ल्हासामा रेल छ, काठमाडौंको कान बुच्चै

ल्हासामा रेल छ, काठमाडौंको कान बुच्चै

कुनै बेला नेपाल र भोटको व्यापार भारतसँग भन्दा धेरै थियो । इष्ट इण्डिया कम्पनीले भारतीय रेल नेपाली सीमामा ल्याएपछि मात्रै नेपालको व्यापारिक मार्ग उत्तरबाट सर्लक्कै दक्षिणमा सरेको हो । पछि तिब्बतको राजनीतिक उथलपुथलले नेपाली मूलधारको व्यापारिक करिडोर उत्तरबाट क्रमशः दक्षिणतिर सोझियो ।

नेपाली व्यापारको मुख्य मुकाम तिब्बत हुँदा नै बनेको एक चर्चित उखान छ । त्यो हो– ल्हासामा सुन छ कान मेरो बुच्चै । यो उखानले ल्हासालाई सुन व्यापारको मुकामको रूपमा हेरेर अभावको सामाजिक मनोविज्ञानलाई चित्रित गरेको छ । अब नेपालले सुनका निम्ति ल्हासा जानुपर्दैन । नेपालमा सुन ल्याउने अन्त पनि बाटा छन् । भारत छ । नेपालसँग हवाई सम्पर्क सिधा जोडिएका जापानदेखि अरबसम्मका देश छन् । तर, रेलको विश्व नै चकित पार्ने विकासको मोडेललाई छुन भने अझै पनि नेपालले तिब्बतकै भूमिमा पुग्नुपर्ने हुन्छ । विकट भूगोलमा पनि चीनले तिब्बतमा ल्याएको रेल्वे क्रान्ति र त्यो क्रान्तिमा सामरिक रूपमा नजोडिएको सीमावर्ती देश नेपालले अब उखान फेर्नुपर्छ । ल्हासामा रेल छ काठमाडौँ बुच्चै । 

चीनको तिब्बत स्वायत्त क्षेत्रमा बनेको रेल्वे विभिन्न कारणले विश्व हेडलाइन बन्दै आएको छ । सबैभन्दा उचाइमा बनेको देखि सबैभन्दा थोरै जनसंख्या भएको चीनको क्षेत्रमा लक्ष्यित रेल्वे भएकाले पनि चर्चामा छ । सन् २०२१ अर्थात् दुई वर्षअगािड लिन्चीदेखि ल्हासा जोड्ने ४३५ किमि विद्युतीय रेल बन्दा विश्व चकित भयो । तीन हजार मिटरको उचाइमा ९० प्रतिशतभन्दा धेरै ओगट्ने उक्त विद्युतीय रेल्वेका ४७ सुरुङ छन् भने १२१ पुल छन् । अक्सिजन जडान गरिएको छ ।

रेल्वेमा एयरहोस्टेज तहका सहायकहरू छन् । रेल चिटिक्क छ । यो रेल अहिले नेपालको नजिकै तिब्बतको दोस्रो ठूलो शहर सिगात्सेसम्म आएको छ । त्यहीँबाट नेपालको सीमा केरुङ हुँदै काठमाडाँैसम्म उक्त रेल ल्याउने चर्चा शुरु भएका छन् । केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ को भारतीय नाकाबन्दी, त्यो नाकाबन्दीबाट भएको नेपाल, चीन पारवहन सन्धिसँगै चिनियाँ चुच्चे रेलले नेपाली राजनीतिक बजार तताएको हो । केपी ओलीले चिनियाँ चुच्चेरेल नेपाल आउने बताउँदा कार्टुन बनाउने कांग्रेसले पनि ०७४ को चुनावी घोषणापत्रमा भने चुच्चेरेल नै राखेको थियो । यसरी रेल नेपाली राजनीतिको म्ूल प्रवाहमा चर्चामा आएको पनि आठ वर्ष पूरा भएको छ । नेपाल र चीनले रेलको सम्भाव्यता अध्ययनका काम ढिलै गतिमा शुरु गरेका छन् । 

ल्हासा पुग्ने रेल्वे परियोजना बिच्छ्याएर सन् २००५ अक्टोबर १२ मा सकिएको थियो । सञ्चालन भने सन २००६ जुलाई १ बाट भएको हो । नेपालका वर्तमान प्रधानमन्त्री प्रचण्डले हालसालै चीन पुगेर विश्व च्यानल सिजिटिएनसँग बोल्दै नेपाल चीन सिधा रेल्वेले धेरै राम्रो हुने कुरा गरेका छन् । चिनियाँ राजदूतले पनि उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् । चिनियाँ रेल नेपालमा ल्याउन आवश्यक छ । चीनसँगको बढ्दो व्यापार, नेपाल चीन पारवहन सन्धि र प्रोटोकोल हस्ताक्षर, नेपालको बिआरआईमा भएको प्रतिबद्धतादेखि बिआरआईको दशक उत्सवका सबै कारण नेपालमा चिनियाँ रेलको सान्दर्भिकताबारे चर्चा आवश्यक छ । माओ कालमा नेपाल र चीन जोड्ने पहिलो राजमार्ग बनेको थियो ।

अब सि कालमा नेपाल र चीन जोड्ने पहिलो रेल्वे बन्न आवश्यक छ । कोदारी राजमार्ग चीनले उपहार दिएर बनेको थियो । यो रेल्वे पनि यस्तै वा नेपालले समेत सम्मानजनक र सामथ्र्ययोग्य साझेदारीमा देशहितमा बनाउन आवश्यकता छ । यसले दुई देशको व्यापार तथा पर्यटनमा व्यापक फाइदा गर्नेछ । जनस्तरको सम्बन्ध बनाउन धेरै सहयोगीसिद्ध हुनेछ । नेपाल चीन कूटनीतिदेखि नेपालको राजनीतिक माहोल र व्यवहारिक आवश्यकताको लागि सिधा रेल सञ्चालन आवश्यक छ । यो रेलले हिमालय सीमापार रेल बनेर एक सुन्दर मानक बनाउनेछ । हिमाल बाधक मात्रै होइन साधक पनि हो भन्ने उदाहरण कोदारी र केरुङले देखाइसकेको छ । अब यो रेल्वे सेवाबाट पनि त्यस्तै नयाँ मानक बनाउन आवश्यक छ ।

शुरुमा काठमाडौँ आउने यो रेल्वेलाई पोखरा र चितवनसम्म लगेर दुई देशको भौगोलिक र भावनात्मक सम्बन्ध बनाउन सकिन्छ । ल्हासाकौ भगिनी साइनो काठमाडौँसँग छ । सिगात्सेको भरतपुरसँग छ । लिन्चीको पोखरासँग । यसरी तिब्बतको राजधानीसहितका तीन प्रमुख शहर कूटनीतिक रूपमा पनि जोडिएकै छन् । अब रेलबाट पनि जोड्न आवश्यक छ । सडकबाट जोडिएका शहर रेलबाट जोडिँदा झनैैैैैैैैैैै सुन्दर हुनेछ ।

त्यसमा नेपाल र चीनले जित जितको अवस्था हुनेगरी काम गर्न आवश्यक छ । नेपाल चीन विश्वस्तरीय रेलमा जोडिए नेपाल र ल्हासाको पुरानो व्यापारिक विरासतमा केही पुनर्ताजगी आउँछ । भारतसँग पनि सीधा रेलका कुरा आएका छन् । त्यसले पनि द्रूतगति लिनेछ । अर्थात् उत्तरको रेल आएमा दक्षिणको रेल आउने बाटो पनि अगाडि बढ्नेछ । यसले दुई ठूला अर्थतन्त्रबीचको देश नेपाललाई रेल्वे क्रान्तिमा ठूलो सहायता हुनेछ । तर, यो सबै गर्न राजनीतिक इच्छाशक्ति र कूटनीतिक विश्वसनीयता भने जरुरत छ । हैन भने त त्यही नयाँ उखान चरितार्थ हुन्छ । जसले भन्छ– ल्हासामा रेल छ, काठमाडौँ बुच्चै । 

 
 

टिप्पणीहरू