सेनामा जारी छ छुरा हान्ने सिलसिला

सेनामा जारी छ छुरा हान्ने सिलसिला

चेनअफ कमाण्डमा चल्ने फौजी संगठन कडा अनुशासनमा बाँधिएको हुन्छ भन्ने आमबुझाइ छ । तर, नेपाली सेनामा नेतृत्व हात पार्न उमेर र अन्य सर्टिफिकेट सच्याएका जर्नेलहरूबीच हुने गरेको गुटबन्दी र त्यसले निम्त्याएको किचलोले भने सिंगै संगठनप्रतिको विश्वास प्रतिदिन गिर्दो छ । उपरथी ताराध्वज पाण्डेको रथीमा बढुवाका लागि निकालिएको सूचना र चर्को विवादपछि राजीनामा दिने उनको निर्णय सैनिक संगठनभित्र मौलाइरहेको गुटबन्दीको पछिल्लो उदाहरण हो । 

ताराध्वजलाई प्रधानसेनापति बनाउने गरी तीन तारेमा उकाल्न खोजिएको थियो । तर, शैक्षिक प्रमाणपत्र केरमेट गरेको र दुई वटा नागरिकता लिएको प्रमाण छरपष्ट भएपछि बढुवा सिफारिस चर्को विवादमा प¥यो । यद्यपि प्रधानसेनापति प्रभुराम शर्मा उनीप्रति नरम रहेको भनिए पनि प्रधानमन्त्री र रक्षामन्त्रीले यसमा प्रत्यक्ष चासो राखेका थिए । जसकारण आफूमाथि कारवाहीको परिस्थिति बनिरहेको देखेका ताराध्वज अकस्मात् राजीनामा दिन बाध्य भएका हुन् । 

अघिल्लो बिहीबार अपराह्न साढे ५ बजेतिर जंगीअड्डामा उनको राजीनामा दर्ता भएकोमा राति साढे १० बजे प्रधानमन्त्री कार्यालय पुगेको थियो । यसबारे निर्णय लिन ९ दिनदेखि निरन्तर भूकम्प प्रभावित क्षेत्रमा रहेका रक्षामन्त्री पूर्णबहादुर खड्कालाई आइतबार बल्ल काठमाडौँ बोलाइयो । सबै परिस्थिति आफू प्रतिकूल रहेको बुझेका ताराध्वजले भोलिपल्ट शुक्रबार बिहानै महासेनानी (लेखापति) युवराज कार्कीलाई बोलाएर पेन्सनपट्टा मिलाइवरी घर जाने तरखर गरिसकेका थिए । यससँगै सेनाभित्र विवादको एउटा च्याप्टर त क्लोज भयो तर भावी प्रधानसेनापतिका लागि आ–आफ्ना लबिङ र चलखेल भने सकिएको छैन । 

त्यसो त सेनामा नेतृत्व हात पार्न जर्नेलहरूबीच गुटबन्दी हुने गरेको यो पहिलो पटक भने होइन । बढुवाको मुखमा डरलाग्दो खेल हुने सैनिक परम्परा नै बसिसकेको छ । विगतमा प्रज्वलसमशेर प्रधानसेनापति हुने कि छत्रविक्रम शाह भन्नेमा चर्को विवाद थियो । रूक्मांगद कटवाल पनि सहजै प्रधानसेनापति भएका होइनन् । त्यसअघि सुदीपबहादुर बस्नेतको पक्षमा एकथरी मज्जैले लागेका थिए । यसअघिका सेनापति पूर्णचन्द्र थापाले झन आफू निकटलाई नेतृत्वमा लैजान कतिसम्म गरेका थिए भन्ने एउटा उदाहरण नै काफी छ । उनले बिनोज बस्न्यात र हेमन्त कुँवरको जासुसी गर्न एक वर्ष अगाडिदेखि नै उनीहरूको घरअगाडि युवती परिचालन गरेको चर्चा अहिले पनि जंगी अड्डामा चल्ने गर्छ । 

त्यसबेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई फकाएर आफ्नो अवकाशपछि अनन्त कार्कीलाई प्रधानसेनापति बनाउने र भारतमा विपिन रावतजस्तै प्रधानमन्त्री कार्यालयमा छुट्टै कार्यालय बनाएर आफू पाँच तारे जर्नेल बन्ने पूर्णचन्द्रको योजना थियो । सेनालाई हातमा लिने रणनीतिमा रहेका ओलीसँग उनको कुरा मिलिसकेको थियो । किनभने राजस्व अनुसन्धान र राष्ट्रिय अनुसन्धान विभाग आफू मातहत ल्याइसकेका र क्रमशः न्यायालय, संवैधानिक निकाय, प्रहरी कब्जा गरेर सेनामा हावी हुने ओलीको योजना मिलेको थियो । त्यसको एउटा अंग बनेका थिए पूर्णचन्द्र ।  

अहिले पनि ताराध्वजको राजीनामासँगै भावी प्रधानसेनापतिका लागि जर्नेलहरूमा दौडादौड शुरु भइसकेको छ । अब रोलक्रमअनुसार अघि बढ्दा प्रभुरामको अवकाशपछि अशोक सिग्देल चिफ हुने स्थिति छ । उनले बलाध्यक्षको जिम्मेवारी पाउनेछन् । यसअन्तर्गत कल्याणकारी, प्रबन्ध, प्राड अर्थात् लिगल र इञ्जिनियरिङ विभाग पर्छन् । हालका सेकेण्डम्यान सीताराम खड्का पुस ९ गते घर गएपछि हाल युएनमा फोर्स कमाण्डर रहेका निर्मल थापा बलाध्यक्षमा पदस्थापन हुन्छन् । बलाधिकृतले अप्रेसन, जासुसी र तालिमलगायत काम हेर्छ । ०८१ भदौमा निर्मल सेकेण्डम्यान बनेपछि बाबुराम श्रेष्ठ तीन तारे जर्नेल हुने अवस्था छ । भर्खर बढुवा भएका सन्तोष ढकालको त्यसअघि नै कार्यकाल सकिने भएकाले उनी अनिवार्य अवकाशमा जानुपर्ने हुन्छ ।   

तर, सन्तोषलाई चिफ बनाउन सेनामा अर्को गुट सक्रिय देखिन्छ । सन्तोषबल्लव पौडेलसहितको टोली त्यसमा लागिसकेको छ । बिहारी सर्टिफिकेट काण्ड लगाएर कथं निर्मललाई चिप्ल्याई ढकाललाई चिफ बनाउन सके त्यसपछि आफ्नो पालो आउने भएकाले पौडेल कस्सिएर लागेको प्रधानसेनापतिको सैनिक सचिवालयका केही कर्णेललाई आशंका छ । यही समूहले अशोक र निर्मलको समेत नागरिकता र शैक्षिक प्रमाणपत्रमा कैफियत रहेको भनी सियो कोट्याइरहेको बताइन्छ । बीचैमा कुनै काण्ड लागेर अशोक लेफ्टिनेन्ट जनरलमा बढुवा भएनन् भने उनी यही माघमा घर जानुपर्ने हुन्छ । त्यसकारण त्यतिञ्जेल रंगबिरंगी विवाद निस्किरहने पक्का छ । 

यसअघि पनि निर्मल र अशोकलाई फाल्न प्रेम शाहीहरू लागेका थिए । उमेरसम्बन्धी विवादमा अदालत गुहारेर नेतृत्वसँग टक्कर गर्दा पछि आफैँ बाहिरिनुप¥यो । सेनाले समातेर उनीमाथि कोर्ट मार्शलसमेत भएको थियो । ९ महिनाअघि मेजर जनरल भएको र कागजात मिलाउन सकेको भए उनी चिफको लाइनमा जान्थे । पूर्णचन्द्रको योजनाअनुसार अघि सारिएका अनन्त कार्कीको पनि प्रधानसेनापति हुने सम्भावना थियो । 

अहिले अशोक सिग्देल चिफ हुनेगरी प्रक्रिया अघि बढ्दा अनुपजंग थापा, मधुकर कार्कीलाई टपेर सैनिक नेतृत्वमा पुग्ने देखिन्छ । तर, सन्तोष ढकाल प्रधानसेनापति हुने स्थितिमा भने सन्तोषबल्लभको पालो आउँछ ।
 

टिप्पणीहरू