झण्डै गुमेन एउटा ऐतिहासिक अवसर

झण्डै गुमेन एउटा ऐतिहासिक अवसर
सुन्नुहोस्

यसपटक नेपालले अद्वितीय लाभ लिन सफल भएको छ संयुक्त राष्ट्रसंघका  महासचिव एन्टोनिओ गुटेरेसको भ्रमणबाट । नेपालका मुद्दाहरुमा यो तहका व्यक्तिबाट यत्तिको अन्तर्राष्ट्रिय प्रचार न कहिले भएको थियो, न अब तत्काल हुने अपेक्षा नै छ । 

खासमा रोकिएर फेरि भएकाले सफल बनाउने काममा सबै लाग्दा नै यो भ्रमण फलदायी भएको हो । यसले दिएको सन्देश नेपाल अब जस्तोसुकै विशिष्ट व्यक्तित्वको भ्रमण गराउन सक्छ र आफ्ना एजेण्डाहरु अन्तर्राष्ट्रियस्तरमा पनि बजारीकरण गराउन सक्छ भन्ने नै हो । त्यहीबेला इजरायल–प्यालेस्टाइन युद्धका कारण भ्रमण सरेपछि तयारी अरु बलियो र तीव्र पनि भयो । अरु देशका काम सकेर बीचमा नेपाललाई ट्रान्जिट बनाउने उच्चतहका यस्ता भ्रमणहरु उपलब्धीमूलक नभएकै कारण यसपटक महासचिवलाई साताको बिदासमेत यतै बसिदिन आग्रह गरिएको थियो । 

ढंग पु¥याएर काम गर्दा सकिन्छ भन्ने नतिजा पनि हो यो । निम्तो स्वीकारसँगै उच्च कूटनीतिज्ञले अमेरिकादेखि रातभर यात्रा गरेर नेपालका विभिन्न भूगोल पुग्नु चानचुने कुरै होइन । यसपटक राष्ट्रसंघका महासचिव नेपाल आएर अनि मात्रै युरोपतिर गएका छन् ।  सगरमाथामुन्तिर पुगेर जलवायु परिवर्तनको ठूलो सन्देश दिएका छन् । स्थानीय तहसँग अन्तरक्रिया, अन्नपूर्ण बेस क्याम्प  भ्रमण र ४० वर्षको अन्तरालमा हिमाल पग्लिएर त्यहाँका मान्छे कस्तो असर खेपिरहेका छन् भन्ने कुरा यत्तिको तहबाट अध्ययन अवलोकन हुनु र पोखरा, लुम्बिनी पनि पुग्नुको विशेष अर्थ छ । 

अहिलेसम्म लुम्बिनी पुग्ने उच्च तहका टोलीले रजिष्टरमा दुई लाइनको सन्देश लेख्नुबाहेक अरु काम भएको थिएन । तर यस पटक भने लुम्बिनी संसारको सबैभन्दा शान्तिको आधारतह हो भन्ने सन्देश दिन सम्भव भएको छ । स्वयं महासचिवले यो विषयमा बोलेर संसारलाई प्रभावित पारेका छन् । संसदमा संबोधन पनि भएको छ । नेपालका लागि फेरि यस्तो महत्वपूूर्ण अवसर जुट्छ कहिले ? कोप २८ मा यसको राम्रो चर्चा हुने संभावना छ । उक्त सम्मेलन यही महिनाको अन्तिममा दुबईमा हुँदैछ  । 

आजभोलि नै कतारका सम्राट शेख तामिम बिन हमाम अल थानी राजकीय भ्रमणमा आउने कार्यक्रम थियो । सबै तयारी पनि भएकै हो । तर इजरायल–प्यालेष्टाइनको द्वन्द्वका कारण आउन सकेनन् । तीन देशको भ्रमणतालिकामा पहिलो लक्ष्य नेपाल थियो  । सरकारको यो तहका प्रयासकै कारणले नेपाली राजनीतिमा कुनै पनि शक्ति र खासगरी राजावादीहरुले तत्काल कुनै गड्याङगुडुङ गर्न सक्ने अवस्थाबारे कतै पनि चर्चासमेत नभएको बताइन्छ । 

टिप्पणीहरू