वामपन्थीलाई मिलाउने एउटा बान्की

वामपन्थीलाई मिलाउने एउटा बान्की

‘एकता न परित्याग, चुनाव चिह्नमा मेलमिलाप !’ तत्कालिन नेकपालाई फेरि एक ठाउँमा ल्याउने यस्तो सूत्रबारे राजनीतिक वृत्तमा चर्चा त छ, तर नेताका बुद्धि फिर्ला, नफिर्ला– भन्न सकिन्न । 

०७७ पुस ५ को संसद विघटनपछि बिभिन्डिएर आ–आफ्नै चुलोचौको खडा गरेका मुख्य कम्युनिष्ट घटकहरू फेरि त्यही स्थितिमा पुग्ने र आगामी उपनिर्वाचनलाई सामूहिक रूपमा सामना गर्ने कोणबाट छलफल त चलिरहेको छ । तर, कोही अधिवेशन, कोही रुपान्तरण त कोही अभियानमा हुँदा यस्तो कुराले मूर्तता पाइसकेको छैन । माओवादी त जसो गर्दा शक्ति सञ्चित हुन्छ, त्यसै गर्न तयार छ । विभाजित एमालेको एउटा पक्ष एकीकृत समाजवादी मेची–महाकाली अभियानअन्तर्गत अहिले सुदूरपश्चिमतिर पुगेको छ । तर, एकीकृत कम्युनिष्ट शक्ति निर्माण हुनुपर्छ भन्ने चिन्ता बोकेका नेता काठमाडौंमा बसेर उनीहरूलाई मिलाउनेबारे चर्चा गरिरहेका छन् ।

त्यसअनुसार, आगामी वैशाखमा इलामबाट प्रतिनिधिसभा सदस्यका लागि र बझाङमा प्रदेशसभा सदस्य पदका लागि हुने उपनिर्वाचनका क्रममा विशेषतः साविक एमालेका नेताहरूलाई एकै ठाउँमा ल्याउने एउटा सूत्र निस्किएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त इलाम– २ बाट एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सूर्य चिह्नमा उठाउने प्रस्ताव हो त्यो । त्यसका निम्ति न पार्टी एकता गरिहाल्नुपर्ने, न त झलनाथले एकीकृत समाजवादी नै परित्याग गर्नुपर्ने ! मात्र, सूर्य चिह्नबाट उठ्ने, जित्ने र त्यसपछि फटाफट एकताका बाँकी काममा जुट्ने ! तर, यो सूत्रमा जानका लागि दुबै दलका शीर्ष नेता तयार होलान् ? यसबारे अहिल्यै भन्न सकिने अवस्था छैन । भनिन्छ, इलामको उक्त क्षेत्रबाट उठ्न चाहँदा झलनाथको पक्षमा राम्रै माहोल तयार हुने अवस्था छ । किनभने, जिल्लाले पाएको एकमात्र पूर्वप्रधानमन्त्रीलाई फेरि संसदमा पठाउँदा इज्जत बढ्ने त्यहाँका कतिपय बासिन्दाको विश्वास छ ।

उता, बझाङमा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनपछि प्रदेशसभा सदस्य रिक्त छ । गत वर्ष प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका एमाले युवा नेता ऐन महरलाई उठाउने हो भने उनले जित्न सक्छन् । अर्थात्, पूर्वबाट झलनाथ र पश्चिमबाट ऐनलाई उभ्याएर पार्टी मिलाउने सूत्रको चर्चा एमाले–समाजवादी नेताबीच चलेको छ । 

यदि यस्तो भयो भने दुई वर्षभित्र पार्टी एकीकरणमा जाने सम्भावना उनीहरूले देखेका छन् । त्यसो त एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र आफैंसँग सिँगौरी खेल्ने नेतालाई भत्र्याउनु होला कि नहोला ? त्यो अर्कैै कुरा भयो । एमाले एकीकृत भइसकेपछि माधव नेपाल, झलनाथ खनालहरूले सानो पार्टीको नेता भइरहनु पर्ने अवस्थाबाट पनि मुक्ति मिल्छ । अहिले माओवादीले सानो दल भन्दै गरिरहेको हेपाहा व्यवहारमा परिवर्तन ल्याउन पनि एमालेका रूपमा ती नेता अगाडि बढ्दा उपयुक्त हुने कतिपय कार्यकर्ताको चाहना देखिन्छ । तर, नेताका आ–आफ्नै ध्याउन्न, अभियान र योजना चलिरहेको बेला यो कुरा ‘पाकिसकेको’ भने छैन । 
 

टिप्पणीहरू