पुस १० गते प्रधानमन्त्रीको सम्बोधन, त्यसपछि मन्त्री फेरेर निरन्तरतामा क्रमभंग

पुस १० गते प्रधानमन्त्रीको सम्बोधन, त्यसपछि मन्त्री फेरेर निरन्तरतामा क्रमभंग

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको तयारीमा रहेको संकेत गर्नुभएको छ । आफू एकवर्षे कार्यकालको समीक्षामा रहेको जनाउँदै उहाँले मन्त्री फेरेर भए पनि जनतालाई परिणाम दिनेगरी काम गर्नुको विकल्प नभएको बताउनुभएको हो । 

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, 'मैले सिंहदरबारमा मन्त्रीहरुलाई बोलाएर उनीहरुका काम कसरी भएका छन्, अब ठिक ढंगले काम भएन, आफूले प्रतिवद्धता जनाएर सहमति गरेका काम पनि कतिपय मन्त्रालयले पुरा गरेका छैनन् । त्यस्ता मन्त्री फेरेर भए पनि कामलाई गति दिनेतिर मैले प्रतिवद्धता व्यक्त गरेको छु ।' 

प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय, संमृद्धि र राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा देशको प्रतिष्ठा बढाउने सन्दर्भमा सरकारले महत्वपूर्ण काम गरेको पनि उल्लेख गर्नुभयो । पुस १० गते राष्ट्रका नाममा सम्बोधन गरेर आफ्नो कार्यकालमा भएका कामबारे थप प्रष्ट पार्ने उहाँको भनाई छ । 

त्यसपछि नयाँ ढंगले अघि बढ्ने बताउनुभएका प्रधानमन्त्रीले भन्नुभयो, 'मैले निरन्तरतामा क्रमभंग गर्ने कुरा गर्दै आएको छु । १० गते मेरो एक वर्ष पूरा हुँदैछ, त्यसैदिन राष्ट्रका नाममा सम्बोधन गर्ने र ११ गतेबाट नयाँ प्रकारले जनताको काम अगाडि लैजाने मैले प्रतिवद्धता गरिसकेको छु ।'

टिप्पणीहरू