एमसीए नेपालद्वारा भारतीय कम्पनीसँग सम्झौता, नवलपरासीपछि नुवाकोट र तनहुँमा सबस्टेशन

एमसीए नेपालद्वारा भारतीय कम्पनीसँग सम्झौता, नवलपरासीपछि नुवाकोट र तनहुँमा सबस्टेशन

एमसीसी परियोजनाअन्तर्गत एमसीए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा चार सय केभी सबस्टेशन निर्माणसम्बन्धी ठेक्का सम्झौता गरेको छ । एमसीए नेपालले लिंकसन इण्डिया प्रालिसँग सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । 

बर्दघाटमा आयोजित हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनलगायतको उपस्थिति थियो । सबस्टेशनको निर्माण सम्झौता अवधि ३९ महिना तोकिएको छ ।

सो अवसरमा बोल्दै अमेरिकी राजदूत थम्पसनले नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको बताउनुभयो । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले नयाँ सबस्टेशनले सीमापार ऊर्जा व्यापार उल्लेख्य रूपमा उकास्न सहयोग पुग्ने जानकारी दिनुभएको छ ।

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनको क्रममा रहेको जनाउँदै बाँकी दुईवटा सबस्टेशनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिने बताए । अब नुवाकोटको रातमाटे र तनहुँको दमौलीमा एक–एकवटा सबस्टेशन निर्माण गरिँदै छ ।

टिप्पणीहरू