भारतसँग ओली फेरि भरमार भाउन्न

कमरेडहरूका बीचमा बिपी, गणेशमान र कोशीका कुरा

भारतसँग ओली फेरि भरमार भाउन्न

‘बिपी पनि पहिले राष्ट्रवादी थिएनन्, ०१६ सालपछि उनले बल्ल राष्ट्रवाद बुझेका हुन्’, राष्ट्रिय शक्तिबारे लामो व्याख्या गर्दै पछिल्लो सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘त्यसकारण एमालेबाहेक नेपालमा अर्को राष्ट्रिय शक्ति छैन, हामीलाई एक्ल्याएर कमजोर बनाउन आन्तरिक र बाह्य शक्तिहरू लागिरहेका छन् ।’ 

बैठकमा आफूलाई राष्ट्रवादको नायकका रुपमा प्रस्तुत गर्दै ओलीले राष्ट्रिय शक्तिको ब्याख्या थालेका थिए । सदा झैँ लामो भाषण गरेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रममा पर्दा पछाडिका खेल र एमालेलाई कसरी एक्ल्याइयो भन्ने सन्दर्भ जोडेर राष्ट्रिय शक्तिको ब्याख्या गरे । एमाले मात्रै मुलुकको बलियो राष्ट्रिय शक्ति भएकाले आफूहरूलाई एक्ल्याउन देशी–विदेशी शक्तिहरू मिलेर लागेको उनको भनाइ थियो । 

त्यस क्रममा उनले नेपालमा सात साल अघिदेखि नै भारतीयहरू आउन थालेको र त्यही सिलसिलामा गंगालालहरू शहीद भएको प्रसंग झिकेर बिपी कोइरालाले पनि राष्ट्रवाद नबुझेको तर्क गरे । ‘बिपी कोइराला पहिले अखिल भारत राष्ट्रिय कांग्रेसमा थिए, उनी राष्ट्रवादी थिएनन्’, बैठकमा ओलीले भने, ‘गणेशमानहरू चाहिँ राष्ट्रवादी थिए, तर कांग्रेसकै अरू नेताले विरोध गरे ।’ 

दक्षिणतिर इंगित गर्दै एमाले एक मात्र राष्ट्रवादी शक्ति भएकाले यसलाई कमजोर बनाउन खोजिँदै छ भन्ने कुरालाई जोड दिन ओलीले बिपीदेखि गणेशमानसम्मको सन्दर्भलाई पृष्ठभूमिमा जोडेको प्रष्टै बुझिन्थ्यो । एमालेस्रोतका अनुसार आफू राष्ट्रवादी भएको देखाउने र त्यसैमा टेकेर केही गर्न सकिन्छ भन्ने ओलीको राष्ट्रिय शक्तिको व्याख्याको सार थियो । ‘सारमा मै हुँ राष्ट्रवादको नायक भन्न खोजेको बुझियो’, स्रोतले भन्यो, ‘राष्ट्रको कुरा मैले जति कसैले बुझेको छैन भन्ने दम्भ देखिन्थ्यो उनको भनाइमा ।’ 

बैठकमा ओलीले सत्ता गठबन्धन र भारतको मात्र विरोध गरेनन् समाजवादी मोर्चा अर्थहीन रहेको टिप्पणी पनि गरे । कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्छ भन्ने कुरालाई सिधासिधै इन्कार गरेका उनका धारणा समावेशी, समानुपातिक प्रणालीप्रति पनि सकारात्मक सुनिएन ।   

उपमहासचिव प्रदीप ज्ञवालीले बैठक सक्न हतार गरेकाले भाषण छोट्याउन परेपछि ओलीले ‘बाह्य फ्याक्टर’ बारे धेरै लामो व्याख्या गर्न पाएनन् । त्यसअघि नै उनले भारत आफूविरुद्ध रहेको कुरा खुलेरै राखिएका थिए । कोशीमा शेखर कोइरालाले धोका दिएको सन्दर्भलाई भारत आफ्नो साथमा नरहेको अर्थमा ओलीले संकेत गरे । ‘एमालेसँग बाह्य शक्तिहरू खासगरी दक्षिण काम गर्न चाहँदैन भन्ने देखिन्छ र एक्ल्याउने कोशिस भइराखेको छ’, ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो । 

ओली पहिलोचोटी प्रधानमन्त्री भएका बेला भारतले गरेको नाकाबन्दीविरुद्ध लिएको अडान र पछिल्लो कार्यकालमा चुच्चे नक्सा जारी गरेको विषयलाई एमालेले राष्ट्रवादको परिभाषामा राखेको छ । त्यसैको बलमा चुनावमा भोट बटुलेको एमालेको त्यो नारा बिक्न छोडिसकेको छ भने चुच्चे नक्सा जारी गर्न पनि ओली कसरी बाध्य भए भन्ने कुरा क्रमशः खुल्दै गएको छ । त्यसबेला वामदेव गौतम र नारायणकाजी श्रेष्ठहरूको जोडबलमा सरकारको नीति तथा कार्यक्रममा राख्न बाध्य नपारेको भए नक्सा जारी हुँदैनथ्यो भन्छन् एमालेकै नेताहरू । त्यसपछि भारतले नै उक्त सरकार ढाल्न प्रयास गरेको ठान्नेहरू पनि छन् । 

एक नेताले बताएअनुसार सचिवालय बैठकमा ओलीले राखेको धारणा पहिला प्रचण्ड र अहिले शेखरले धोका दिएपछिको आक्रोश हो । किनभने जुनसुकै मूल्यमा कांग्रेस–माओवादी गठबन्धन टुटाउने रणनीतिअन्तर्गत चालिएका थिए ती दुबै कदम । तर, ओली सफल भएनन् । एमालेकै आडमा सरकार ढाल्न कस्सिएर लागेको भनिएका शेखरले समेत बाटो मोडेपछि अध्यक्ष ओलीको हातबाट क्रमशः पहलकदमी गुम्दै गएको छ । वामपन्थी एकताको बाटो पनि ठीक होइन भन्ने, अर्को बाटो शेखरहरू नआउने स्थितिले जति राष्ट्रिय शक्ति भने पनि अब ओइलिने र खुइलिने बाहेक के बाँकी रह्यो र !  

ओली र शेखरको सम्भावित कदम बुझेरै राप्रपाका कतिपय नेताले दशैँ र तिहारकाबीचमा सरकार ढल्ने र नयाँ समीकरण बन्ने दावी गर्दै आएका थिए । कोशीको कोर्ष करेक्सनसँगै त्यो पनि अब तुहिएको छ । बरु, राप्रपा आफैँ सरकारमा जान खुट्टा उज्याएर बसेको चर्चा हुँदैछ । कोशीमा सभामुखसहित दुई मन्त्री लिएर अहिले सरकारमा जाने र क्रमशः संघमा पनि सत्तारुढ हुने तयारीअनुसार राप्रपाको एउटा खेमा गठबन्धनका नेताहरूसँग निरन्तर संवादमा रहेको भनिँदै छ । रमाइलो कुरा चाहिँ गणतन्त्रमा राजतन्त्रवादी दल सरकार जोगाउन निर्णायक भइरहँदा आफूलाई राष्ट्रिय शक्ति दावी गर्ने एमाले भने झन्झन् कुनामा पर्दै गएको देखिन्छ ।

टिप्पणीहरू