सब स्टेशन विद्युत प्राधिकरणको, विरोध एमसीसीको

सब स्टेशन विद्युत प्राधिकरणको, विरोध एमसीसीको

काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ३, बोझिनीमा निर्माणाधीन सब स्टेशनस्थलमा आज पनि स्थानीयले अवरोध गरेका छन् । अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्तर्गत भनिएको तर एसियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत प्राधिकरणको सबस्टेशन निर्माणको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन् । 

अपर तामाकोशी जलविद्युत पीडित संघर्ष समितिका संयोजक रञ्जित तामाङ्गको नेतृत्वमा स्थानीय तुलाराम तामाङ्गलगायत करिब दुई दर्जनले ब्यानर र प्लेकार्ड बोकेर नाराबाजी गरेका छन् ।

 

प्रदर्शनकारीहरुले ‘एमसीसी मुर्दावाद, एमसीसी चाँहिदैन’, ‘गो ब्याक अमेरिका’, ‘नालायक गृहमन्त्री राजीनामा दे’, ‘गृहमन्त्री मुर्दावाद’, ‘नालायक कुलमान घिसिङ्ग मुर्दावाद’, ‘हाम्रो भूमि फिर्ता गर’, ‘प्रहरी दमन मुर्दावाद’, ‘माफियाहरु होसियार’, ‘महिला अधिकार हनन गर्न पाइँदैन’, ‘आदिबासीको जग्गा अतिक्रमण गर्न पाइँदैन’, ‘सबस्टेशन स्थानान्तरण गर’, ‘राज्य आतंक बन्द गर’, लगायत नारा लगाएका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीको सहयोगमा उक्त सबस्टेशन बनाउन लागिएको बताउँदै बोझिनीका स्थानीयले लामो समयदेखि आन्दोलन गरिरहेका छन् । तर, उक्त परियोजना आफ्नै भएको प्राधिकरणको दाबी छ ।

त्यहाँ तामाकोशी, सुनकोशीलगायतका सहायक नदीमा निर्माण भएका र हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४०० केभीको सब–स्टेसन निर्माण गर्न लागिएको छ । त्यसका लागि ७४ रोपनी जग्गा अधिग्रहण गरिएको हो । स्थानीयले एमसीसीको विरोध गरिरहँदा अमेरिकी उच्चस्तरीय टोली गएराति काठमाडौं आइपुगेको छ ।

 

एमसीसी कम्प्याक्ट अपरेसन विभागको ट्रान्सपोर्टेसन तथा भर्टिकल स्ट्रक्चर समूहका सिनियर डाइरेक्टर योहानेस अबेबे नेतृत्वको टोली कतार एअरवेजको उडान नम्बर क्युआर ६४४ मा दोहाबाट राति साढे १ बजे काठमाडौं आइपुगेको हो ।

टिप्पणीहरू