पूर्वपञ्चहरूबीच भित्रभित्रै जे–जे पाक्दैछ

दशैं र तिहारको बीचमा मन्त्री बन्ने कि गणतन्त्र मूर्दावाद भन्ने ?

पूर्वपञ्चहरूबीच भित्रभित्रै जे–जे पाक्दैछ
सुन्नुहोस्

‘निर्मल निवासले अध्यक्षमा हरायो’ भन्दै राप्रपा नेपाल ब्युँताएर एमालेको सूर्य चिह्नबाट चुनाव लडेका कमल थापा फेरि पूर्वराजा ज्ञानेन्द्र शाहसँग नजिकिएसँगै राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा लडाइँ शुरु भएको छ । राजसंस्थाको एजेण्डा बोकेको पार्टीलाई नै पूर्वराजाले विश्वास नगरेपछि लिङदेनको नेतृत्वप्रति अधिकांश नेता असन्तुष्ट हुँदा किचलो चर्किएको हो । 

युवा भएका कारण उनलाई अघि सार्दा आफ्नो पक्षमा माहोल बन्ने विश्वाससहित राप्रपाको महाधिवेशनमा पूर्वराजाको सहानुभूति लिङदेनतिर थियो । त्यसैबापत निर्मल निवासलाई दोष दिँदै कमल नेतृत्वबाट बिदा भएका थिए । तर, ज्ञानेन्द्र शाही र रवीन्द्र मिश्रजस्ता राजनीतिक आधारविहीन पात्रलाई बोकेर लिङदेनले पुराना राजावादीलाई समेट्न नसकेको व्यापक गुनासो बढेपछि पूर्वराजाको प्राथमिकता फेरिएको चर्चा चल्न थालेको छ । कमलले केही समयअघि पूर्वराजपरिवारलाई भेटेर विगतका कमजोरीप्रति प्रायश्चित गरेको र निर्मल निवासकै योजनामा गणतन्त्रविरुद्ध आन्दोलन शुरु गरेको पनि भनिँदै छ । 

जानकारहरूका अनुसार पूर्वराजा ज्ञानेन्द्रले महाधिवेशनलगत्तै दुबै राप्रपालाई मिलेर अघि बढ्न सुझाएका थिए । तर, त्यसअनुसार लिङदेनले भूमिका खेल्न सकेनन् । दरार बढ्दै जाँदा राप्रपा नेपाल ब्युँताएर एमालेको सूर्य चिह्नमा चुनाव लडेका कमल आफूलाई लोकतन्त्रवादी भन्दै हिंड्न थाले । यता, श्रीपेच देखाएर भोट बटुलेको राप्रपाले त्यो शक्तिलाई सत्तामा जाने भर्‍याङ बनाएको निश्कर्ष निकालेका पूर्वराजा थप चिढिए । त्यसपछि लिङदेनलाई अध्यक्ष बनाउन सारा शक्ति लगाएका तेक्वान्दो संघका अध्यक्ष प्रकाश राणामार्फत पूर्वराजाले कमलसँग मिलेर जान सन्देश पठाएका थिए । लोकेन्द्रबहादुर चन्दको संयोजकत्वमा पशुपतिसमशेर, डा। प्रकाशचन्द्र लोहनी, लिङदेन, कमल, हरिबहादुर बस्नेत र नवराज सुवेदी रहनेगरी ‘स्टेरिङ कमिटी’ बनाउन पूर्वराजा ज्ञानेन्द्रको सुझाव थियो । त्यही विषयमा छलफल गर्न लोकेन्द्रले आफ्नो निवासमा पञ्च भेला पनि बोलाए । तर, स्टेरिङ कमिटी बनाउन ठाडै इन्कार गरेका लिङदेन सो बैठकमा गएनन् । त्यसपछि रिसाएको दरबार उनको विकल्पको खोजीमा लाग्यो । सर्वस्वीकार्य व्यक्तित्व खोज्दै जाँदा कमललाई बोलाएर अगाडि सारेको बताइन्छ । 

त्यसो त, प्रचण्ड नेतृत्वको सरकारमा जाने निर्णयमा पनि पूर्वराजा खुशी थिएनन् । मन्त्री बन्ने निर्णय गरेको भोलिपल्ट महामन्त्री धवल समशेरलाई लिएर दर्शन भेटका लागि पुगेका लिङदेनले ‘हामी सरकारमा जाने भयौँ सरकार’ भनी समर्थनको आश गर्दा पूर्वराजाले प्रष्ट जवाफ दिएका थिएनन् । त्यसपछि धवललाई मन्त्री बनाउने बाचा गरेर फर्किएका उनी आफैँ उपप्रधानमन्त्री लिएर सरकारमा गए । पछि झापामा भएको भेटमा भने लिङदेनको भूमिकालाई लिएर पूर्वराजाले खुलस्तै असन्तुष्टि जनाएको बताइन्छ । रमाइलो कुरा चैं, सो भेटमा लिङदेनलाई बोलाइएकै थिएन । रविन्द्र मिश्र, डा. लोहनी र धवलले मात्रै भेट्नेगरी चाँजोपाँजो मिलाइएको थियो । तर, तीन जनाले मात्र भेट्दा बाहिर गलत म्यासेज जान्छ भनेर भेट्न गएकाहरूले नै पूर्वराजाका सचिवसँग लिङदेनलाई पनि बोलाइदिन आग्रह गरेपछि अन्तिममा खबर गरिएको थियो । आधा घण्टापछि हस्याङ फस्याङ गर्दै अनौपचारिक पोशाकमा पुगेका लिङदेनलाई पूर्वराजाले ‘ठूलो मान्छे हुनुभयो’ भनेर सबैका सामु कटाक्षसमेत गरेका थिए । लोहनीपट्टी हेरेर ‘तिमरुसँग कोही पनि खुशी छैन, इण्डियासमेत असन्तुष्ट छ’ भनेर ज्ञानेन्द्रले सिधा–सिधा असन्तुष्टि जनाएको पनि बताइन्छ । 

यता, पार्टीमा पनि मन्त्री छान्ने विषयमा लिङदेनले एकलौटी गरेको भन्दै अधिकांश नेता रुष्ट थिए । केपी ओलीले बोलाएपछि झापाबाट दौडिएर काठमाडौँ फर्किएका उनले सिधै बालकोट गएर सहमतिको कागजमा हस्ताक्षर गरेका थिए । त्यसपछि विक्रम पाण्डेको घरमा निकटसँग एक चरण छलफल गरेर बल्ल पार्टीको बैठक बोलाए । ज्ञानेन्द्र शाहीले त बालकोटमा सही गरेर आउने अनि अनुमोदन गराउन हामीलाई बोलाउने भन्दै बैठकमै बबाल गरेको कुरा त्यतिबेलै बाहिर आएको हो ।

अहिले फेरि सरकारमा जान खुट्टा उज्याएर बसेको राप्रपामा मन्त्रीका लागि प्रभावशाली नेताले आ–आफ्नै लबिङ चलाइरहेका छन् । कुलमानमार्फत जलविद्युत्को पैसामा रमाउने गरी पाएसम्म पुरानै ऊर्जा मन्त्रालय लिएर लिङदेन आफैँ सरकारमा जाने दाउमा छन् । राप्रपाका एक नेताले सुनाएअनुसार हालै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर उनले यसबारे कुरा राखेका थिए । जवाफमा देउवाले ‘कोशीमा हामीलाई समर्थन गर्नुस्, यहाँ पशुपतिजीलाई उपप्रधानमन्त्री बनाउने भनेकै छ त’ भनेपछि लिङदेन केही नबोली फर्किएको ती नेताले बताए । 

यता, आर्थिकरूपले सम्पन्न रहेका पशुपति पार्टी फुटाएर भए पनि एकचोटी फेरि मन्त्री खाने कसरतमा छन् । सोहीअनुसार रणनीति बनाइरहेका उनले यही मेसोमा राप्रपा फुटाउने र डा। लोहनी, लोकेन्द्र, कमल थापासहितको नयाँ पार्टी बनाउन सक्ने चर्चासमेत चलिरहेको छ । भनिँदै छ, राप्रपाको संसदीय दल र केन्द्रीय समितिमा अहिले अध्यक्ष लिङदेन कमजोर छन् । जसले उनलाई अध्यक्ष बनाएको हो, उनीहरू नै टाढिएपछि पशुपति बलियो बन्दै गएको बताइन्छ । पशुपतिले चाहे ५१ प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउन सक्ने अवस्था रहेको राप्रपाका नेता बताउँछन् । अर्को रमाइलोचाहिँ, राप्रपाको विधानमा १९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । तर, अहिले एक हजारको हाराहारीमा केन्द्रीय सदस्य पद बाँडिएको छ । रवीन्द्र मिश्रसहित उनीसँग आएको टोली निर्वाचन आयोगले नचिन्ने सदस्य हुन् । 

अर्कोतिर, राजावादीले नै दशैं र तिहारको बीचमा प्रचण्ड सरकार ढल्ने हल्ला चलाइरहेका छन्् । यो सरकार ढालेर कांग्रेस र एमाले मिलेको अवस्थामा सरकारमा जान सहज हुने भएकाले लिङदेनहरूबाटै त्यस्तो हल्ला चलाइएको भनिंदै छ । कोशीमा सरकार बनाउने अन्तिम विकल्पअनुरूप प्रदेश प्रमुखले दिएको २६ गतेको समयसीमाभित्र राप्रपाले गर्ने निर्णयबाट सबै कुराको अन्तिम पटाक्षेप हुनेछ । कथं कोशीमा राप्रपाले कांग्रेस वा गठबन्धनलाई सहयोग गरेन भने मध्यावधिमा जानसक्छ । यदि उसले गठबन्धनलाई सघाएको खण्डमा संघमा पनि दुइटा मन्त्री लिएर सरकारमा जाने सम्भावना देखिन्छ । त्यसो हुँदा उपप्रधानमन्त्री भैसकेका लिङदेन मन्त्रीमा झरेर पशुपतिलाई उप बनाई आन्तरिक लफडा शान्त पार्ने सम्भावना पनि राप्रपाका नेताले देखेका छन् ।

 

टिप्पणीहरू