स्वयंसेवक शिक्षक हटाएपछि महानगरपालिकाको आलोचना

स्वयंसेवक शिक्षक हटाएपछि महानगरपालिकाको आलोचना

वीरगञ्ज महानगरपालिकाले स्वयंसेवक शिक्षकहरुलाई सेवाबाट हटाएको छ । नगर शिक्षा समितिको बैठकले सामुदायिक विद्यालयमा कार्यरत स्वयंसेवक शिक्षकहरुलाई सेवाबाट बिदा गरेको हो । 

पुस १ गतेबाट लागू हुनेगरी स्वयंसेवक शिक्षकहरुलाई हटाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए । तलब दिन नसकेपछि यस्तो निर्णय गर्नुपरेको उनको भनाई छ । उनले गत महिनाको तलब दिन नसकेको बताए । 

‘नगर शिक्षा समितिको मिति २०८०–०९–०३ गते तथा यस कार्यालयको मिति २०८०–०९–०३ गतेको निर्णयानुसार वीरगञ्ज महानगरपालिकाको सामुदायिक विद्यालयहरुमा कार्यरत सबै स्वयंसेवक शिक्षकहरुलाई मिति २०८० पुस १ गतेबाट लागु हुनेगरी स–धन्यवाद बिदा गरिएको व्यहोरा अनुरोध छ’, नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । 

महानगरभित्रका विद्यालयमा आधारभूत र माध्यमिक तहमा एक सय बढी स्वयंसेवक शिक्षक आबद्ध रहेका छन् । ती शिक्षकलाई हटाएपछि हाल सामाजिक सञ्जालमा महानगरको चर्को आलोचना भइरहेको छ । 

एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘यो शिक्षा क्षेत्रको सबभन्दा ठूलो लापरवाही हो । यसले सामुदायिक स्कुलका बच्चाहरुमा बहुत नकारात्मक असर पार्छ । कुनै कुनै विषयको अहिलेसम्म मात्र दुई वटा च्याप्टर पढाइ भएको छ । अब यति छिटो कहाँबाट शिक्षकको व्यवस्था मिलाउँछ र ! यो बच्चाहरुको भविष्यसँग खेलबाड मात्र गर्दैछ, महानगरपालिका । जब क्षमता छैन् स्यालरी दिने भने किन हायर गर्नुभयो मेयरजी ?’

त्यस्तै, अर्कोले भनेका छन्,‘चैतसम्म राख्नुपर्ने हो । गलत निर्णय ।’

टिप्पणीहरू