मोदी थाहै नदिई आएको ठाउँमा किन केही नगर्ने

मोदी थाहै नदिई आएको ठाउँमा किन केही नगर्ने

चीनले आफूलाई सभ्यता मुलुकको रूपमा चित्रित गर्दै आएको छ । यो सत्य पनि हो । चीन मानव सभ्यता र संस्कृतिको एक उदाहरणीय मुकाम हो । यही सभ्यता र संस्कृतिको आडमा टेकेर राष्ट्रपति सि चिनफिङले सात महिनाअगाडि ग्लोबल सिभिलाइजेशनल इनिसिएटिभ सार्वजनिक गरे ।

चीनले सार्वजनिक गरेका बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई), ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई), ग्लोबल डिभेलपमेन्ट इनिसिएटिभ (जिडिआई) र ग्लोबल सिभिलाइजेशनल इनिसिएटिभ (जिसिआई) मध्ये नेपाल सन् २०१७ मा बिआरआईको अंशियार बनेको थियो । वर्तमान प्रधानमन्त्री प्रचण्डकै दोस्रो कार्यकालमा नेपाल बिआरआईमा जोडिएको नेपालले अरु चिनियाँ इनिसिएटिभमा औपचारिक प्रवेश गरेको छैन । तर, नेपाल–चीन सांस्कृतिक सम्बन्धको कोणबीच जिसिआईमा नेपाल प्रवेश गरेर केही देखिने फाइदा लिन सक्छ । उदाहरणको लागि कैलाशदेखि मुक्तिनाथ जोड्ने करिडोरकै कुरा गरौँ । 

चीनले आफूलाई सभ्यताको देशको रूपमा चिनाउँदा ताओवाद, कन्फ्युसिएसवाद देखि तिब्बती बौद्ध धर्मलाई देखाउने गरेको छ । अर्ब बढी हिन्दू भएको विश्वमा भगवान् शिवको मुख्य आराधनास्थलमध्ये एक कैलाश पर्वत चीनको स्वायत्त प्रदेश तिब्बतमा छ । यो सांस्कृतिक सम्पदालाई उसले अहिलेसम्म उच्च तहमा चिनियाँ अपनत्वसहित सभ्यता प्याकेजको रूपमा ल्याएको छैन । ल्याउन सकिने आधार र उदाहरण भने आएका छन् । पहिलो आधार हो राष्ट्रपति सिले ल्याएको जिएसआई । र, जिएसआईले भन्ने सभ्यताहरूको संवाद । दोस्रो कारण हो, नेपालका पछिल्ला उच्चपदस्थ नेताहरूको चीन भ्रमणमा कैलाश पर्वत जोडिएको छ । भर्खरै आएका प्रधानमन्त्री आठ दिन चीन बस्दा कैलाश पर्वत पनि पुगे । त्योभन्दा अगाडि आएका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख अग्नी सापकोटासहितको टोली पनि कैलाश क्षेत्र घुमेर गयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बाबुराम भट्टराई पनि कैलाश पुगेकै छन् । 

नेपाली मात्रै होइन, भारतीय उदाहरण पनि यस्तै छ । प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धी कैलाश पर्वत पुगेर केही वर्षअगाडि मात्रै आए । नेपालको चुच्चे नक्साको भूभागमा आएर गत हप्ता प्रधानमन्त्री नरेन्द्र मोदीले कैलाश दर्शन गरे । भारतका प्रसिद्ध गुरु सद्गुरु पनि नेपाली भूमि हुँदै कैलाश दर्शनमा आएको धेरै पुरानो भएको छैन । सद्गुुरुका गैरआवासीय चेलाहरू यो साल कैलाश पुगेर राम्रो भीडभाड गरे । भारतीयलाई दर्शनमा भीसा रोक लागेकाले उनीहरू यो साल जान नपाएको खबर समाचारमाध्यममा छन् । 

यसरी नेपाल र भारतका शीर्ष नेतृत्वदेखि सर्वसाधारण मात्रै होइन, विश्वभरका अर्ब बढी हिन्दूले जाने र दर्शनको इच्छा राख्ने धार्मिक, सांस्कृतिक र आध्यात्मिक मुकाम कैलाश पर्वत हो । कैलाश पर्वत, मानसरोबर र आसपासको हो । यही क्षेत्रलाई नेपालसँग जोडेर नेपाल र चीनले संयुक्त काम गर्न सक्ने आधार देखिन्छ । अहिले मुस्ताङको कोरला नाका व्यावसायिक रूपमा खोल्ने सुरसार बढेको छ । त्यही नाकालाई आधार बनाएर मुक्तिनाथ र कैलाश पर्वत करिडोरको काम अगाडि बढ्न सक्छ । यसो हुँदा यो नाका सामान ल्याउने र लाने मात्रै नभएर धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक करिडोरको रूपमा दुई हिन्दु धाम जोड्ने आधारशिला हुन सक्छ । भारतीय प्रधानमन्त्री मुक्तिनाथ पुगेका छन् । यो भारतीयको आकर्षण केन्द्र हो । यही मुक्तिनाथदेखि कैलाश प्याकेज कार्यक्रममा नेपाल र चीनले सहजीकरण गरेर काम गरेमा यो आकर्षक ट्रान्स हिमालयन हिन्दू करिडोर वा ट्रेलको रूपमा विकास गर्न सकिन्छ ।

यसले नेपाल र चीन मात्रै होइन भारतीयलाई पनि ल्याएर धार्मिक पर्यटनमा व्यापक विकास गर्न सकिन्छ । नेपाल र भारतले रामायण सर्किट, देवी सर्किटदेखि मानसखण्ड सर्किट आदिमा काम गरिरहेका छन् । यस्तै खालको सांस्कृतिक सर्किट उत्तरी छिमेकीसँग पनि गर्न सकिन्छ । गर्न आवश्यक भएको छ । सांस्कृतिक धरोधर ज्यादै निकट तर राजनीतिक, कूटनीतिक र पूर्वाधारकै कमजोरीको कारण त्यो निकटता विकटतामा पुग्नु राम्रो होइन ।

यसतर्फ नेपाल र चीनले खुलेर काम गर्न आवश्यक छ । यसले नेपाल र चीनको सांस्कृतिक सेतु मात्रै जोड्दैन, चीन र दक्षिण एसियाकै साइनो जोड्छ । खासगरी हिन्दु सभ्यताका शिवधामहरू जोड्नमा यो एक आकर्षक परियोजना हुनेछ । यति मात्रै होइन नेपालबाट कैलाश पर्वत देखिने हुम्लालगायत जिल्लाका प्रमुख मुकामहरूसम्म पुग्ने सडक वा पदमार्ग बनाउन र व्यापक दर्शनार्थी ल्याउन पनि दुई देशले त्यही ट्रान्स हिमालय हिन्दू ट्रेलको फ्रेमवर्कमा काम गर्न सक्छन् । यो कुनै विशाल बजेट खर्च हुने परियोजना होइन, इच्छाशक्ति हुँदा तीन तहका सरकारको बजेट र चिनियाँ अनुदानमा यो सम्भव छ । मुक्तिनाथ र कैलाश पर्वत हिन्दू ट्रेलको रूपमा जोडिनु नै पशुपतिनाथ पनि जोडिनु हो ।

यसले यी तीन धामको प्याकेज एकैपटक चलाउने आधार बढाउँछ । मुक्तिनाथ कैलाश ट्रान्स हिमालय हिन्दू सर्किटले नेपाल–चीनको नाका चलाउने, धार्मिक करिडोर विकास गरेर सांस्कृतिक सम्बन्ध मजबुत बनाउनेदेखि पर्यटन विकासमा देखिने काम गर्नेछ । नेपाल तिब्बतमा कूटनीतिक मिसन भएको एक मात्रै मुलुक हो । यसले नेपाल र तिब्बतको खाससम्बन्धी चित्रित गर्छ । त्यही खास सम्बन्धलाई तिब्बतसँगै सीमा जोडिएको मुस्ताङ, त्यसमा बन्दै गरेको स्तरीय सीमापार नाका र त्यही नाका प्रयोग गरेर बनाइने मुक्तिनाथ पशुपतिनाथ ट्रान्स हिमालयन हिन्दू टे«ल बनाएर आगामी पुस्तालाई आकर्षक उपहार दिन सकिन्छ । 

टिप्पणीहरू