यस्तो छ, सिक्किममा उमा पक्राउ पर्नुको कारण

यस्तो छ, सिक्किममा उमा पक्राउ पर्नुको कारण

सिक्किममा पक्राउ परेकी नेपाली यूटुबर तथा भ्लगर उमा चाम्लिङ राईलाई थप केही दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । 

सामाजिक सद्भाव बिथोल्न खोजेको अभियोगमा हिजो समातिएकी उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । यो सँगै उमालाई हिरासतमै राखेर अनुसन्धान गरिने सिक्किम प्रहरीले जनाएको छ । 

यता, ‘साम्प्रदायिक हिंसा भड्काउन खोजेको’ आरोपमा उनलाई समातेर हिरासतमा राख्ने कदमप्रति मिश्रित टिप्पणी भइरहेका छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता उमाको पक्ष र विपक्षमा विभाजित भएका हुन् । 

कतिपयले सिक्किमको राजनीतिक कित्ताबन्दीको शिकार उमालाई बनाइएको आरोप लगाएका छन् । सिक्किममा आउँदो वर्ष विधानसभा निर्वाचन हुँदैछ । जहाँ वर्तमान मुख्यमन्त्रीसमेत रहेका सिक्किम क्रान्तिकारी मोर्चाका पीएस गोले तामाङ र पूर्वमुख्यमन्त्री तथा सिक्किम डेमोक्रेटिक फन्टका पवन चाम्लिङ आपसमा प्रतिस्पर्धा गर्दैछन् । 

यहीबीच खोटाङ घर भएकी उमा अस्ति गान्तोक पुगेकी हुन् । साकेला नाच्ने भन्दै त्यहाँ पुगेकी उनले चार दिनअघि उनले फेसबुकमा भिडियो सार्वजनिक गर्दै आफू कार्यक्रममा भाग लिन जान लागेको जानकारी दिएकी थिइन् । 

तर, सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चाकी सदस्य शीला राईले उमाविरुद्ध साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएर प्रहरीमा उजुर गरिन् । यहाँसम्म कि उमालाई पूर्वमुख्यमन्त्री पवन चाम्लिङको पक्षमा माहोल बनाउन प्रयोग गरिएको आरोपसमेत लगाइएको छ । 

सिक्किम क्रान्तिकारी मोर्चाले विज्ञाप्ति जारी गर्दै चाम्लिङको आडमा लेग्सेपमा पुस १४ गते साकेला मनाउन निमन्त्रणा दिएको र राजनीति प्रेरित भएर सर्वसाधारणलाई ध्रुवीकरण गर्न खोजेको आरोप लगाएको छ ।

टिप्पणीहरू