नयाँ धक्का दिएर क्रमभंग गर्ने प्रधानमन्त्रीको उद्घोष

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ धक्का दिएर आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्ष सुरुवात गर्ने बताउनुभएको छ ।

सुनसरीमा निर्माण गरिएको ४०० केभी विद्युत् सबस्टेशनको आज उद्घाटन गर्दै उहाँले आफ्नो कार्यकालको पहिलो वर्ष पूरा गर्न लागिरहेको सन्दर्भमा आफू नयाँ क्रमभंगको तयारीमा रहेको घोषणा गर्नुभएको हो । 

‘म दोस्रो  पटक प्रधानमन्त्री भएर कार्यकाल शुरु गरेको एक वर्ष पूरा हुँदैछ । एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर म क्रमभंग गर्दैछु’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । यसमा आफूलाई जनताको साथ र समर्थन रहने पनि उहाँको विश्वास छ । 

केही व्यक्तिले नेपालमा उज्यालो कहिँपनि छैन भनेर नकारात्मक भाष्य निर्माण गर्न खोजिरहेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टी व्यक्त गर्नुभयो । देशमा धेरै सम्भावना रहेकाले जनतामा आत्मविश्वास जगाउने कामको सुरुवात गरिने उहाँको भनाई छ । 

‘नेपालमा अँध्यारोमात्रै छ । उज्यालो कहिँपनि छैन । नेपाल बस्न लायक देश होइन भन्ने गलत प्रचारको भाष्य बनेको छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,’ ‘हाम्रो प्रकृति, हाम्रो भूगोल, हाम्रो सम्पदा, हाम्रो जनशक्ति । धेरै चिज गर्न सक्छ । यो विश्वास जनतामा जगाउनु छ । त्यो विश्वास हामीले एकताको बलमा । जनतामा आत्मविश्वास जगाउने कि निराशा ? हामीले आत्मविश्वास जगाउने काम सुरु गरेका छौ ।’
 

टिप्पणीहरू