प्रत्येक राष्ट्रपतिमा उस्तै रोग

प्रत्येक राष्ट्रपतिमा उस्तै रोग

म राष्ट्रपति बने शीतल निवासबाट सबैले शीतल छहारी पाउनेछन्– यो रामचन्द्र पौडेलले राष्ट्रपतिमा निर्वाचित हुनु अगाडि दिएको अभिव्यक्ति हो ।

हुन पनि हो, पौडेलले सबैलाई शीतल छहारी दिनु भएको छ । राष्ट्रपति कार्यालयमा पछिल्लो समय दिनहुँ शीतल ताप्न कोही न कोही पुगेकै हुन्छन् । देशका गिनेचुनेका सञ्चारमाध्यमका सम्पादकदेखि प्रेस युनियनका पदाधिकारीसम्मले शीतल तापेकै छन् । शीतल निवास पुग्ने, केहीबेर शीतल ताप्ने, सामूहिक तस्वीर खिच्ने अनि चियाबिस्कुट खाएर फर्कनेहरूको हुल त्यहाँ दिनहुँ हुने गरेकै छ ।

हुन त पौडेल सानो कोटरीमा रमाउने र सानो चित्त भएकै नेताको रूपमा पहिलेदेखि नै चिनिनु भएकै हो । अहिले पनि नेपाली कांग्रेसको वरिष्ठ नेताभन्दा बाहिर निस्कन सक्नु भएको छैन भन्ने जनगुनासो सुनिन्छ । पछिल्ला हरेक सार्वजनिक कार्यक्रममा मैले सक्रिय राजनीति गरेको होइन र गर्दिनँ भन्ने राष्ट्रपति पौडेलले कांग्रेसभित्र देखिएको विवादमा खेल्न छाड्नु भएको छैन । कोशीमा विकसित घटनाक्रममा मध्यस्थकर्ताको भूमिकादेखि राष्ट्रपति संस्थाप्रति बढ्दो टिप्पणीलाई मत्थर गर्न सञ्चारकर्मी फकाउन मरिमेटेर लाग्दै हुनुहुन्छ ।

राष्ट्रपति पौडेल राष्ट्रपति निर्वाचन भएपछि पहिलो पटक असोज गते ६ गृहजिल्ला तनहुँ पुगी व्यास नगरपालिका–३ बिपी वन वाटिकामा निर्माण गरिएको दमौली सभागृहको उद्घाटन सकेर राजनीतिक भाषण गर्नुभयो । तर त्यो भाषण राष्ट्रपतिको हैसियतमा दिन मिल्ने किसिमको थिएन । पौडेलले कांग्रेसको नेताले कार्यकर्तालाई दिने ढाडस झैँ गरी अभिव्यक्ति दिनुभयो । राजनीतिबाट आफू पूर्णरूपमा बाहिरिए पनि विकासको जिम्मेवारी नछाड्ने बताउँदै भाषण अघि बढाएका पौडेलले उपचुनावमा केशवटारले कांग्रेसलाई पहिलो भोट दिएर आफ्नो परम्परा जोगाएकोमा धन्यवाद दिनुभयो । यो अभिव्यक्तिले राष्ट्रपति पौडेल अझै पनि कांग्रेसको धङधङीबाट नबारिएको पुष्टि गर्छ । तर, तनहुँमा मात्र होइन पौडेलका पछिल्ला दिनमा बढ्दो सक्रियताले पदमा जो पुगे पनि प्रवृति उस्तै हुने देखिएको छ ।

नेपालका पहिलो राष्ट्रपति रामवरण यादव कांग्रेस कार्यकर्ता र दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी एमाले कार्यकर्ताबाट माथि उठ्न नसकेको आरोप लाग्ने गरेको थियो । हुन पनि यादव र भण्डारीको केही व्यवहारले त्यस्तै देखाउँथ्यो पनि । अहिले त पौडेलका पछिल्ला व्यवहारले यादव र भण्डारीको व्यवहारलाई बिर्साइदिएको छ । यसअघि राष्ट्रपतिले यस्तै किसिमको हर्कत गर्दा आलोचना गर्न पछि नपर्ने पौडेल अहिले सोही पदमा आसिन हुँदा व्यवहारमा भने कत्ति पनि फरक देखिन्न ।

कांग्रेसनिकट तरुण दलका कार्यकर्ता बाँकेका योगराज ढकाल उर्फ रिगल रिहाइको विषयमार्फत् राष्ट्रपति संस्थालाई अदालतको कठघरामा उभ्याएका पौडेलले शुक्रबार पदीय मर्यादा नै नाघ्नुभयो । कोशीमा कांग्रेस नेता शेखर कोइाराला पक्षका नेताले मुख्यमन्त्रीमा दावी पेश गरेपछि पौडेलले कार्कीको पक्षमा खुलेका ८ नेतालाई फकाउन फोन गर्नुभयोे । यतिसम्मकि कोइरालालाई नै फोन गरेर दाबी नगर्न आग्रह राख्नुभयो । यसलाई लिएर राजनीतिक दलका नेताहरूले टिप्पणीसमेत गरेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पौडेलले फेरि एक पटक नेपालमा राष्ट्रपति कसैको साझा नहुने कुरालाई प्रमाणित गरिदिएको भन्दै राजीनामा दिन आग्रह गरेका छन् । शुक्रबार नै राष्ट्रपतिले ६० जना कांग्रेस निकट प्रेस युनियनका पत्रकारलाई भेट्नुभयो । त्यतिमात्र होइन, हिजो–आज धुम्बाराही र सानेपामा जस्तै शीतल निवासमा पनि कांग्रेसीहरू लर्काे लाग्ने गरेका छन् । कांग्रेसनिकट पत्रकारसँग सामान्य गनथनपछि राष्ट्रपतिलाई शेखर कोइरालालाई फोन गरेकोमा जिज्ञासा राखिएको थियो । तर, अन्कनाउँदै पौडेलले फोन नगरेको झूठ बोल्नुभयो ।

बाहिर सबैकुरा छताछुल्ल भएपछि यसलाई ढाकछोप गर्ने पौडेलको प्रयत्न सफल भएन । यी दुई त मुख्य दुई पछिल्ला उदाहरण हुन् – संविधानको रक्षा गर्ने भन्दै बनेको गठबन्धनबाट राष्ट्रपति भएका पौडेल गठबन्धनले झैं संविधानको धज्जी उडाइरहेका । २०७७ साल वैशाख १७ मा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा तत्कालीन राष्ट्रपतिलाई कटाक्ष गर्दै राष्ट्रपति नै धृतराष्ट्र बनेपछि हस्तिनापुरको संरक्षण कसले गर्ला ? भन्दै प्रश्न गरेका पौडेललाई अहिले आफ्नै भनाइले पिरोलिरहेको छ ।

धृतराष्ट्रले आफ्ना सन्तानले भनेका हरेक विषयमा मञ्जुरी दिँदा उत्पन्न परिस्थिति र अहिले गठबन्धन अनि प्रधानमन्त्री प्रचण्डले अह्राएका हरेक काम गरेर पौडेलले राष्ट्रपति संस्थाको गरिमा बढाउनेभन्दा गिराइरहेको गुनासो छ । कहिले पार्टीगत धारणा दिने त कहिले उत्पन्न राजनीतिक विवादमा हात हाल्दा पौडेलले आफ्नो व्यक्तिगत सम्बन्ध त जोगाउँलान, तर राष्ट्रपति संस्था कमजोर हुनेछ ।

 

टिप्पणीहरू