विशेष अदालतको फैसलाविरुद्ध अख्तियार आज पनि सर्वोच्चमा

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार आज पनि सर्वोच्चमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका मुद्दाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये दुई वटा मुद्दामा चित्त नबुझेपछि पुनरावेदन गरेको बताइएको छ ।  

सार्वजनिक सम्पत्ति हानीनोक्सानी तथा गलत लिखित तयारी गरी भ्रष्टाचार गरेको मुद्दामा पुनरावेदन गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा बाराको कलैयास्थित पन्नादेवी कन्या उच्च माध्यमिक विद्यालयकी तत्कालिन प्रधानाध्यापक सुनरपतिकुमारी यादवविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । 

विशेष अदालतको गत जेठ २ गतेको फैसलाले उनलाई सफाई दिएपछि अख्तियार सर्वोच्च पुगेको हो । त्यस्तै, गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा झापाको कोहबरा गाविसका तत्कालिन सचिव रामप्रसाद न्यौपानेसहित ११ जनाविरुद्ध मुद्दा दायर भएको थियो । 

विशेष अदालतले गत असार ३ गते प्रतिवादीमध्ये दुई जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएपनि अन्यलाई सफाइ दिएको थियो । उक्त फैसलाप्रति असन्तृष्टि जनाउँदै अख्तियारले सर्वोच्च गुहारेको हो ।

अख्तियार यसअघि पनि पटक पटक विशेष अदालतको फैसलाप्रति असहमत हुँदै सर्वोच्च गइसकेको छ ।

टिप्पणीहरू