अनैतिकको आरोप लाग्दा पनि एमालेकै अध्यक्ष

अनैतिकको आरोप लाग्दा पनि एमालेकै अध्यक्ष
सुन्नुहोस्

एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखराज भट्टलाई तारन्तार फोन गरेर भन्नुभयो, ‘त्यो अनैतिक हो, भ्रष्ट हो, त्यसलाई जसरी पनि  हराउनुस् !’ आफ्नो निर्देशन अवज्ञा गरी अध्यक्षमा उम्मेदवारी दिएका गुलाबजंग शाहको पक्षमा माहोल बनिरहेको रिपोर्ट पुगेपछि आक्रोशित हुनुभएका ओलीले कर्णाली प्रदेशको अधिवेशन गराउने जिम्मा लिएर सुर्खेतमा खटिएका भट्टलाई नेपालगञ्ज र काठमाडौँबाट त्यस्तो निर्देशन दिनुभएको हो । 

तर, अन्य प्रदेशमा जस्तै ओलीको चाहनाअनुसारको परिणाम कर्णालीमा पनि आएन । उहाँको आधिकारिक उम्मेदवार मीनबहादुर शाहीलाई भारी मतान्तरले पराजित गर्दै गुलावजंग नेतृत्वमा आइसकेका छन् । तथापि उनलाई रोक्न अध्यक्ष ओलीले गरेको भरमग्दुर प्रयास र अधिवेशनमा महासचिव शंकर पोखरेलको भूमिकाका रोचक किस्साहरू क्रमशः बाहिर आउन थालेका छन् । 

नेपालगञ्जमा जहाजबाट ओर्लिएर सुर्खेत पुगी अधिवेशन उद्घाटन गरेलगत्तै ओली महासचिव पोखरेललाई मीनबहादुरको पक्षमा माहोल बनाउन जिम्मा दिएर रातारात नेपालगञ्ज नै झर्नुभयो । तर, गुलावजंगसँगको पुरानो सम्बन्धका कारण शंकरले ओलीको चाहनामुताविक भूमिका खेल्न सकेनन् । बरु, महासचिवको आधिकारिक उम्मेदवार भन्दै गुलावजंगको प्रचार गरियो । त्यसअघि यमलाल कँडेलसहित अध्यक्षका दुबै उम्मेदवारलाई सँगै राखेर गुलावलाई अध्यक्ष र मीनबहादुरलाई सचिव बनाउने शंकरको प्रस्ताव थियो । तर, अध्यक्ष ओलीको समर्थन पाएका मीनबहादुर पछि हटेनन् । 

बताइएअनुसार अधिवेशन उद्घाटनअघि नै शंकरले गुलावजंगलाई अध्यक्ष बनाउन ओलीसँग धेरैचोटी जोड गरेका थिए । तर, ओली केही गरे पनि सकारात्मक नभएपछि अध्यक्ष र महासचिव नै दुईतिर हुने परिस्थिति बनेको बताइन्छ । यसो हुनुका पछाडिको कारण झन् रोचक छ । गत चुनावमा सल्यानमा टिकट बेचेको र केही लाख शंकरलाई बुझाएको उजुरी ओलीकोमा पुगेको रहेछ । राप्रपाका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर रायलाई पार्टीमा प्रवेश गराएर प्रतिनिधिसभाको टिकट दिएको र त्यसवापत राम्रै लेनदेन भएको रिपोर्ट त्यतिबेलै बालकोट पुगेको त्यतिबेला खुल्यो, जब आफू चुनाव जित्न कांग्रेसबाट बागी उठेका राजेन्द्रबहादुर शाहसँग मिलेर गुलावले राजेन्द्रवीरलाई हराइदिए । चुनाव हारेको १५ दिनमै एमाले छोडेका उनले त्यसको केही दिनअघि शंकरलाई भेटेर ‘गुलावजंगमार्फत पठाएको पैसा के भयो’ भनी सोधेका थिए । महासचिवका लागि पनि चाहिन्छ भनेर गुलावले केही रकम छुट्टै लिएका रहेछन् । 

एकातिर टिकट बेचेको विषय, अर्कोतिर टीका ओली नामक नेत्रीसँग उनको सम्बन्धको कुरा चर्कैसँग उठिरहेको । ‘झिमझिम परेली’ बोलको गीतमा गुलाव र टीकाको टिकटक भिडियो सार्वजनिक भएसँगै गुलावकै कारण सल्यानका कार्यकर्ता प्रकाश ज्वालातिर लागेको ओलीको बुझाइ छ । यिनै कारण देखाउँदै अध्यक्ष ओलीले कुनै हालतमा गुलावजंगलाई अध्यक्ष बनाउन हुँदैन भनेर इञ्चार्ज भट्ट र कर्णालीका नेतालाई बारम्बार निर्देशन दिएको बताइन्छ । 

अनैतिक भनिरहने, बेलामा कारवाहीचाहिँ नगर्ने ! यस्तोमा अध्यक्ष ओलीको निर्देशनले काम गरेन । यत्रो घेराबन्दीका बाबजुद पनि गुलावले चुनाव कसरी जिते ? जानकारहरूका अनुसार यमलाल कँडेलको रणनीतिले ओलीलाई धक्का लागेको हो । शुरुमा ध्रुव शाहीलाई अध्यक्ष बनाउन चाहन्थे यमलाल तर मीनबहादुरविरुद्ध ध्रुवलाई उठाउँदा ओलीको दबाबमा फिर्ता हुनसक्ने खतरा देखेका उनले अन्तिममा गुलावजंगलाई अघि सारेर रणनीतिक चातुर्यता देखाएपछि परिणाम उल्टिएको बताइन्छ । अध्यक्ष ताकेका ध्रुव अन्तिममा सचिव बन्न तयार भएपछि यमलाललाई थप सहज भयो भने पार्टीको पोलिटब्युरो सदस्य रहेका गुलाव र महासचिव शंकरको पुरानो सम्बन्धले पनि काम गर्‍यो ​​​​  । 

अर्कोतिर जिल्लाका नेताले पनि एकदिन मुख देखाउने अध्यक्ष र महासचिवलाई भन्दा कर्णालीमै राजनीति गर्ने यमलालमाथि भरोशा गरे । कतिसम्म भने ०८४ को चुनावका निम्ति स्थानीय तहमा को, कहाँबाट उठ्ने मोटामोटी हिसाब मिलाएर विपक्षीहरूलाई पनि आफूतिर तान्न यमलाल सफल भए । त्यति हुँदा पनि गुलाव र मीनबहादुर दुबैको भोट बराबरजस्तो देखिन्थ्यो । पछि शंकरका पिए सरोज रेग्मीले प्रतिनिधिहरूलाई भटाभट फोन गरेर गुलाव नै आधिकारिक उम्मेदवार हो भनेपछि न्युट्रल रहेका प्रतिनिधि पनि युटर्न भए ।

डोल्पाका अध्यक्ष शेरबहादुर बूढा शुरुमा मीनबहादुरतिर थिए । प्रदेशसभा सदस्यसमेत रहेका उनलाई प्रमुख सचेतक बनाउने शर्तमा पल्टाइएको चर्चा छ । अहिलेका प्रमुख सचेतक टेकराज पछाई उपाध्यक्ष निर्वाचित भएकाले उनको ठाउँमा लैजाने आश्वासन पाएर राप्रपा पृष्ठभूमिका शेरबहादुर खुलेर गुलावको पक्षमा लागेको भन्नेहरु डोल्पामा थुप्रै छन् ।

टिप्पणीहरू