गुजुल्टिएको तारले कुरुप मध्यपुर थिमी

गुजुल्टिएको तारले कुरुप मध्यपुर थिमी

भक्तपुरको मध्यपुर थिमी नगरपालिका क्षेत्र अव्यवस्थित तारले कुरुप बन्दै गएको छ । इन्टरनेट, बिजुली, टेलिफोन र टेलिभिजन सेवा विस्तारका नाममा विभिन्न सेवा प्रदायक कम्पनीले जथाभावी तार टाँगेपछि मध्यपुर थिमीका मुख्य बजार क्षेत्र र चोक कुरुप देखिएको छ । 

नगरपालिकाका मुख्य बजार तथा स्थानमा रहेका बिजुली र सोलारका पोलमा अव्यवस्थित रुपमा तार टाँगिएका छन् । तारले सहरको सौन्दर्य मात्र कुरुप बनाएको छैन, दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ । 

मुख्य बजार क्षेत्रका सडक किनारमा बिजुली, इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा प्रदायकका तार लथालिङ्ग छन् । कतै तार चुँडिएर सडकमा लत्रिएको देखिन्छ, कतै गुजुल्टो पारेर त्यत्तिकै छाडिएको छ । 

यसरी सेवा दिने नाममा गाडिएका पोलमा थाम्नै नसकिने गरी राखिएका तारका गुजुल्टोले आगलागीको जोखिम पनि बढाएको छ । पोलमा गुजुल्टिएको तारमा बारम्बार आगलागी हुने गरेको बताइन्छ । 

अर्कोतर्फ मुख्य व्यापारिक स्थानमा समेत अव्यवस्थित तार रहँदा कुनै पनि बेला आगलागी भएर ठूलो दुर्घटना हुने चिन्ता पैदा भएको छ । स्थानीय गोपाल कार्की जथाभावी तारको गुजुल्टोका कारण दुर्घटनाको जोखिम बढेको बताउँछन् । 

उनले भने, ‘अस्तव्यस्त तारका कारण दुर्घटनाको जोखिम बढ्दो छ । अझ मुख्य बजार क्षेत्र र चोकमा जथाभावी तारको गुजुल्टो देखिन्छ ।’ ‘कतै पोल ढलेको हुन्छ, कतै तार चुँडिरहेको हुन्छ । तर, कहिल्यै समयमै मर्मत हुँदैन,’ उनले थपे । 

वर्षायाममा जोखिम झन् बढ्ने बताउँदै उनले विद्युत प्राधिकरण र स्थानीय निकायले नियमित रुपमा अनुगमन नगर्दा र यसमा चासो नराख्दा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा उपभोक्ताहरु मारमा परिरहेको बताए । 

जता हेरे पनि तारको गुजुल्टो मात्र देखिन्छ । इन्टरनेट, केबल र टेलिफोनलगायतका तार एकै ठाउँमा टाँगिएका छन् । एकै ठाउँमा सयौंंथरी तार गुजुल्टिएको देख्दा सबैलाई दिक्क लाग्नु स्वाभाविक पनि हो । लत्रेका तारले सँधैं सबैलाई त्रसित बनाउने गरेको स्थानीयको अनुभव छ ।

 
गठ्ठाघरमा बस्दै आएकी सरिता कार्की लत्रिएका तारले स्कुले बालबालिकालाई सबैभन्दा धेरै खतरा हुने गरेको बताउँछिन् । ‘लत्रिएका र भुईं छुने गरी टाँगिएका तारले गर्दा हामी ठूला मान्छे त कहिलेकाँही दुर्घटनामा पर्ने गर्छौं । झन् सासाना बालबालिकामा यसको जोखिम अत्यधिक देखिन्छ,’ उनले भनिन् ।

कार्कीका अनुसार अव्यवस्थित तारका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै बजार पनि उत्तिकै फोहोर हुँदै गएको छ । अव्यवस्थित तार विद्युत प्राधिकरण, सेवा प्रदायक कम्पनीको गैरजिम्मेवार र स्थानीय निकायको निरीहताको परिणाम भएको उनको ठम्याइ छ ।  

सवारीसाधन तथा दैनिक जीवनयापनमा समेत अव्यवस्थित तारले निकै सास्ती दिएको छ । सेवा दिने नाममा सहर कुरुप बनाउने तथा नागरिकलाई सास्ती दिनुभन्दा तारको जालोले अरु केही काम हुन सकेको छैन । 

मध्यपुर थिमी नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले तार व्यवस्थापनमा सक्दो कोशिस गरिरहेको बताए । उनले लत्रेका तारका कारण दुर्घटनाको जोखिम बढेकाले सम्बन्धित निकायसँगको समन्वयमा हटाउने काम भइरहेको जानकारी दिए । 

‘जथाभावी गुजुल्टिएको तारले नागरिकलाई अनावश्यक सास्ती र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक काम अघि बढाइसकेको छ । दशैंसम्म सबै तार व्यवस्थापन गरिसक्ने नगरपालिकाको योजना छ,’ उनले भने ।

टिप्पणीहरू