सेनामाथि विदेशमा भयंकर शोषण

सेनामाथि विदेशमा भयंकर शोषण
सुन्नुहोस्

समस्याः शान्ति सेनामा कार्यरत हामी सकलदर्जाको हो । एक वर्षअगाडि सिरिया गएका थियौँ मेकानाइज कम्पनी छैटौँ डफ्फामा । यसको गणपति रोशन थापा कर्साबहरुको मनोमानी तथा रासन दुरुपयोग र रक्सी ब्यापारबारे जनआस्था पत्रिकामार्फत चिफसापलाई जानकारी गराउँदैछ ।

स्केलमा आउने रासन हामीलाई राम्रोसँग खान दिइएन, यसबारे जानकारी माग्यौं, मिशन सकियो तर न कर्साबले जरुरी ठाने न त क्वार्टरमास्टरले । बरु, मेजर प्रवेश लिम्बूले तैँले नेपालमा यस्तो खान पाएको थिइस् र यहाँ माग्छस् भनी हप्काउँथे । रासनको स्केलबारे रिपोर्ट गर्नेहरूलाई मिशन नसकुञ्जेल पोष्टमै राखे । हाम्रो रासन विदेशी केटीहरूको कोठामा लुकाईलुकाई पठाएर तिनैलाई राति राति अधिकृत मेसमा बोलाई मोज गर्थे ।

हामीले रासन विदेशी केटीहरूको कोठामा लुकाएर पठाएको प्रमाणसहित फोटो खिचेर रिपोर्ट ग¥यौँ तर कुनै छानबिन भएन । मेजर लिम्बूले आफ्नै कोठामा केटी बोलाएर राखेको प्रमाण हुँदाहुँदै कर्साबले केही भनेनन् । हाम्रो रासन बजारमा बेच्ने गरिएको हामीसँगै ३७ पोष्टमा बस्ने सिनियर आर्मी यालोले पत्ता लगाएर कराउँदा उसैलाई प्रत्येक पटक घर जाँदा कोशेली दिएर चुप लगाइयो । प्रत्येक महिना नेपाली परम्पराअनुसार हरेक चाडबाडमा ह्याप्पी आवर हुन्थ्यो तर त्यसबेला हाकिमहरूले बजारबाट रक्सी ल्याई महँगोमा सिपाहीलाई बेचेर पैसा कमाए ।

शुरुका महिनामा रक्सी बेचेको आम्दानी सुवेदार मेजर सा’बले राख्नुहुन्थ्यो रे ! उहाँले नाफा भएको रकम युनिटको आम्दानीमा देखाएर सबैलाई जानकारी गराएपछि पोष्टमा पठाएर क्वार्टरमास्टर अधिकृतले रक्सी बेच्ने जिम्मा पाएका रहेछन् । १६÷१७ वर्ष जागिरको अवधिमा हल्दार मेजर र सुवेदार मेजरलाई पोष्टमा पठाएर अधिकृतले रक्सी बेच्ने जिम्मा पाएको पहिलो पटक देखियो । 

मेजर दानबहादुर, मेजर मदन सधैँ मेसमा र बिल्लादारहरूको कोठामा समेत आएर तास खेल्थे । मदन परेड नआएर आफूखुशी हिँड्दा पनि नियम लाग्दैनथ्यो । मेजर प्रवेश, क्याप्टेन शुभ, क्याप्टेन प्रदीप, क्याप्टेन किरण रातभरि रक्सी खाएर महिलाले सुन्नेगरी अश्लील शब्द बोल्थे । यिनै अधिकृतले पाँचखालदेखि विदेशसम्म हामीलाई अनुशासनसम्बन्धी पाठ पढाए अनि स–सानो गल्तीमा पनि कारबाही गरे ।

नीति नियम तल्लो तहका सिपाहीलाई मात्र हो र ? महिलाले काउन्सिलिङमा अधिकृत साबहरूले सधैँ राति रक्सी खाएर अश्लील शब्द प्रयोग गर्नुहुन्छ भनी रिपोर्ट गर्दासमेत कर्साबले महिलाले सुन्ने गरी किन केही भनेनन् ? कतै रासन बेचेर पैसा कमाएको कुरा उठ्छ भनेर त हैन ? अधिकृतहरूसँग यसरी किन डराएको ? अझ रमाइलो कुरा त यो छ कि एक वर्षभरि विदेशी केटीलाई राति राति कोठामा ल्याई मोज गर्ने लजिष्टिक अधिकृत मेजर प्रवेशलाई मिसनमा राम्रो काम गरेको भनेर कर्साबले पदक तथा विदेश तालिमका लागि सिफारिस लेखी पठाएका छन् रे ! यही विषयमा कर्साब र टुवाइसीको मनमुटावसमेत भएको रहेछ ।

नेपाली अब्जरभर गएका अधिकृत साबहरूलाई रासन दिएबापत उनीहरूले बेलाबखत बियर तथा च्यांग्रा पठाइदिने गरेका रहेछन् । त्यसको समेत बिल बनाएर बोर्डमा मिलाएपछि टुवाइसीले एकाउन्टेन्टलाई गाली गरेछन् । त्यसपछि त झन् मनमुटाव बढेर एउटै ब्याजी र सधैँ गणपति बंगलामा खाना खाने टुवाइसी बेलुका बेलुका जवान मेसबाट खाना लगेर एक्लै खान थाले र हप्ता दश दिन पनि कुर्न नसकेर बिदाको पैसासमेत नखाइकन पहिलो फ्लाइटमा स्वदेश फर्किए ।

यिनै रोशन थापा कर्साबले अहिले फेरि हाम्रो युद्ध कवचको गणपतिमा नाम निकालेका रहेछन् । यी कर्साबको मेजर हुँदासम्म गाँजा र ड्रग्स दैनिक आहार थियो । अरु कतिको यस्तो केसमा जागिर गएको छ, यिनको मात्र कसरी बचिरहेको छ, थाहा छैन । पूर्णचन्द्र चिफसाब भएको भए यस्ता हाकिमको जागिरै जान्थ्यो, अब हजुरको पालामा के हुन्छ हेरौँ ! 

–  शा.से. छैटौँ डफ्फाका पीडित जवान
 

टिप्पणीहरू