पत्रकारिताको भोकले जुन युवतीलाई पागल बनायो

पत्रकारिताको भोकले जुन युवतीलाई पागल बनायो

‘भिक्टोरियन युग’को सबैभन्दा चर्चित खोज पत्रकारमध्येकी थिइन्— नेल्ली ब्लाई । उनी ‘मूर्ख पत्रकार’ थिइन्, ‘जासुस युवती’ । नेल्ली ब्लाई पत्रकारिताको ब्राण्ड हुन् । विद्रोही थिइन्— ‘विभेद, बेथिति र भ्रष्टाचार’विरूद्ध लेखिरहन्थिन् । नेल्ली मर्नुअघिसम्म सेलिब्रिटी थिइन् । 

सन् १८८७ तिर भने उम्दा रिपोर्टरको रुपमा उदाइन् । अनि, सन् १९११ सम्म सनसनीपूर्ण जीवनचक्रमा रमाइरहिन् । उन्नाइसौँ शताब्दीको अन्तिम—दशकतिर बेस्सरी चर्चा कमाइन् भने अलिकति बदनामी पनि हात लाग्यो उनलाई । उनीबारे पत्रकारिताका अनेकौँ मान्यता छन् । 

२३ वर्षको कलिलो उमेरमै नेल्लीले ‘अमेरिकी संसार’ हल्लाइन् । ‘ब्ल्याकवेल टापु’को क्रूर—कथामार्फत् खोज पत्रकारिताको जग बसालिन् । झुपडीको कथा लेखिन् । कारखाना र अस्पतालभित्रको कथा लेखिन् । वेश्यालयको कहालीलाग्दो व्यथा लेखिन् । आप्रवासी महिलामाथि प्रहरीको दुव्र्यवहार लेखिन् । 

नेल्लीले ‘ब्ल्याकवेल टापुको स्टोरी ब्रेक’ गर्नुअघि बिरामीहरु अकालमै ज्यान गुमाउँथे । जिउँदै मरिरहेका हुन्थे । डरलाग्दो थियो— न्युयोर्कका अधिकारी, डाक्टर र नर्सहरूको रबैया । मानसिक बिमारीलाई चर्को यातना दिइन्थ्यो । कुटपिट गरिन्थ्यो ।

नेल्ली संकुचित समाजभन्दा उपल्लो तलमा थिइन् । मनभित्रको कुण्ठा र आक्रोशलाई अक्षरमार्फत बगाउँथिन् । ‘इन्भेष्टिगेटिभ’ र ‘पपुलिस्ट’ दुबै शीर्षकमा रमाइन् ।  

‘ब्ल्याकवेल टापु’बाट फर्केपछि नेल्लीले ‘द न्युयोर्क वल्र्ड’मा छापेको समाचार— आफ्नो भोगाइ र क्रूरताको दस्तावेजीकरण थियो । उनी सनसनीपूर्ण समाचार लेखिरहन्थिन् । 

जीवनकालमा राजनीतिज्ञको अन्तर्वार्ता लिइन् । हत्याराको अन्तर्वार्ता लिइन् । आफूलाई खतरासँग जुधाइन् । विवादित भइन् । प्रशंसा र आलोचना खेपिन् । तर, वादविवादमा उत्रिनुको साटो सन् १८८९ मा विश्व भ्रमणमा निस्किइन् । 

नेल्ली संकुचित समाजभन्दा उपल्लो तलमा थिइन् । मनभित्रको कुण्ठा र आक्रोशलाई अक्षरमार्फत बगाउँथिन् । ‘इन्भेष्टिगेटिभ’ र ‘पपुलिस्ट’ दुबै शीर्षकमा रमाइन् । १६ सय महिलालाई ‘ब्ल्याकवेल्स आइरल्याण्ड’को नर्कबाट जोगाइन् । ७२ दिनमा विश्व—भ्रमण गरेर ‘जुल्स भेर्न’को रेकर्ड तोडिन् । 

सन् १८७० देखि सन् १९०० अखबारको युग थियो । अमेरिकीहरू खोजीखोजी पत्रपत्रिका पढ्थे । नेल्लीका दर्जनौँ नाम छन्— ‘नेल्ली ब्लाई’ बन्नुअघि ‘लोन्ली अर्फन गर्ल’ थिइन् । त्यसअघि ‘एलिजाबेथ जेन कोचरन’ थिइन् । बा—आमा उनलाई ‘गुलाबी’ भनेर बोलाउँथे । 

नेल्ली हिजोआज हुन्थिन् भने टिकटकमा छाइरहेकी हुन्थिन् । टेलिभिजनमा समाचार भट्याइरहेकी हुन्थिन् । अनलाइनमा कथा लेखिरहेकी हुन्थिन् । फेसबुक वा टिकटकको लाइभमा भेटिन्थिन् । तर उनी अँध्यारो युगमा जन्मिइन् । र, कहिल्यै नमेटिनेगरी इतिहासमा आफ्नो नाम ‘नेल्ली ब्लाई’ लेखेर गइन् । 

०००
पश्चिमी पेन्सिलभेनियास्थित ‘कोचरन्स मिल्स’का जमिनदार, मुखिया र न्यायाधीश थिए— माइकल कोचरन । उनी आर्मस्ट्रङ काउन्टीका न्यायाधीश थिए । गाउँमा दुईतले घर थियो । एउटा गाई, घोडा र दुइटा कुकुर थिए । उनको परिवार कामदारबाट मालिक बनेको थियो ।

माइकलकै परिवारले बसालेको कोचरन्स मिल्स गाउँ । परिवार ठूलो थियो, १५ जना छोराछोरीमध्ये पहिलो श्रीमतीबाट १० जना । दोस्रो विवाह गरे । ५ जना छोराछोरी थपिए । दोस्रो श्रीमतीको तेस्रो सन्तानका रुपमा सन् १८६४ मा जन्मिइन्— एलिजाबेथ जेन कोचरन ।

उनी ‘विद्रोही छोरी’ थिइन् । एलिजाबेथ ६ वर्षको हुँदा बुवा बिते । परिवार बाँडियो । बुवाको मृत्युपछि ‘एउटा धनी र जमिनदार’को परिवार कमजोर हुँदै गयो ।
एक वर्षपछि एलिजाबेथकी आमाले घर—जग्गा लिलाम गर्नुपर्‍याे । आर्थिक संकट गहिरिँदै जाँदा दुःख खेप्नुपर्‍याे । एकैपल्ट सडकछाप बने न्यायाधीशका सन्तानहरू ।

बुवा बितेपछि एलिजाबेथकी आमा पोइल गइन् । झट्केलो बुवा क्रूर थियो । रक्सी पिउँथ्यो, आमालाई पिट्थ्यो । अन्ततः छोरीको आग्रहमा अदालत धाइन्, दोस्रो श्रीमान्बाट उन्मुक्ति पाइन् । 

एलिजाबेथ स्वतन्त्रताको पक्षपाती थिइन् । आमाको स्वतन्त्रता खोज्दै अदालतसम्म बयान दिन गइन् । आमालाई गरिबीले थिच्यो । सन्तान हुर्काउनै हम्मेहम्मे पर्‍याे । 

एलिजाबेथ अखबार पढ्थिन् । परिवारको अवस्था नाजुक हुँदा स्कूल जान सकिनन् । आमासँग बस्थिन्, बाँदरसित खेल्थिन् । आमाको खुशी र आफ्नो भविष्यबारे चिन्तित थिइन् । 

पढाइ राम्रो थियो, इण्डियाना नर्मल स्कूलमा भर्ना भइन् । तर, शुल्क तिर्ने पैसा नहुँदा निकालिइन् । एलिजाबेथकी आमा कोचरन्स मिल्सबाट काम खोज्दै पिट्सबर्ग गइन् । १५ वर्षको उमेरमा उनी पनि आमाकै पछि लागिन् । पिट्सवर्ग पुगेपछि सात वर्षभित्र घर बनाउने सपना देखिन् । बोर्डिङ स्कूलमा आमालाई सघाइन् । 

आमाको काम नहुँदा अखबार पढेर बस्थिन् । लेखनमा रुचि थियो । फुटकर देखेका—भोगेका कथा लेख्थिन्, डायरीभित्रै थन्क्याउँथिन् । त्यतिखेरको अमेरिकी समाज रुढीवादी थियो । महिलालाई हेपेर विचारहरू लेख्थे अखबार । महिलाहरू सिलाइकटाइ र चुलोचौकोमै सीमित हुन्थे । 

अखबारका स्तम्भहरू पढेर रिसाउँथिन्— एलिजाबेथ । किनकि— त्यहाँ महिलालाई हेपिएको हुन्थ्यो । सहपाठीलाई अखबारका पाना देखाउँदै सम्पादक र स्तम्भकारलाई गाली गर्थिन् उनी । 

सन् १८८५ मा स्थानीय पत्रिका ‘पिट्सबर्ग डिस्प्याच’मा छापिएको एउटा लेख पढिन् । उनी असहमत भइन् । निकै रिसाइन् । लेख थियो— ‘महिलाहरू पुरुषका सहयोगी हुन् ।’ महिलालाई मतदान गर्ने अधिकार थिएन । घरबाहिर निस्केर जागिर गर्ने कल्पनासमेत थिएन । 

एलिजाबेथले लेख पढेपछि सम्पादकलाई पत्र लेखी पठाइन् तर आफ्नो नाम लुकाएर । एलिजाबेथको पत्रले सम्पादक जर्ज ए. म्याडेन तरुन्तै प्रभावित भए । पाठक—पत्र छापिदिए । लेखकलाई भेट्न चाहेको सूचना पठाए । 

एलिजाबेथ खुशी हुँदै अखबारको कार्यालयमा गइन् । सम्पादकले उनलाई ‘पिट्सबर्ग डिस्प्याच’ पत्रिकामा काम दिए । तर नाम भने फेरिदिए । एलिजाबेथको पहिलो लेखमा नाम थियो— ‘लोन्ली अर्फन गर्ल’ । सम्पादकको सल्लाहमा नाम फेरियो— नेल्ली ब्लाई । 

०००
अखबारको भित्रिकुनाबाट पहिलो पृष्ठमा छाउन थालिन्— नेल्ली ब्लाई । नेल्ली युवती शोषित भएको समाचारसहित अखबारको कार्यालय पुगिन्— एकदिन । समाचार राम्रो थियो तर सम्पादक नछाप्ने तहमा पुगे । कथा पीडित युवतीहरूको थियो । कारखाना धनीहरूले चलाएका थिए । 

अखबारका सम्पादक शहरिया कुलीन वर्गलाई रिसाउन दिन चाहँदैनथे । उनी नेल्लीसित रिसाएनन् तर अत्याचारको समाचार छाप्न चाहेनन् । लगत्तै, उनलाई अर्को पृष्ठको जिम्मेवारी सुम्पिइयो— जहाँ महिलाका मुद्दालाई किनारामा पारियो । 

काम गर्दै जाँदा नेल्ली विदेशी संवाददाता बन्न इच्छुक देखिइन् । मेक्सिको जाने निधो गरिन्, एउटा नयाँ बाटो पत्ता लगाइन् । मेक्सिकन जनताको जीवनशैलीबारे चासो राखिन् । सम्पादक राजी भए । उनी मेक्सिको गइन्, राम्रो रिपोर्टिङ गरिन् । सिरिजमा कथाहरू छापिन् । 

नेल्ली मेक्किोको बसाइ सकाएर पिट्सबर्ग फर्किइन् तर यत्तिमै सन्तुष्ट थिइनन् । सम्पादकले हेपिरहेका थिए, पहिलेभन्दा कम स्थान दिएका थिए । उनी दिक्क भइन्, नेल्लीलाई लाग्थ्यो— ‘सानो शहरमा साँघुरो सोच छ ।’

‘हेपिएका महिलाका कथा दबाउँदा’ बेचैन हुन्थिन् । सोचिन्— न्युयोर्क शहरको विशाल अखबार उद्योगले महिला पत्रकारलाई राम्रो काम दिनेछ । यसर्थ उनी न्युयोर्कतिर लागिन् । र, सम्पादकलाई सन्देश दिइन्— न्युयोर्क जाँदै छु । 

०००

नेल्ली ब्लाई सन् १८८७ मा सपनाको शहर न्युयोर्क पुगिन् तर कसैले काम दिएनन् । लगातार ६ महिना न्युयोर्कका अखबारको ढोका ढक्ढक्याइन् । कुनै पनि अखबारका मालिक र सम्पादकले पत्याएनन् । उनी ‘पिट्सवर्ग डिस्प्याच’ मा रिपोर्टिङ गर्दा उम्दा पत्रकार थिइन् । तर, नेल्लीलाई न्युयोर्कले ‘पत्रकार’ ठानेन । 

उनी ‘द न्युयोर्क मेल एण्ड एक्सप्रेस’, ‘द न्युयोर्क हेराल्ड’ र ‘द न्युयोर्क सन’को दैलोमा पुगिन् । नाम चलेका मिडिया हाउसले महिला पत्रकारलाई ‘पत्रकार’ देखेनन् । 

नेल्लीले अखबारमा जागिर पाइनन्, बिचलित पनि भइनन् । दैलो धाउँदा—धाउँदा ‘द न्युयोर्क वल्र्ड’मा काम पाइन् । त्यो अखबारका मालिक थिए— जोसेफ पुलित्जर । अनि, सम्पादक टोनी माक्रेन । 
अखबारले सनसनीपूर्ण समाचार मात्र खोज्थ्यो । र, नेल्लीलाई भनियो— ‘ब्ल्याकवेल टापुको स्थलगत रिपोर्टिङ गर ।’ त्यो टापु पागलहरूको उपचार केन्द्र थियो । 

नेल्ली पुलित्जर र टोनीबाट प्रभावित भइन्, किनकि उनी कथा लेख्ने पत्रकार थिइन् । उनलाई पत्रकारितामै रमाउनु थियो । अखबार आलोचित थियो । सनसनीपूर्ण समाचार छाप्थ्यो । तर, हिम्मत हारिनन् । टापु जाने निधो गरिन् । सद्दे मानिस टापुमा जान सक्दैनथे । अनि, बिमारीहरू सञ्चो भएर घर फर्किंदैनथे । 

०००

कोठामा पुगेर ऐनाअघि उभिइन् । र, ‘पागल महिला’को नक्कल गरिन् । किनकि उनलाई रिपोर्टिङका लागि ‘पागल’ बन्नुथियो । पत्रकारिताको भोकले २३ वर्षीया युवतीलाई ‘पागल’ बनायो । उनी कोठाबाट निस्किएर ‘महिलाकेन्द्र’मा पुगिन् । जहाँ दर्जनौँ महिलाहरू आश्रय लिइरहेका थिए । उनी पनि त्यहीँ मिसिइन्, ‘पागल’ बन्ने उपाय खोजिन् । उनलाई कसैले चिन्दैनथे, नाम बदलेर गएकी थिइन् । 

महिलासामु अस्वाभाविक हर्कत देखाएपछि अस्पताल लगियो । अनि, चिकित्सकको दाबी थियो, ‘उनी पनि मानसिक बिमारी हुन्, ब्ल्याकवेल टापु लगियोस् ।’
नेल्लीलाई पहरेदार र नर्ससहित नदीले घेरिएको ‘उपचार—केन्द्र’ लगियो । उनी डराउँदै—डराउँदै त्यहाँ गइन् । पागलपनको नाटक गर्नु चानचुने विषय थिएन । तैपनि उनले गरिछाडिन् । 

पागलखाना गएकै दिन नेल्लीले पर्खालभित्र डरलाग्दो दृश्य देखिन् । उनलाई टापुको महिला—वार्डमा राखियो । पागलपनको कल्पित भूमिका कम्ती सकसपूर्ण थिएन । उनले चारैतिर हेरिन्, बेस्सरी हल्लिइन् । ‘पागल—महिला’हरूको अनौठो भीड थियो । नराम्रो कपडा लगाएका उनीहरूले नेल्लीलाई हेरिरहे । उनी १६ सय पागल महिलासित बसिन् । 

अमानवीय व्यवहारको मारमा परिन् उनी । टाउकोमा हिउँजस्तै चिसो पानी खन्याइयो । काठको बेञ्चमा घण्टौँ सीधा बस्न भनियो । सुत्न खोज्दा चिमोटियो । सबैलाई पालैपालो झाडुले कुटियो । नराम्रो खाना दिइयो । नुहाइसकेपछि यातना भोगिन् । 

नेल्लीलाई भयानक त्रासले घेर्दा पनि ‘रिपोर्टिङ’को भोकले सताइरह्यो । उनी टापुमा पागल भएरै बसिन् । पागल—महिलाको मन जितिन् । पागल महिलासितै सुतिन् । 

थुनिएर बस्दा नेल्लीले दर्जनौँ महिलासित कुराकानी गरिन् । धेरैजसो त आप्रवासी महिला थिए, भाषा बुझ्दैनथे । उनीहरू भाषाका कारण पीडा सुनाउन सक्दैनथे । तर, उनीहरूको हैरानी आँखाबाट छल्किने आँशुले बताउँथे । 

बिमारीका लागि नर्क थियो— ‘ब्ल्याकवेल टापु’ । उनले पागलखानामा दश दिन बिताइन् । ‘द न्युयोर्क वल्र्ड’को पहलमा ‘जेल’ बाहिर निस्किइन् । नेल्लीले ‘स्टन्ट जर्नालिज्म’को भेलमा डुबुल्की मारिन् । ‘इन्भेष्टिगेटिभ जर्नालिस्ट’ भइन् । उनी टापुमा सनसनीपूर्ण खुलासा गर्ने उद्देश्यले गएकी थिइनन् । तर सनसनीपूर्ण कथा नै भेटिन् । 

०००

पागलखानाबाट फर्केपछि नेल्लीका एक दर्जन कथा छापिए । उनले शारीरिक र मानसिक दुव्र्यवहारको कहालीलाग्दो कथा संसारसामु बाँडिन् । पालेपालो उपचारकेन्द्रका कथाहरू छापिन् । उनी नबाँचे पनि त्यो टापुको ‘रिपोर्टिङ’ बाँचिरहेको छ । 

नेल्लीले ‘टेन डेज इन अ म्याडहाउस’ पुस्तक निकालिन् । आफूले भोगेका अनुभवहरूलाई इमानदारीपूर्वक अखबार र पुस्तकमार्फत् वर्णन गरिन् । दश दिनको ‘ब्ल्याकवेल टापु’को बसाइपछि अमेरिकी संसारमा एकाएक छाइन् । 

न्युयोर्क शहरको कुनाकुनामा सुनिइन् उनी । नेल्लीको भोगाइपछि न्युयोर्कका डाक्टर र नर्सहरूले विश्वाससमेत गुमाए । ‘टेन डेज इन अ म्याडहाउस’ खोज पत्रकारिताको एउटा युग बन्यो । नेल्ली ब्लाईको नाम त्यतिखेर हर—कोहीको जिब्रोको टुप्पोमा थियो । 

नेल्लीको कामले क्रूर र अमानवीय अमेरिकी सार्वजनिक नीति फेरियो । अखबारले चर्चा कमायो । उनको रिपोर्टिङले विश्व पत्रकारिता जगतमा नयाँ इँटा थप्यो । 
आफूसित दुःख भोग्ने अभागी महिलाहरूलाई बाहिर निकाल्न नपाउँदा दुःखी थिइन् उनी । न्युयोर्क शहरले ‘न्युयोर्क वल्र्ड’को समाचारपछि बिरामीहरूको हेरचाहका लागि लाखौँ रकम छुट्यायो । र, न्युयोर्कले मानसिक बिमारीलाई हेर्ने नजर बदल्यो । खोजी पत्रकारिताले परिवर्तन ल्याएको थाहा पाउँदा उनी सन्तुष्ट थिइन् । 

०००

खोज पत्रकारिताको भोक नमेटिँदै नेल्लीलाई ‘विश्व—रेकर्ड’ तोड्ने हुटहुटी जाग्यो । उनी सन् १८८९ नोभेम्बर १४ को दिन विश्व भ्रमणमा निस्किइन् । ७२ दिन ६ घण्टा १० मिनेटमा विश्वलाई एक फन्को लगाइन् । 

नेल्ली गाडी, मोटरसाइकल, पानी—जहाज, रिक्सा र रेलमा घुमेर न्युजर्सी फर्किइन् । उनले डुलिहिँड्दा देखे—भोगेका कथा—कहानी अखबार छापिन् । उनले ‘अराउण्ड द वल्र्ड इन सेभेन्टी टु डेज’ पुस्तक निकालिन् । बाँचुन्जेल विवादै विवादको बाटो हिँडिन्, पत्रकारितामै रहिन् । खासगरी लोकप्रियताले लखेट्दा । 
उनी आफूले भेटेका कथालाई निखारेर लेख्थिन् । नेल्ली स्टोरी लेख्नुअघि— स्रोतसँग घण्टौँ गफिन्थिन् । अन्तर्वार्ता गर्थिन् । स्थलगत रिपोर्टिङ गर्थिन् । स्थान र अवस्थाको चित्रण गर्थिन् । अनि— चिया पिउँदै एकान्तमा बसेर लेख्न थाल्थिन् । 

नेल्लीको पत्रकारिता अभावै—अभाव र चुनौतीले थिचिएको थियो । तैपनि, सफल पत्रकार भइन् । उनका कतिपय रोचक किस्सा छन्– ३० वर्षको उमेरमा ७० वर्षीया करोडपति रोबर्ट सिमनसँग विवाह गरिन् । 

वृद्ध श्रीमानलाई सघाउँदै, पत्रकारितामा रमाइन् । पत्रकारिताबाट निष्क्रिय भइन् । बिहे गरेको १० वर्षपछि सन् १९०४ मा श्रीमान् बिते । उनी श्रीमान्को कम्पनी सम्हाल्दै बरालिइन् । अखबारमा स्तम्भ लेखिन् । 

अमेरिकी अनाथहरूको ‘काख’ बनिन् उनी । समाजसेवामा खटिइन् । सहयोगीहरूको भरपर्दा श्रीमान्ले जोगाइदिएको कम्पनी डुब्यो र अष्ट्रिया गइन् । फेरि पुस्तक लेख्दै पत्रकारितामै फर्किइन् । 

सन् १९११ को महिला मताधिकार परेड र पहिलो विश्वयुद्धको दौरान रिपोर्टिङमै खटिएकी थिइन् । सन् १९१९ तिर उनी ‘न्युयोर्क इभिनिङ जर्नल’मा कार्यरत थिइन् । २३ वर्षको उमेरमा थालेको खोज पत्रकारिता बिट मार्दै ५७ वर्षको उमेरमा निमोनियाका कारण अस्ताइन् । 
 

टिप्पणीहरू