जलहरी काण्डको छानबिन गर्दागर्दै जसले गुमाए ज्यान

जलहरी काण्डको छानबिन गर्दागर्दै जसले गुमाए ज्यान

गत बिहीबार राति घरमा सुविस्तासङ्ग सुतेका सहसचिव शेरजंग कार्की अस्ति बिहान बेडमा सुतेको अवस्थामा मृत भेटिएका छन् । कानुन मन्त्रालयका वरिष्ठ सहसचिव कार्की बबरमहलस्थित घरमा बितेका हुन् ।  

ओखलढुंगा पुर्ख्यौली थलो रहेका उनी केही समय अघिसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । हालै मात्र राष्ट्रपति कार्यालयमा सरुवा भएका हुन् । बिहीबार राति सुतेका कार्की शुक्रबार बिहान ७ बजेसम्म नउठेपछि वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले गाडीमा राखेर नर्भिक अस्पताल पुर्याएको बताइन्छ । आचार्य र कार्की छिमेकी हुन् । 

अस्पताल पुर्याइएलगत्तै उनलाई मृत घोषणा गरिएको थियो । विभिन्न समारोहमा सहभागी हुँदा ‘सोसल ड्रिंकर’ भए पनि ५२ वर्षे कार्की स्वस्थ देखिन्थे । उनको निधनमा हृदयाघातको सम्भावना औंल्याइएको छ ।

हिजो पशुपतिमा अन्त्येष्टि गरिएका स्वर्गीय कार्की पशुपतिकै जलहरी काण्ड छानबिनमा संलग्न थिए । झण्डै १० किलो सुनको हिसाब गायब भएको भनिएको उक्त काण्डको छानबिनमा सहभागी भएकाले कार्कीले तनावमा दैनिकी बिताउँदै आएका थिए भन्नेहरु पनि छन् ।

टिप्पणीहरू