काँग्रेसले रुकुममा बनायो पाँच टहरा

काँग्रेसले रुकुममा बनायो पाँच टहरा
सुन्नुहोस्

नेपाली काँग्रेसले रुकुम पश्चिममा भूकम्पपीडित परिवारको निम्ति पाँच वटा अस्थायी टहरा बनाएको छ । सानीभेरी गाउँपालिका वडा नम्बर ४, पुरानोगाउँमा निर्मित तीन वटा र खालचौरका दुई वटा अस्थायी टहरा पीडित परिवारलाई हस्तान्तरण गरिएको काँग्रेसले जनाएको छ । 

पार्टी केन्द्रीय सदस्य गुरु बरालको नेतृत्वमा रहेको प्राविधिक सहितको स्वयम् सेवक समूहले पहिलो चरणमा पाँच वटा अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरेको हो । भूकम्पका कारण घर भत्किएका र चर्किएर बस्न नमिल्ने अवस्था भएका, आर्थिक अवस्था कमजोर भएका, घाइते, घरमा काम गर्नसक्ने जनशक्ति नभएका पीडित परिवार छनौट गरेर अस्थायी आवास निर्माण गरिएको बताइएको छ । 

हिउँदमा चिसो बढिरहेको बेला त्रिपालमा रात गुजारीरहेका सर्वसाधारणको स्वास्थ्य अवस्थामा थप जोखिम हुन सक्ने बताउँदै केन्द्रीय सदस्य बरालले विभिन्न निकायलाई भूकम्प प्रभावित परिवारलाई सहयोगको निम्ति हातेमालो गर्न आह्वान गर्नुभयो । पहिलो चरणमा पाँच वटा अस्थायी आवास सम्पन्न गरेको र सानीभेरी गाउँपालिकाको वडा नम्वर १ र २ मा थप पाँच वटा निर्माणको निम्ति भोलिदेखि त्यसतर्फ परिचालन हुने बरालले जानकारी दिए ।

नेपाली काँग्रेस रुकुमपश्चिमका सभापति प्रेम प्रकाश ओलीले सानीभेरी गाउँपालिका वडा नम्बर ४ का बालदेवी मल्ल, गौनी बिक, झुपलाल बिक, टोपेन्द्र मल्ल र कर्णे कामीको अस्थायी आवास निर्माण गरिएको बताए । अस्थायी आवास निर्माणको निम्ति जिल्ला पार्टी कार्यालयको समन्वयमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको नेतृत्वमा रहेको टोलीले आठविसकोटमा आजदेखि अस्थायी आवास निर्माणको काम सुरु गरेको छ । वडा नम्बर ११ मा पाँच वटा र वडा नम्बर १४ मा पाँच वटा आवास निर्माण भइरहेको सभापति ओलीले जानकारी दिए ।

अस्थायी आवास निर्माणमा केन्द्रीय सदस्यहरु गुरु बराल, मानबहादुर नेपाली, अजयबाबु शिवाकोटी, जिल्ला सभापति ओली, स्थानीय तहमा रहेका पार्टी नेता तथा कार्यकर्ताहरु परिचालन भएको नेपाली काँग्रेस रुकुमपश्चिमका प्रवक्ता लालबहादुर ओलीले जानकारी दिए । उनका अनुसार आज सानीभेरी गाउँपालिका ४ मा निर्मित अस्थायी आवास हस्तान्तरणसँगै प्रभावित परिवारलाई ब्लाङ्केट र खाद्य सामाग्रीसमेत वितरण गरिएको छ ।

टिप्पणीहरू