यौन हिंसा गर्ने सरकारी इञ्जिनियरलाई थुन्ने कि छोड्ने,आज छ पेशी

यौन हिंसा गर्ने सरकारी इञ्जिनियरलाई थुन्ने कि छोड्ने,आज छ पेशी
सुन्नुहोस्

सरकारी इञ्जिनियर हरिकुमार पोखरेलले हालेको रिट निवेदनउपर उच्च अदालतमा आज सुनुवाई हुँदैछ ।  न्यायाधीशद्धय राजेन्द्र खरेल र रमेशराज पोखरेलको इजलासमा पेशी चढेको छ । 

उक्त इजलासमा रिट पेशी सूचीको दुई नम्बरमा परेको छ । जबरजस्ती करणीको अभियोगमा पुर्पक्षका लागि काठमाण्डौ जिल्ला अदालतबाट जेल चलान भएका पोखरेल बाहिरै बसेर मुध्दा लड्न पाऊँ भन्दै उच्च गएका थिए । 

उनी धरौटीमा छुट्न सक्ने  भएपछि आज पनि उच्च अदालतबाहिर अधिकारकर्मीहरुले धर्ना दिएका छन् । ‘भित्रभित्रै चलखेल भइसकेकाले हरिकुमार निस्किने सम्भावना छ । उनको दाइ नै न्यायाधीश छन् । नाताकै कारण छुट्न सक्ने हुनाले जनदबाबमूलक धर्ना थालिएको छ’, स्रोतले भन्यो । 

घरायसी काममा सघाउने युवतीमाथि यौन शोषण गरेको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेलले धरौटीमा छुट्ने प्रयास गरिरहेका छन् । 

गत हप्ता नै उनलाई निकाल्न चलखेल भएको कुरा बाहिर आएपछि माइतीघर मण्डला र उच्च अदालतबाहिर महिला अधिकारकर्मीसहितको टोलीले आन्दोलन गरेका थिए । जसका कारण उनको अधिवक्ताले सुनुवाई रोके । 

निर्देशक पोखरेललाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले गत भदौमा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध पोखरेलले उच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्  ।

टिप्पणीहरू