यस्तो थियो श्रीमानहरुको रोलक्रम,ढिलो गर्दा तलकालाई चान्स

यस्तो थियो श्रीमानहरुको रोलक्रम,ढिलो गर्दा तलकालाई चान्स
सुन्नुहोस्

न्यायमा ढिलाई गर्नु, अन्याय गरेसरह हुने मूल मन्त्र बोकेको अदालतमा नै बेथिति बढ्दो छ । न्यायाधीशहरु नै ढिलो सिफारिसका कारण माथिल्लो अदालतमा बढुवा हुने मौकाबाट वञ्चित भएका छन् । 

पछिल्लो पटक सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका न्यायाधीशहरुभन्दा धेरै जना उच्च अदालतमा वरिष्ठ थिए । तर, ढिलो सिफारिसका कारण घर जान बाध्य भए ।

न्यायपरिषद्को गत वर्ष पुस ३ गतेको बुलेटिनमा प्रकाशित रोल क्रमअनुसार उच्च अदालतका न्यायाधीशहरुमध्ये वरिष्ठताको आधारमा १, ४,१६, २२ र २३ नम्बरका श्रीमानहरु सर्वोच्चमा सिफारिस भएका छन् । जसअनुसार सर्लाहीका विनोद शर्मा, कास्कीकी सारङ्गा सुवेदी, बाँकेका अब्दुल अजिज मुसलमान, पर्वतका महेश शर्मा पौडेल र स्याङ्जाका टेकप्रसाद ढुंगाना माथि पुगिसके । 

तर वरिष्ठताको आधारमा २ नम्बरमा रहेका डिल्लीराज आचार्यले साउन ११ गते ६३ वर्षको उमेरका आधारमा अवकाश पाए। त्यस्तै ६ नम्बरका वीरबहादुर डाँगी गत वैशाख २७ गते, ७ नम्बरका प्रेमराज कार्कीले अघिल्लो वर्ष माघ १६ गते, ८ नम्बरका गुणराज ढुंगेलले गत जेठ ७ गते अवकाश पाए ।

उच्च अदालतका न्यायाधीशहरुको सूचीमा १० नम्बरमा रहेका महेशप्रसाद पुडासैनीले गत असार २७ गते, ११ का केशवराज जोशीले यही पुस १२ गते, १२ का रमेशबहादुर थापाले गत असोज ९ गते र १३ नम्बरका भानुभक्त शर्मा न्यौपानेले गत मंसिर २१ गते अवकाश पाए ।

त्यस्तै १९ नम्बरमा रहेका राजेन्द्र सुवेदीले साउन १२ गते, २४ का बालेन्द्र रुपाखेतीले भदौ ४ गते, २५ नम्बरमा रहेका ईश्वरराज आचार्यले गत फागुन २७ गते, २६ का गोपाल भट्टराईले गत वैशाख ९ गते २७ नम्बरमा रहेका रामप्रसाद ओलीले साउन १६ गते र उनी पछिका २८ नम्बरमा रहेका रमेशकुमार पोखरेलले जेठ १५ गते अवकाश पाइसकेपछि न्याय परिषद्ले पछिल्ला न्यायाधीशलाई सर्वोच्चमा सिफारिस गरेको हो ।

बुलेटिनअनुसार ३६ नम्बरमा रहेका भोजराज अधिकारीले आगामी माघ ४ गते अवकाश पाउँदै, रमेशकुमार खत्रीले गत असार १२ गते, शालिग्राम कोइरालाले गत फागुन २० र विष्णुप्रसाद कोइरालाले साउन ६ गते अवकाश पाएपछि परिषद्ले माथिल्लो तहको अदालतमा न्यायाधीश सिफारिस गरेको देखिन आएको छ ।

टिप्पणीहरू