चौधरीका बाबुछोरा यसर्थ बालुवाटार चिहाउँदै

चौधरीका बाबुछोरा यसर्थ बालुवाटार चिहाउँदै
सुन्नुहोस्

 डलर अर्बपति तथा कांग्रेस सांसद विनोद चौधरीको अर्को दौडधुप छ, भरतपुरस्थित होटलको लफडा सल्टाउनका लागि ।

विमानस्थल अवतरणलाई असर पर्नेगरी ‘हाट्टहुट्टे’ तरिकाले मापदण्डभन्दा बढी उचाइमा बनाइएको सिजी ल्याण्डमार्कलाई ‘सर्प मर्ने, लठ्ठी पनि नभाँचिने’ शैलीमा चौधरीले सुरक्षित गर्न खोजेको प्रधानमन्त्री निवासका कर्मचारीले बताए । सरकारले अगाडि सारेका योजनाअनुसार भरतपुर विमानस्थल अहिले भएको ठाउँमै राख्ने तर विमानस्थल विस्तार गर्दा रनवेसहित त्यसको क्षेत्रफल बढाइँदै छ । यदि त्यसो भयो भने विमानस्थलसँगै रहेको सैनिक व्यारेकको भाग विमानस्थलभित्र पर्छ ।

उक्त भाग र चौधरीको होटलबीच सघन दूरी छ । त्यसले विमानको उडान र अवतरणमा समेत सीधा असर गर्ने अवस्था रहन्छ । स्रोत भन्छ, ‘सेटिङअनुसार सिजी ग्रुपले प्रधानमन्त्री पुत्री रेणु दाहाल नेतृत्वको महानगरबाट सूचना प्रकाशन गराउने, एउटा सहमतिपत्रमा हस्ताक्षर गर्ने र ‘आफ्नो हात जगन्नाथ’ गर्ने रणनीतिमा खासखुस भएको बुझिन्छ ।’

चौधरीले तत्कालीन नगरपालिकाको कमजोरी देखाउँदै भवन निर्माणको स्वीकृति दिएको रटान लगाउँदै हिँडेका छन् । यता महानगरपालिकाले यसमा त्यतिबेला चौधरीकै कन्सल्टेन्सीको पनि कमजोरी रहेको आरोप लगाएको छ । नागरिक उड्डयन प्राधिकरणको पनि कमजोरी रहेको चौधरी र महानगरको भनाइ छ ।  चौधरीले सिजी ल्याण्डमार्क भत्काउनु नपर्ने, महानगर र नागरिक उड्डयन प्राधिकरणको पनि इज्जत जोगिने रोडम्याप बनाउँदै सोहीबमोजिम काम फत्ते गर्न बालुवाटारमा अनुनय–विनय गरिरहेका छन् । प्रधानमन्त्रीसँग भनिएको छ, ‘भवन बनिसक्यो, होटल सञ्चालनमा आइसक्यो, पछि विमानस्थललाई आवश्यक पर्‍यो  भने भत्काउने सशर्त कागजात गरिदिन्छु ।

अहिलेचाहिँ जसरी पनि नक्सा पास गरिदिनका लागि छोरीलाई अह्राइदिनुपर्‍यो ।’ अहिले होटल निरन्तरको अनुमति फुत्काउने सिंगल रोडम्याप लिएर उनीहरू गत वैशाखमै बालुवाटार पुगेका थिए । त्यहीँबाट मेयर रेणुलाई एकसरो फोन पनि हान्न लगाइएको थियो । पिताजीबाट ग्रीन सिग्नल आएपछि नै भरतपुर महानगरले सिजी ल्याण्डमार्कलाई निर्माण सम्पन्नको प्रमाणपत्र दिने लाइनमा काम अघि बढाएको बताइन्छ । ‘आवश्यक परेको बखत भत्काउने सर्तमा,’ निर्माण सम्पन्नको कागजात दिने तरखर भइरहेको बताउँदै एक जनाले भने, ‘तर चौधरीले आगामी दिनमा भरतपुर विमानस्थल नै त्यो ठाउँमा काम नलाग्ने निर्णय गराइदिन सक्छन् ।’

बहस पनि चलिरहेको छ कि, घना बस्तीकोबीचमा विमानस्थल राख्दा त्यसले भरतपुर शहर नै उच्च जोखिममा परेको भन्दै पश्चिम चितवन (भरतपुर– २७) मा रहेको मेघौली विमानस्थललाई विस्तार र आधुनिकीकरण गर्दै प्रचलनमा ल्याउनुपर्छ । २०१७ सालमा निर्मित उक्त विमानस्थल ०६७ मंसिरदेखि पूर्णतः बन्द रहँदै आएको छ । भरतपुर विमानस्थललाई मेघौली सारेपछि त्यहाँ शहरको सौन्दर्यकरणका निम्ति पार्क बनाउनुपर्ने कुरा पनि उठिरहेको छ ।

चितवन जिल्लामा भवन निर्माणको मापदण्ड काठमाडौँंकोभन्दा फरक छ । त्यहाँ ३३ मीटरको उचाइमा १० तलाको भवन बनाउन मिल्दैन जबकि काठमाडौंँमा त्यही उचाइमा १० तलाको भवन बनाउन सकिन्छ । चितवनमा १० तलाको भवन बनाउन कम्तीमा ३७ मीटर उचाइ चाहिन्छ । विमानस्थल वरपर तोकिएको मापदण्ड विपरीत सिजी ल्याण्डमार्क बनाएपछि परेको गाँठो फुकाउन उनले यसबीच राम्रै खर्च गरेको सहजै अनुमान लगाउन सकिन्छ । होटल भएको ठाउँ रवि लामिछानेको निर्वाचन क्षेत्रमा पर्छ । त्यसैले चौधरीले रविसँग पनि कुरा मिलाइसकेको एकथरीले दाबी गरेका छन् । रविले त्यहाँको अनियमितताबारे एक शब्द उच्चारण गरेका छैनन् ।

चौधरीको लगानीमा बन्न लागेको ललितपुर, सानेपा हाइटस्थित दी समिट होटल एण्ड रेसिडेन्सीमा पनि जग खनेकै अवस्थामा लफडा भएको छ । पहिले भुइँ तलाको अपार्टमेन्ट बनाउने भनिएको स्थानमा बहुतले भवन बनाउन खोजेपछि जग खन्दाखन्दै छिमेकीको घर ढलेको थियो । प्रारम्भमा समिट होटल ट्रेकिङमा जाने धनाढ्यहरू काठमाडौँ आउँदा केही दिन आराम गर्ने उद्देश्यले भुइँतला बनाइएको थियो । विदेशीसँग पैसा नभएर हैन कि त्यहाँको जमिनी धरातल कमजोर भएकैले अग्ला घर नबनाइएको हो । 

तर, अहिले चौधरी र रविभक्त श्रेष्ठको टोलीले बहुतले आलिशान भवन निर्माणको जिम्मा रमेश शर्माको शर्मा कन्स्ट्रक्सनलाई दिएको छ । शर्माको कम्पनीले प्रारम्भमै उक्त स्थानको माटो कमसल र पुरुवा भएको जानकारी गराउँदै अग्लो भवन नबनाउन सल्लाह दिएको थियो । नभन्दै गत वर्षायाम शुरु हुनुअगावै वरपरका घरहरू भत्किने ढंगले पहिरो गयो । स्थानीयको चर्को विरोध हुँदाहुँदै उनले धनको बलमा ललितपुर महानगरसँग कुरा मिलाएको अख्तियारस्रोत बताउँछ । 

यसअघि वैशाखतिर बालुवाटारबाट फोन गराउन सफल भएपछि चौधरी आफैँ भदौ मसान्ततिर भरतपुर महानगर पुगेको बुझिएको छ । उनले कांग्रेस र माओवादीको साथ–सहयोगमा सिजी ल्याण्डमार्क भवन निर्माण सम्पन्न प्रमाणपत्र फुत्काउने प्रयास गरेकोसमेत स्रोतको दाबी छ । पछिल्लो समय राष्ट्रिय राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली मात्रै चौधरीको विरोधीका रुपमा देखिनुभएको छ ।

टिप्पणीहरू