ग्राउण्डेड जहाज परीक्षण नै नगरी आकाशमा

ग्राउण्डेड जहाज परीक्षण नै नगरी आकाशमा
सुन्नुहोस्

नेपाल धेरै नै हवाई दुर्घटना हुने मुलुकमध्येमा पर्छ । पटक–पटक विमान दुर्घटनाले अन्तर्राष्ट्रिय स्तरसम्म हाम्रो हवाई यात्रा असुरक्षित रहेको सन्देश दिएको छ । तर, यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुन सकेको छैन । 

असोज १२ गते श्री एयरलायन्सको जहाजमा देखिएको समस्या यस्तै लापरवाहीको एउटा गतिलो उदाहरण हो । श्रीको एसएचए १६०१ नम्बरको जहाज माउण्टेन फ्लाइटमा काठमाडौंबाट गन्तव्यतर्फ उडेको केही बेरमै बायाँतर्फको इञ्जिनबाट इन्धन चुहिएको थियो । 

त्यसपछि जहाजलाई करिब आधा घण्टा आकाशमा घुमाई इन्धन खाली गराएर बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइयो । श्रीले सो दिन सबै उडानसमेत स्थगित गरेको थियो । जहाजको प्राविधिक परीक्षण गर्न १७ वटा उडान स्थगित गरेको श्रीको जहाजहरूमा पछिल्लो समय एकपछि अर्को प्राविधिक समस्या देखिएका छन् । 

स्रोतका अनुसार सो जहाज एक वर्षदेखि ग्राउण्डेड थियो । थन्किएर बसेको जहाजलाई प्राविधिक परीक्षणबिना उडाउँदा सो दिन ठूलो क्षति व्यहोर्नुपर्ने हुनसक्थ्यो । मर्मत नगरिकन राखेको जहाजमा ४२ जना यात्रु थिए । प्राधिकरणकै मिलेमतोमा बिना टेष्ट फ्लाइट व्यवसायिक उडान गर्न दिइएको स्रोतको दाबी छ । 

यता, श्री एयरलायन्सले उक्त जहाज ग्राउण्डेड गरेर राखिएको कुरा झुठ भएको दाबी गरेको छ । जहाज सुचारु अवस्थामा रहेको श्रीका एक कर्मचारीले बताए । उनका अनुसार नियमित प्राविधिक चेकजाँच गरिरहेको जहाजमा सो दिन अचानक इन्धन चुहिएको हो । हाल मर्मत भइरहेको उनले जानकारी दिए ।

‘इन्धन चुहिएको जहाजले नियमित उडान गरिरहेको थियो । हामीले प्राविधिक चेकजाँच पनि गरिराखेका छौं । त्यो दिन एकाएक इन्धन चुहिएपछि फर्काइएको हो । अहिले मर्मत भइरहेको छ । जहाज ग्राउण्डेड गरिएको भन्ने कुरा झुठ हो’, ती कर्मचारीले भने । 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जहाजबाट इन्धन चुहिएको विषयमा कुनै पनि जानकारी नभएको बताए । इन्जिनबाट इन्धन चुहिएर जहाज फर्काइएकोबारे प्राधिकरणलाई कुनै सूचना नआएको उनको भनाइ छ । ‘इन्धन चुहिएको त थाहा छैन, ग्राउण्डेड भएको के थाहा हुनु । तैपनि म बुझ्छु’, उनले भने ।
 

टिप्पणीहरू