कसरी जाँच्ने को लोकप्रिय, को अलोकप्रिय

कसरी जाँच्ने को लोकप्रिय, को अलोकप्रिय
सुन्नुहोस्

‘हार्नुभन्दा छाड्नु राम्रो’ भन्दै एकथरी एमाले लाखापाखा लाग्दा अध्यक्ष केपी ओलीपक्षले आफू अनुकूल कमरेडलाई पहिलोपटक सजिलोसँग नेतृत्वमा स्थापित गराएको छ ।

अघिल्ला प्रदेश अधिवेशनमा त्यस्तो ठाउँ कहीँ पनि रहेन, जहाँ ओली पक्षले अर्को पक्षसँग प्रतिस्पर्धा गर्नु नपरेको होस् । अझ, प्रतिस्पर्धा मात्र नभई भएमध्येका अधिवेशनबाट दुई प्रदेशमा मात्र मूल नेतृत्व हात पारी अन्यमा गुमाउनुपरेको अवस्था छ । तर, विभिन्न पेशाकर्मीसहित बुद्धिजीवी, कर्मचारी संगठित हुने उपत्यका विशेष प्रदेश (पेशागत फाँट) को ओलीपक्षीय अर्थ मन्त्रालयका पूर्वकर्मचारी प्रेमप्रसाद पराजुली सर्वसम्मत भएका छन् ।

सचिवमा निर्विरोध निर्वाचित मिलन धरेल पनि सोही पक्षका हुन् । प्रेमको प्रतिस्पर्धीका रूपमा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल खडा भएका थिए । उनलाई पार्टी उपाध्यक्ष विष्णु पौडेलको प्रेरणा थियो । प्रतिनिधिको मनस्थिति र अधिवेशनको माहोल हेर्दा हार्नेजस्तो देखेपछि चन्द्रले उम्मेदवारी फिर्ता लिए । र, ओली पक्षका निम्ति मैदान खालि भयो । 

सबैभन्दा रमाइलो त कर्मचारीमा भयो । निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष केदार देवकोटा आन्तरिक भोटिङमै पछारिए । निजामती क्षेत्रबाट मनोनीतसहित ३२ जनाबीच मतदान भएर त्यसबाट पाँच जना छान्नुपर्ने थियो । त्यो माइन्युटमा केदारले सही पनि गरेका थिए ।

तर, आफैंले १० भोट ल्याए । पेशागत महासंघको अध्यक्ष रहेका कर्मचारी संगठनका पूर्वअध्यक्ष पुण्य ढकालले ३१ मा ३१ सै मत पाए । केदार पुण्य अध्यक्ष रहेको पेशागत महासंघका महासचिव हुन् । उक्त नतिजा देखेपछि पुण्य मलाई मत नदिने त्यो १ जना को हो भनी खोज्दै हिँडे भने १० मत पाएका केदार यस्तो पनि हुन्छ ? भनी फेसबुकमार्फत् कुर्लिन थाले । आइतबार दिउँसो ४ बजेदेखि राति १२ बजेसम्म गलफत्ती गरेर उनी प्रदेश कमिटीको सदस्यमा आउन सफल भएका छन् । 

यसरी विष्णु पौडेल बौरिएर आउनुको कारणबारे उनैले निकटस्थसँग भन्ने गरेका छन्, ‘अहिले जसरी पार्टी चलाएर ०८४ को चुनाव थेग्न गाह्रो हुन्छ । ०८४ मा हामीले जे भनेर कल्पना गरेका छौं, त्योअनुसार लिडरसिप आउँदैन !’ भर्खरै बागमती प्रदेशको अध्यक्षमा कृष्ण दाहाल हारेलगत्तै पार्टीमा निस्क्रिय रहेको खबर बालकोट पुगेको छ ।

यसबारे स्वयं दाहालले भन्ने गरेका छन्, ‘म बालकोट गएको छैन, भेटेको छैन, त्यसैले सक्रिय छैन भनेछन्, मध्यराति गएर ५ घण्टा कुर्‍या , ५ मीनेट भेटेर आउनेलाई सक्रिय छ भनेर हाजिरी जनाइने चलन रहेछ ।’ मैदानमा काम गर्दाभन्दा बालकोटमा धाए देखिने र मूल्यांकन हुने परिपाटीको विरोध गर्दै उक्त कुरा बताएका हुन् ।

टिप्पणीहरू