नेपाल–भारत सिमानामा जे–जे हुँदैछ

नेपाल–भारत सिमानामा जे–जे हुँदैछ
सुन्नुहोस्

संसदबाट संविधानको अनुसूची संशोधनमार्फत चुच्चे नक्सा जारी गरेपछि छिमेकी मुलुकसँग त्यसको स्वीकार्यताका लागि पहल नगरी नेपाली–नेपाली जम्मा भएर नक्सा हेर्दै रमाउने काम त भइरहेकै थियो । यतिबेला चाहिँ नेपाल–भारतको सीमास्तम्भ अध्यावधिक गर्ने चटारो छ ।

क्षेत्राधिकार र भूमिकाका विषयलाई लिएर नेपाल प्रहरीसँग समय–समयमा लफडा चलिरहने सशस्त्र प्रहरीलाई सरकारले सीमास्तम्भ अध्यावधिक गर्ने थप जिम्मेवारी दिएको छ । यसअघि नापी विभागले गर्दै आएको काम सशस्त्रले गरिरहेको छ । विशेषतः मधेस प्रदेशका ६ जिल्लामा अवस्थित सीमास्तम्भ (जंगे पिलर) अध्यावधिक गर्ने काम अगाडि बढेको हो ।

नेपाल–भारतबीच आठ हजार पाँच सय ५५ किलोमीटरमा फैलिएका सीमास्तम्भमध्ये जोर नम्बरका स्तम्भ भारतीय अर्धसुरक्षा दस्ता एसएसबीले र बिजोर नम्बरका स्तम्भ सशस्त्रले मर्मत–सम्भार गर्ने सहमतिअनुसार काम भइरहेको छ । दुई देशको सीमा व्यवस्थापनसम्बन्धी संयन्त्रले गरेको सहमतिअनुसार, सन् २०१४ यता बनेका  र त्यही स्थितिका सीमास्तम्भको मात्रै मर्मत र सम्भार गरिँदैछ । जबकि, कतिपय सीमास्तम्भलाई भारतले बलमिच्याइँका साथ तलमाथि पारेका विषय समय समयमा उठ्दै आएका छन्, त्यसतर्फ भने कुनै अग्रसरता लिइएको छैन ।

भनिन्छ, त्यो विषयमा प्रवेश गरेको भए अहिले भइरहेकै काम पनि नहुने स्थिति थियो । अहिले सशस्त्रले गरिरहेको काम भारतीय पक्षले भने गत बर्ष नै सकिसकेको छ । एसएसबीले आफ्नो भागमा परेका एक हजार ५६ सीमास्तम्भको मर्मत र सम्भारकार्य सम्पन्न गरेको छ । नेपाल पक्षले गर्नुपर्ने २२ सय स्तम्भका काम हुन् । त्यसका निम्ति सशस्त्रलाई ६०–७० लाखको हाराहारीमा बजेट दिइएको छ ।

शुक्रबारदेखि शुरु भएको यो कामका दौरान उसले मधेस प्रदेशका ७० भन्दा बढी स्तम्भको काम सिध्याएको छ । अब हिउँद लागेपछि मधेसमा शीतलहर शुरु हुने र काम गर्न सकिने अवस्था रहँदैन । कात्तिक महिनाभरि काम हुन्छ र बाँकी काम चैत लागेपछि गरिने भएको छ । किनभने, शीतलहरले सिमेन्टीको दिगोपन, रङ कोटिङ गर्नेजस्ता काम प्रभावित हुन्छन् । 

टिप्पणीहरू