएका छन् ।

विशेषगरी गाउँपालिकाका वडाका नागरिकले राज्य पुर्नसंरचनाले सुविधा भन्दा असुविधा भोगेको महशुस गरेका छन् । केही स्थानीय तहले वडालाई फुटाएर थप गर्न खोजे पनि सम्भव छैन । पनौती १, रयालेलाई दुईवटा वडा बनाउन नगर कार्यपालिका, नगर परिषद् हुँदै प्रदेशबाट संघ सरकारमा पुगे पनि निर्वाचन आयोगको सहमति नहुँदा हुन सकेन । तत्कालीन नगर प्रमुख भीम न्यौपानेले नागरिकहरुको असुविधालाई मध्यनजर गर्दै वडालाई दुईवटा बनाउने नगर परिषद्को निर्णय संघ सरकारले कार्यान्वयन नगरेको बताए ।

पनौती नगरपालिका १ का स्थानीय रामचन्द्र सापकोटाका अनसुसार पनौतीमा धेरै मतदाता रहेको वडा त्यहि हो । जसलाई दुईवटा वडा नबनाई हुँदैन । बजार केन्द्र दुईवटा छ । मतदान केन्द्र पनि दुईवटा छ । साविक र्याले गाविसको १,२,७,८,९ एउटा वडा र तल्लो भेगमा रहेको साविक गाविसकै ३,४,५,६ वडालाई अर्काे वडा बनाउने गरी गरिएको प्रस्ताव कार्यान्वयन नहुँदा नागरिकहरुले सास्ती व्यहोर्नुपरेको छ । पनौती र्यालेको जस्तो १३ वटै पालिकाका विभिन्न वडाका नागरिकहरुले सकस व्यहोरिरहेका छन् । संघीयताले नागरिकहरुको घर दैलोमा सरकार भनिए पनि दूरदराज पुग्नु परेको महशुस भएको स्थानीयले बताए ।

भाडाका घरमा गाउँका सिंहदरबार

नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहको संघीय शासन प्रणालीको व्यवस्था गरेको छ । सोहीबमोजिम संघीय शासन प्रणालीअन्तर्गत स्थानीय तहको पहिलो निर्वाचन २०७४ सालमा तीन चरणमा सम्पन्न भएको थियो । काभ्रेमा पहिलो चरणमा अघिल्लो वर्षको वैशाख ३१ गते स्थानीय तहको निर्वाचन भएको थियो । सिंहदरबारमा केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनमा पुर्याउनका लागि यो निर्वाचनलाई एउटा अवसरका रुपमा व्याख्या गरिएको थियो । सोहीअनुसार स्थानीय सेवा व्यवस्थापन, न्याय सम्पादनको भूमिका, राजस्व संकलन स्थानीय स्तरका विकास आयोजना तथा परियोजना, आधारभूत तथा माध्यामिक शिक्षाको अधिकार स्थानीय सरकारलाई दिइएको छ ।

गाउँगाउँमा सिंहदरबार बनाउने नारासहित निर्वाचन भएको साढे ६ वर्ष बितिसक्दा पनि काभ्रेका झण्डै आधा स्थानीय तह भने भाडाकै घरबाट सेवा प्रवाह गरिरहेका छन । यसबीचमा जनप्रतिनिधिहरुले पाँच वर्षे कार्यकाल पूरा गरेर दोस्रो निर्वाचन सम्पन्न भएको १८ महिना पूरा भइसकेको छ । हालसम्म जिल्लाका १३ वटा पालिकामध्ये छ वटाले अस्थायी प्रशासनिक भवनबाट सेवा दिइरहेका छन । त्यसमध्ये २ वटा पालिका भाडाको घरबाट सञ्चालन भइरहेका छन् ।

काभ्रेको विकट क्षेत्रमा पर्ने खानीखोला गाउँपालिका र बेथानचोक गाउँपालिकाले भाडाको घरबाट नागरिकलाई सेवा दिइरहेका छन । यस्तै जिल्लाको विकट क्षेत्रमा पर्ने महाभारत गाउँपालिका, चौरीदेउराली र रोशी गाउँपालिकाले अस्थायी रुपमा खडा गरिएका कार्यालयबाट सेवा दिइरहेका छन भने भुम्लु गाउँपालिकाले वडा कार्यालयको भवनबाट सेवा दिइरहेको छ ।

बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर, नमोवुद्ध नगरपालिका र तेमाल गाउँपालिकाले मात्रै आफ्नै स्थायी प्रशासनिक भवनबाट सेवा प्रवाह गरिरहेका छन् । १३ स्थानीय तहका १३५ वडा मध्ये ११ वटा वडा कार्यालय अझैसम्म पनि भाडाका घरबाट सञ्चालनमा छन । राज्य पुर्नसंरचनापछि ८२ वटा नयाँ वडा कार्यालयमध्ये केही सम्पन्न भएका छन् भने केही निर्माणाधिन छन् । ४२ वटा वडा कार्यालय भने साबिकका भवनलाई व्यवस्थापन गरेर सेवा दिँदै आइरहेका छन ।

खानीखोला गाउँपालिका :

काभ्रेको विकट क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको आफ्नै प्रशासनिक भवन छैन । खानीखोला पुग्न जति सकस छ भवन अभावले सेवा प्रवाह पनि त्यति नै कठिन बनेको छ । गाउँपालिकाले वर्षमा १० लाखभन्दा बढी भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बाले जानकारी दिए । उनका अनुसार सामुदायिक भवनबाट केहि सेवा प्रवाह गरिरहे पनि सबै शाखाहरु भाडाकै घरबाट सञ्चालन भइरहेको छ । वडा नम्बर १, २, ६ र ७ को कार्यालय पनि भाडा तिरेर सञ्चालन भइरहेको छ । वडा नम्बर ३,४,र ५ मा भने नयाँ भवन निर्माण भइसकेको छ ।

महाभारत गाउँपालिका :

खानीखोला गाउँपालिकाको छिमेकी पालिका महाभारतले भने पालिकाको अस्थायी भवन मार्फत सेवा दिइरहेको छ । पालिकाको स्थायी भवन निर्माणको क्रममा रहेको गाउँपालिकाका सूचना अधिकारी दिनेश बस्नेतले जानकारी दिए । पालिकाका ८ वटै वडाको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेको छ ।

बेथानचोक गाउँपालिका :

बेथानचोक गाउँपालिकाले आफ्नो पालिकाभित्रका सबै वडा कार्यालय भवन सुविधा सम्पन्न बनाइसक्दा पनि पालिकाको स्थायी प्रशासनिक भवनको भने अझै टुंगो लागेको छैन । गाउँपालिका कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेको बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिइन । पालिकाको स्थायी प्रशासनिक भवन निर्माणका लागि प्रकृयामै रहेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए । जग्गा खोज्ने विषयमा कुरा नमिल्दा भवन निर्माण कार्य सुरु हुन नसकेको उपाध्यक्ष तिमल्सिनाले बताइन् । पालिकाको आफ्नै भवन नहुँदा वार्षिक ५ लाखभन्दा बढी घर भाडामा खर्च हुँदै आइरहेको छ ।

चौरीदेउराली गाउँपालिका :

चौरीदेउराली गाउँपालिकाले पनि प्रशासनिक भवन निर्माण गरेको छैन । यसअघि निर्माण भएको भवनलाई व्यवस्थापन गरेर अस्थायी रुपमा कार्यालय सञ्चालन गरिएको छ । प्रशासनिक भवन सञ्चालनका लागि भाडा भने तिर्नु परेको छैन । नयाँ भवन निर्माण गर्ने योजनामा पलिका रहेको उपाध्यक्ष शेरबहादुर लामाले बताए । पालिका अन्तर्गत वडा नम्बर १ को वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । वडा नम्बर २ को वडा कार्यालय निर्माणाधिन छ भने वडा नम्बर ३ ले पुरानो भवनलाई व्यवस्थापन गरेर वडा कार्यालय सञ्चालन गर्दै आएको छ । वडा नम्बर ४, ६ र ७ ले पनि भइरहेको भवनलाई व्यवस्थापन गरेर सेवा प्रवाह गरिरहेका छन । वडा नम्बर ५, ८ र ९ मा भने नयाँ भवन निर्माण गरिएको प्रवक्ता धन बहादुर तामाङले जानकारी दिएका छन ।

भुम्लु गाउँपालिका :

भुम्लु गाउँपालिकाले पनि अझै आफ्नो प्रशासनिक भवन निर्माण गर्न सकेको छैन । वडा नम्बर ५ को वडा कार्यालय भवनमार्फत गाउँपालिका सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले जानकारी दिए । जग्गा प्राप्तिको प्रकृयामा आफुहरु रहेको उनको भनाई छ । पालिका अन्तर्गत वडा नम्बर १, २, ३, ८, ९, १० ले आफ्नै भवन मार्फत सेवा दिइरहेका छन । वडा नम्बर ४ र ६ को कार्यालय यसअघिकै भवनमा व्यवस्थापन गरिएको छ भने वडा नम्बर ७ को वडा कार्यालय भवन निर्माणाधिन छ ।  

रोशी गाउँपालिका :

रोशी गाउँपालिकाको आफ्नै स्थायी प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । फागुन÷चैतदेखि नयाँ भवनबाट सेवा प्रवाह गर्नेगरी पालिकाले तयारी गरिरहेको उपाध्यक्ष मिमबहादुर वाइबाले बताए । पालिका अन्तर्गत वडा नम्बर १२ बाहेक सबै वडाले आफ्नै भवनबाट सेवा उपलब्ध गराइरहेका छन ।

तेमाल गाउँपालिका :

तेमाल गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । पालिका अन्तर्गतका वडा कार्यालयले पनि आफ्नै भवनबाट सेवा दिइरहेको प्रवक्ता इन्द्रलाल तामाङले जानकारी दिए ।

मण्डनदेउपुर नगरपालिका :

मण्डनदेउपुर नगरपालिकाले भर्खरै सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेको छ । भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको नगरपालिकाले झण्डै २४ करोडको लागतमा निर्मित नयाँ भवनबाट सेवा प्रवाह थालेको हो । पालिकाको प्रशासनिक भवन सुविधासम्पन्न बने पनि वडा कार्यालय भने केहि भाडामा र केहि पुरानै भवनलाई व्यवस्थापन गरि सेवा प्रवाह गर्न बाध्य छन् । वडा नम्बर ९ र १२ को वडा कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेको उप–प्रमुख विष्णुमणी नेपालले बताए । वडा नम्बर १, ४ र ६ बाहेक अन्य वडा कार्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छैन ।

पाँचखाल नगरपालिका :

पाँचखाल नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा दिइरहेको छ । पालिका अन्तर्गतका वडा कार्यालय भवन निर्माण भने अपेक्षा अनुसार हुन सकेको छैन । वडा नम्बर १, २, ५, ७, ८, १०, १२ को नयाँ वडा कार्यालय भवन निर्माण भएको उप–प्रमुख सूर्यमाया दनुवारले जानकारी दिइन । वडा नम्बर ६ को वडा कार्यालय नगरपालिकाको पुरानो कार्यालयबाट सञ्चालन भइरहेको छ भने वडा नम्बर ९, ११ र १३ ले वडामा रहेको भवनलाई व्यवस्थापन गरेर सेवा दिइरहेका छन । वडा नम्बर ३ र ४ को आफ्नै वडा कार्यालय भवन छैन । दुइवटै वडा कार्यालयले स्वाथ्य केन्द्रको पुरानो भवनबाट सेवा दिइरहेका छन् ।  

बनेपा, धुलिखेल र पनौती नगरपालिका :

शहरी क्षेत्रमा पर्ने धुलिखेल, बनेपा पनौती नगरपालिकाको भने आफ्नै प्रशासनिक भवन छन् । यद्यपी वडा कार्यालय भवन भने अझै व्यवस्थित भइसकेका छैनन् । बनेपा नगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १२ र १४ को मात्रै नयाँ भवन बनेको छ । बाँकी वडा कार्यालय यसअघि नै निर्माण भएका सामुदायिक भवनलगायत विभिन्न भवनलाई व्यवस्थित गरेर सञ्चालन भएका छन् ।

यस्तै, धुलिखेल नगरपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन भएपनि नगरपालिकाका ४ वटा वडा कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेका छन् । वडा नम्बर ३, ७, ८ र ९ ले भाडाको घरबाट सेवा दिइरहेका छन् । वडा नम्बर १ को मात्रै नयाँ वडा कार्यालय भवन निर्माण भएको छ भने बाँकी वडाले विभिन्न प्रयोजनका लागि यस अघि निर्माण भएका भवन मार्फत् सेवा प्रवाह गरिरहेका छन् । यस्तै पनौती नगरपालिकाको पनि आफ्नै प्रशासनिक भवन छ । २०७४ पछि वडा नम्बर ३ र ४ को सुविधा सम्पन्न भवन निर्माण भएको छ भने वडा नम्बर ५ र ८ को वडा कार्यालय भवन निर्माणाधीन छ । बाँकी वडा कार्यालयहरुले भने साबिक कार्यालयलाई व्यवस्थित गर्दै सेवा दिइरहेका छन् ।

नमोवुद्ध नगरपालिकाः नमोवुद्ध नगरपालिकाले भने सरकारी भवन निर्माणमा उल्लेख्य प्रगती गरेको छ । नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ भने वडा नम्बर १ को वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको उप–प्रमुख रत्न बहादुर लामाले बताए । बाँकी वडा कार्यालयहरुले नयाँ भवनबाट सेवा प्रवाह गरिरहेका छन ।

-मोतीराम तिमल्सिना

टिप्पणीहरू