परराष्ट्रका न्यौपाने पुगे अदालत

परराष्ट्रका न्यौपाने पुगे अदालत
सुन्नुहोस्

परराष्ट्र मन्त्रालयले साउदी अरेबियाको दूतावासका निम्ति गरेको पदस्थापनमा चित्त नबुझेपछि सो निर्णयविरुद्ध उप–सचिव उद्धव न्यौपाने उच्च अदालत ललितपुर गुहार माग्दै पुगेका छन् । अदालतले न्यौपानेको पक्षमा कारण देखाऊ आदेश गरेको छ ।

दक्षिण कोरियाको दूतावासबाट फर्किएका उनलाई साउदी पठाउन लागिएको थियो । न्यौपानेले आफूमाथि भेदभावपूर्ण व्यवहार गरिएको जिकिर लिएका छन् । उनले वरिष्ठ भएकाले पदस्थापनअघि आफू रोज्न पाउने हक खोसिएको बताएका छन् । उनी जान चाहेको देशमा राजनीतिक शक्ति र पहुँचका भरमा कनिष्ठ कर्मचारीलाई पदस्थापन गरिएको छ । 

परराष्ट्र मन्त्रालयमा शक्तिको भरमा नियम मिच्ने काम एका–दुई घटनामा कारण देखाऊ आदेश आउनेबित्तिकै रोकिनेवाला छैन । अमेरिकाको वासिङटनमा ४ वर्ष काम गरी फर्किएका चक्र सुवेदीलाई पुनः अमेरिकाकै न्यूयोर्कमा पठाउने तयारीसँग महसुस गर्न थालिएको दाबी स्रोतले गरेको छ । सामान्यतः एउटै पदमा एउटै देशमा दोहोर्‍याएर पठाउने चलन छैन । तर, अहिले कन्सुलर विभागको वैदेशिक पश्चिम फाँटमा रहेका चक्रलाई पुनः न्युयोर्क पठाउन लबिङ शुरु भएको स्रोतको दाबी छ । त्यसैगरी, न्युयोर्कमा रहेका विष्णु गौतम भने बढुवा भएका कारण माघमा फर्कने तयारीमा छन् । उनी फर्कन चार महिना बाँकी छँदै चक्रको चक्र भने घुम्न थालिसकेको छ । 

परराष्ट्रमा नाम मात्रैको संघीयता ?

यसैबीच, संघीयता लागु भएको ८ वर्ष बित्दा पनि व्यावहारिक कार्यान्वयनमा संघीय सरकार प्रतिबद्ध र इमान्दार देखिएको छैन । यसै मेलोमा परराष्ट्र मन्त्रालय पनि थपिएको छ । उसले प्रदेश सरकारको एकाइका रूपमा लुम्बिनी प्रदेशमा धनञ्जय मेहतालाई खटाउनेबाहेक अन्य केही काम गरेको छैन । 

परराष्ट्र मन्त्रालयले वितरण गर्दै आएको पासपोर्टको काम अत्यधिक चाप भएपछि गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालयलाई सुम्पिएको छ । यसबाहेक संघीयताको मर्मअनुसार विकेन्द्रित हुनुपर्ने अन्य काम भने त्यत्तिकै थाती राखिएको छ । यसले गर्दा वैदेशिक रोजगारीमा जाने नेपाली र तिनका परिवार पीडित छन् ।

धेरैजसो परराष्ट्रसम्बन्धी कार्य केन्द्रिकृत भएका कारण सर्वसाधारणले दुःख पाएका हुन् । क्षतिपूर्ति दिलाउने, लाश झिकाउने, कागजात प्रमाणीकरण गर्ने, विदेशमा दुर्घटना भई ज्यान गुमाएकाहरूको नाता प्रमाणित, क्षति अंगभंगको मुद्दा लड्नेलगायत सबै काम गर्न काठमाडौंमा महिनौं बस्नुपर्ने र पटक–पटक धाउनुपर्ने अवस्था छ । यी काम गर्न प्रदेशस्तरीय सानो युनिट भएमा संघीयताको मर्मअनुसार हुन्थ्यो । यी प्रदेश वा स्थानीय सरकारबाटै सम्पन्न गर्न सकिने काम हुन् । 
 

टिप्पणीहरू