अरूले पनि औंला ठड्याए के होला अवस्था ?

अरूले पनि औंला ठड्याए के होला अवस्था ?

मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) लाई एमालेले मार्गनिर्देशक सिद्धान्त मानेको छ ।

‘प्रतिस्पर्धाद्वारा श्रेष्ठता’ मा विश्वास गर्ने जबजको मूल विशेषता हो । तर, जबजको व्याख्याता भनिएका एमाले महासचिव शंकर पोखरेल भने प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने होइन, दुई दलीय प्रणालीको वकालतकर्ता भएका छन् ।

गत वर्षको चुनावअघि शंकरले दुई दलीय व्यवस्थाको पक्षमा एक प्रकारको बहस नै चलाए । उनले कांग्रेस र एमालेले दुई फरक धारको प्रतिनिधित्व गर्ने भएकाले अन्य राजनीतिक दलको औचित्य नरहने र चुनावी परिणाम त्यस्तै आउने बताएका थिए । तर, चुनावको नतिजा शंकरको चाहनाअनुसार आएन । बरु, कांग्रेस–एमालेलाई चुनौती दिँदै केही नयाँ जबर्जस्त राजनीतिक रंगमञ्चमा उदाए । यद्यपि, चुनावपछि पनि दुई दलीय प्रणालीको पक्षमा शंकरहरूको बहस रोकिएको छैन। देशभित्र मात्र होइन, छिमेकी मुलुकमा पुगेरसमेत उनले नेपालमा धेरै दल र विचार आवश्यक नपर्ने भनाइ राखेको ढिलो गरी खुलासा भएको छ । 

सन्दर्भ हो, शंकरको नेतृत्वमा एमाले नेताहरूको एउटा टोलीले गरेको पछिल्लो चीन भ्रमण र त्यहाँ भएका कुराकानी । एमाले, माओवादी र समाजवादीबीच एकताका लागि सदाशयता राख्दै आएको उत्तरी छिमेकी चीनले तीनै दलका नेता बोलाएर छलफल गरिरहेको छ । सोही सिलसिलामा अघिल्लो महिना शंकर चीन पुगे । भ्रमणका क्रममा एमाले टोलीले विभिन्न राजनीतिक भेटघाट ग¥यो । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान्छाओसँगको भेटवार्तामा एमाले–माओवादी एकताको प्रसंग उठ्यो । तर, शंकरले माओवादीसँग पार्टी एकता असम्भव रहेको तर्क गर्दै आफूलाई दुई दलीय प्रणालीको पक्षमा उभ्याए  । 

चिनियाँ स्रोतका अनुसार नेपालको कम्युनिष्ट आन्दोलन र एमाले–माओवादी एकताबारे शुरुमै व्याख्या गरेका शंकरले दुई पार्टीबीच संस्थागत ढंगले गरेको एकता सफल नहुनुमा प्रचण्डलाई दोष दिएका थिए । प्रचण्डले धोका दिएकै कारण एकता नटिकेकाले अब नयाँ ढंगले अघि बढ्नुपर्ने तर्क राखे । उनले पार्टी–पार्टीबीच नभई कार्यकर्ता र कमिटीलाई एमालेमा ल्याएर एकता गर्दै जाने प्रयासमा आफूहरू रहेको बताए । तर, शंकरका सबै कुरा सुनेका चिनियाँ नेता भने त्यसमा सहमत भएनन् । अन्तिममा विदेश विभाग प्रमुख च्यान्छाओले भने, ‘तपाईंहरूले एकता गर्नुभयो भने नेपालमा कम्युनिष्ट शक्ति बलियो हुन्छ ।’ 

शंकरले संस्थागत रुपमा माओवादीसँग एकता सम्भव नदेख्नुमा थुप्रै राजनीतिक र प्राविधिक कारण होलान् । तर, मूलतः उनमा रहेको चिन्तन मुख्य कारण हो, जसले फरक दल र विचारको अस्तित्व स्वीकार गर्दैन । त्यसो त, राजनीतिक स्थिरता र व्यवस्थाको स्थायित्वका लागि दुई दलीय प्रणाली ठीकै मान्न पनि सकिएला ।

तर, नेपालमा जसरी नयाँ दलको उदय भइरहेको छ, उनीहरूले एमाले र कांग्रेस किन चाहियो भन्ने बहस चलाए के हुन्छ ? भन्ने प्रश्न पनि छ । राष्ट्रिय राजनीतिमा आक्रामक उपस्थिति जनाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसै पनि पुराना दलको औचित्य सकिएको तर्क गरिरहेको छ । यदि, चुनावबाट त्यो तर्क अनुमोदन भए अहिले दुई दलीय व्यवस्थाको पक्षमा वकालत गर्ने शंकरहरू कहाँ पुग्लान् ? राजनीतिमा असम्भव के हुन्छ र !

टिप्पणीहरू