दशैँखर्च उठाउने यस्तो छ दाउ

दशैँखर्च उठाउने यस्तो छ दाउ

निकै सानो अर्थतन्त्र भएको हाम्रो मुलुकमा अर्को स्टक एक्सचेञ्जको निम्ति अन्तिम तयारी शुरु भएको छ । दशैंको छेको पारेर यससम्बन्धी फाइल अर्थ मन्त्रालयका सहसचिव भूपाल बरालको टेबलमा पुगेको बताइन्छ । भएकै एउटा स्टक एक्सचेञ्ज (नेप्से) पनि पूर्ण सञ्चालित छैन । अर्को पुनर्बीमा कम्पनी खोल्न दिएर भद्रगोल मच्चाएकै समूहलाई स्टक एक्सचेञ्जको समेत जिम्मेवारी दिन फाइल अघि बढाइएको स्रोतको दाबी छ । बिचौलिया दीपक भट्टर साहिल अग्रवाललगायतले त्यसको निम्ति खेलोफड्को गरेका हुन् ।

‘पहिला साझा बस ल्याएर चलिरहेको ट्रली बससँगै दुबै संस्था डुबाएजस्तो पुरानो स्टक एक्सचेञ्ज चलाउन नसकेको सरकारले अर्को एक्सचेञ्जको अनुमति दिएर कालान्तरमा नेप्सेलाई ट्रली बस बनाउन खोजिएको बुझिन्छ,’ अर्थ मन्त्रालयको उच्च स्रोतले भन्यो । नयाँ स्टक एक्सचेञ्ज ल्याउन सरकारले धितोपत्र बजार सञ्चालन नियमावली, २०७४ संशोधनलगायतका ३ नियमावली एक वर्षअघि नै पास गरेको थियो । त्यसपछि बोर्डलाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन, ब्रोकरलाई लाइसेन्स वितरण गर्न तथा चुक्ता पुँजी बढाउन सहज हुँदै गयो । 

अहिले ३५ खर्ब रूपैयाँ पुँजीकरण गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को विकल्पमा अर्को कम्पनी अघि सारिएको छ । मुलुकभर मुश्किलले १५ लाख लगानीकर्ता छन् । चार दर्जनबढी ब्रोकरहरू सेयर कारोबारमा सक्रिय छन् । तर ठूला अर्थतन्त्र भएका मुलुकमा पहिलेका एकभन्दा धेरै स्टक एक्सचेञ्जलाई घटाएर एउटै बनाउने प्रवृत्ति बढेको छ । प्रविधिको प्रयोगले त्यस्ता संस्थाको संख्या घटाउनमा बल मिलेको हो । तर हाम्रो सन्दर्भमा ठीक उल्टो गर्न थालिएको छ । यसअघि पुनर्बिमा कम्पनीको प्रतिस्पर्धामा हिमालयन रिइन्स्योरेन्स र प्रुडेन्सियल सबैभन्दा अगाडि देखिएका थिए । हिमालयनमा दीपक भट्ट, शुलभ र साहिल अग्रवाल, शेखर गोल्छा, पशुपति मुरारका, कैलाश सिरोहियालगायतको संलग्नता छ । प्रुडेन्सियलमा अशोक अग्रवालहरूको विशाल ग्रुप, त्रिवेणी समूहलगायत छन् । तर, भट्टको हिमालयनलाई इजाजत दिइएको छ ।

अहिले नयाँ स्टक एक्सचेञ्जको प्रतिस्पर्धामा पनि ती दुबै कम्पनीको दौड चलिरहेकै छ । सबै सेटिङ मिलेकाले हिमालयनकै टिमले यो पनि दशैंअघि हात पार्ने योजना बनाएको बताइन्छ । जबकि यतिखेर अर्थमन्त्री डा. प्रकाशशरण महत, सचिव कृष्णहरि पुष्करलगायत सरकारी अधिकारीहरू विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन मोरक्को पुगेका छन् । उनीहरू आगामी घटस्थापनापछि कार्यालयमा उपस्थित हुने र फूलपातीको अघिल्लो दिनसम्ममा उक्त अनुमतिको लागि मार्ग प्रशस्त गराउने सम्भावना बढेको बुझिएको छ ।

अस्ति राजधानीमा मोसो दलिएका दुर्गा प्रसाईंले बैंकको ब्याज र ऋण नतिर्न उक्साउँदै जति उग्र धारणा राखे पनि बैंकिङ, पुँजीबजार र आर्थिक जनजीवनबारे केही तीतोसत्य पोखेका छन् । यसै मेसोमा नयाँ स्टक एक्सचेञ्जको स्वीकृतिमा खेलोफड्कोको धेरै खेल र तानाबानाको संकेत देखिएको हो । प्रसाईंले सीमित मारवाडी, बिचौलिया र ठूला व्यापारिक घरानालाई बैंक तथा वित्तीय संस्थाहरूले बेपर्वाह रूपमा प्रदान गरेको कर्जा, ऋणको पुनर्तालिकीकरण, एउटै घराना र समूहलाई दिइएको पुनर्बिमा कम्पनीको स्वीकृति, अहिले दिन खोजिएको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सबारे चर्चा गर्दै आएका छन् । 
 

टिप्पणीहरू