सुन तस्करीमा भारतमा पक्राउ, नेपालमा नक्कली नागरिकता

सुन तस्करीमा भारतमा पक्राउ, नेपालमा नक्कली नागरिकता
सुन्नुहोस्

उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्ला सुन तस्करी प्रकरणको अनुसन्धान शुरु भएदेखि नै चर्चामा छ । तत्कालीन प्रजिअ कृष्ण राउत (हालका सञ्चार सचिव) ले जिल्लाबाट अनुसूची विनाका नागरिकता बिक्री भएको गोप्य सूचनाका आधारमा गरेको अनुसन्धानले पूर्णता पाउन सकेकै छैन । 

३ सय ५० वटा त्यस्ता नागरिकता बिक्री भएको प्रतिवेदन तत्कालीन गृहसचिव तथा हालका अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईकोमा पुगेकामा खासै कारवाही भएन । पछि सुन तस्करीमा त्यही बेला बिक्री गरिएका नागरिकता प्रयोग भएको फेला परेको छ । फेला परेका ६ जना विदेशीले काभ्रेबाट नागरिकता र राहदानी लिएको तथ्य भेटिए पनि सरकारले नागरिकता रद्द गरेको छैन । दावा छिरिङ्ग भनिने निमा तामाङको नागरिकता रद्दका लागि जिल्ला प्रशासन कार्यालयले भदौ २२ गते नै सिफारिस गृह मन्त्रालयमा पठाएको हो । 

हालै उमेश योञ्जनका नाममा जारी भएको राहदानी नम्बर १२२३२२८७ हो तर यिनी काभ्रेका हैनन् । राहदानीमा काभ्रे जन्मस्थान राखिएको छ । नागरिकता नम्बर ३०३०९१–१७५४ उल्लेख छ । उक्त नागरिकता गृह मन्त्रालयको रेकर्डमा समेत छैन । राहदानी बनाउँदा नागरिकता भिडाउनुपर्ने व्यवस्था भए पनि उनका नाममा त्यस्तो भएको देखिएन । ११ फेब्रुअरी १९८४ अर्थात् २०४० माघ २८ गते शनिबार जन्ममिति राखिएका उमेश २०२१ अप्रिल २६ मा धुलिखेलबाट जारी गरिएको राहदानीका आधारमा विभिन्न देश जाने–आउने गरेका थिए । 

उमेशले लिएको राहदानी र दावाको राहदानी एउटै अवधिमा जारी भएको देखिन्छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गरिनुअघि तस्करहरूले धमाधम राहदानी र नागरिकता खरिद गरेका थिए । दावाले बयानमा समेत २ लाखदेखि ५ लाखसम्म रूपैयाँ तिरेर घरमै नागरिकता पाउने गरेको बयान दिएका छन् । २०४३ साल असोज ९ गतेको जन्ममिति र काभ्रेपलाञ्चोक ठेगाना राख्ने सोनाम लामा काभ्रेका हैनन् तर उनको राहदानी २०७८ पुस २१ गते काभ्रेबाटै जारी भएको छ । राहदानी र नागरिकता जारी गर्दाका बखत पेश गरिएका कुनै कागजात जिल्ला प्रशासन कार्यालयको रेकर्डमा छैनन् । उनको नाममा जारी भएको नागरिकता जिल्ला प्रशासन कार्यालय काभ्रेको अभिलेखमा अर्कै व्यक्तिका नाममा देखिएको छ । रामेछाप माइती भई काभ्रेको साविक भीमखोरी गाविस घर भएकी एक महिलाका नाममा ०६३ सालमा जारी भएको नागरिकता नम्बर सोनामले बनाएको राहदानीमा प्रयोग भएको छ । 

नक्कली नागरिकताधारी राम लामाको जन्म २०५३ बैशाख १५ गते राखिएको छ । ठेगाना प्रष्ट छैन । १२५८९४५७ नम्बरको राहदानी लिएका उनको नागरिकता नम्बर ३०३०४१–२२५४ हो । यो जिल्लाको अभिलेखमा नक्कली हो । यस्तो खालको नम्बर काभ्रेबाट जारी भएको नागरिकतामा छैन । सोनामको राहादानी नम्बर १२५८९४५६ र नागरिकता नम्बर ३०३०४२–२२५४ हो । जन्ममिति २०५३ भदौ ७ राखिएको छ । नागरिकता र राहदानीको नम्बर सँगै छ । उनीहरू दुबै जना नेपाली हैनन् । प्रहरीको रेकर्डमा भने सुन तस्कर दावा, सोनाम र रामको मात्रै नागरिकता फेला परेको थियो । अनुसन्धानमा पासाङ र तेञ्जिङ पनि फेला परेका छन् । तेञ्जिङको राहदानी नम्बर ११८८०३१ हो । २०२०–२–२४ अथार्त २०७६ फागुन १२ गते काभ्रेपलाञ्चोक जिल्लाबाट लिएको राहदानीमा २०३९ जेठ २४ गते जन्ममिति राखिएको छ । त्यसमा काभ्रेपलाञ्चोक जिल्ला जन्म स्थान उल्लेख छ । विदेशीलाई नागरिकता बिक्री प्रकरणमा राजनीतिक नेतृत्वको संलग्नता देखिएको छ । यस प्रकरणमा कर्मचारीको संख्या पनि थपिँदै गएको छ । 

अनुसन्धानका लागि सिफारिस भएका कर्मचारीको विवरण 

प्रमुख जिल्ला अधिकारी– शिवप्रसाद सिंखडा (हाल : सेवा निवृत्त)
अधिकृत – भूपेन्द्र पाण्डेय (हालः प्रमुख प्रशासकीय अधिकृत, रूपन्देही)

अधिकृत – झपेन्द्रराज खरेल (हालः सूचना अधिकारी, मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक)
नायव सुब्बा – रामचन्द्र अर्याल (हालः सुब्बा, यातायात कार्यालय, गुर्जुधारा)
कम्प्युटर अपरेटर – हिराकाजी तामाङ (हालः वडा सचिव, चौरीदेउराली गाउँपालिका काभ्रे)
नायव सुब्बा – रमेश नेपाल, हाल अन्यत्र कार्यालयमा कार्यरत
कम्प्युटर अपरेटर (करार, हाल छाडिसकेको)– गोमा पराजुली
कार्यालय सहयोगी– विष्णु गौतम (हाल सेवा निवृत्त) 

– मोतीराम तिमल्सिना
 

टिप्पणीहरू