तीजको दरमा स्थानीय तहको लाखौं खर्च

तीजको दरमा स्थानीय तहको लाखौं खर्च

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत जोडतोडका साथ भाषण गर्दै थिए । मञ्चमा बसेर कान ठाडो पार्दै थिए वागमति प्रदेशका वन तथा भूसंरक्षणमन्त्री मसिना खड्का । छेउमा थिए काँग्रेसका केन्द्रीय सदस्य विष्णु विक्रम थापा, प्रदेश सांसद कृष्णबहादुर तामाङलगायत सिन्धु काँग्रेसका गन्नेमान्ने भनिएकाहरु । राष्ट्रिय भाउजू उपमाद्वारा परिचित आरजु राणा प्रमुख अतिथिको रुपमा प्रचारप्रसार गरी तुलब्यानर तयार गरे पनि काँग्रेसभित्रकै किचलोको कारण अन्तिम समयमा उपस्थित हुन नसकेको गत साताको एउटा कार्यक्रमको दृष्य हो यो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका खोर्सानीबारीमा भएको यो कार्यक्रम झट्ट हेर्दा नेपाली काँग्रेसको आमसभा जस्तो देखिएपनि त्यो आमसभा भने थिएन । यद्यपि मञ्चमा काँग्रेसीहरु बाहेक अन्य पार्टीका चरोमुसो पनि थिएनन् । काँग्रेसीहरुकै बर्चस्व र लर्को मात्र देखिएको त्यो कार्यक्रम न नेपाली काँग्रेसले नै आयोजना गरेको थियो । 

बाह्रबिसे नगरपालिकाले आयोजना गरेको तीज विशेष साँस्कृतिक कार्यक्रमलाई नगरपालिका जस्तो स्वतन्त्र संस्थाले काँग्रेसकै आमसभा जतिक्कै बनाएपछि यसको आलोचना भएकै छ । यद्यपि त्योभन्दा पनि बढी त सरकारी रकमको दाइँ गर्दै विकास निर्माणमा खर्चिनुपर्ने बजेट अस्वस्थ र भद्दा कार्यक्रममा खर्च गरेपछि मेयर बालकृष्ण बस्नेतको उछितो नै काढ्न थालेका छन् । नगरपालिकाले दर खानकै लागि १० लाखको हाराहारीमा खर्च गरेको बताइन्छ । 

पछिल्ला वर्षमा तीज भड्किलो भयो, तीजमा मौलिकता हरायो भन्ने प्रशस्त जनगुनोसो सुन्न पाइन्छ । स्थानीय सरकारले मौलिक संस्कृतिलाई बढावा दिनुपर्ने हो । ती भनाई र गराईहरुलाई चिर्दै सुसंस्कृत पर्वका लागि उत्प्रेरित गर्नुपर्ने हो तर अचम्मलाग्दो कुरो त तीजको नाममा विकृति भित्र्याउन स्थानीय सरकार नै तल्लीन देखिए । जुन बाह्रबिसे नगरपालिकाद्वारा आयोजित तीज विशेष सांस्कृतिक कार्यक्रमलाई लिन सकिन्छ । 

नगरपालिकाले सभा नै गरेर तीज आउन तीन दिन अगावै दुनियाँलाई बोलाएर महिलाहरुलाई नाचको नाममा उफ्रिपाफ्री गर्न लगाए । दर खाने रातभन्दा दुई दिन अगावै दिउँसो नै दर खान दिए । सरकारी बजेटको चरम दुरुपयोग गर्दै अस्वस्थ तवरले तीज मनाएपछि यसको चौतफी बिरोध पनि भएको हो । जनताको रगत पसिनाको संकलन गर्दै बजेट जथाभावी दोहन गरेकोमा बाह्रबिसेका सोवितमान श्रेष्ठले आक्रोश व्यक्त गरे । उनले तीज आउनु एक महिना अगाडि होटल, पार्टी प्यालेसतिर तीज मनाएका  सम्भ्रान्तहरुले जस्तै स्थानीय सरकारले पनि तीज मनाउन थालेकोमा दुःख व्यक्त गरे ।

त्यसो त बाह्रबिसे नगरपालिकाले मात्र होइन, सरकारी रकमको दोहन गर्दै जिल्लाका चौतारा साँगाचोकगढी नगरपालिका, त्रिपुरा सुन्दरी, बलेफी गाउँपालिकालगायतले पनि आफ्नो गच्छेअनुसार दर खाने कार्यक्रम सम्पन्न गरे । चौतारा साँगाचोकगढी नगरपालिकाले साता दिन अगावै महिला सञ्जालमार्फत् दुई लाख सकाएर दर खाने कार्यक्रमको आयोजना गरेको बताइन्छ । तीज अगावै नाचगान गर्ने र दर खाने प्रवृत्तिमा दल र त्यसका भ्रातृ तथा भगिनी संगठन पनि अग्रपंक्तिमा देखिए । तीजको मर्म र त्यसको मौलिकतालाई धज्जी उडाउँदै गरिएका कार्यक्रमले संस्कृतिलाई संरक्षण हैन विकृतिलाई संस्थागत गरेको चौताराका रविन्द्र श्रेष्ठ बताउँछन् । तीजमा बढ्दो देखासिकी, मदिरापान, गरगहनाको प्रदर्शन र महिना दिनअघि देखि मनाउने चलनले तीजले हुनेखाने वर्गका मात्र प्रतिनिधित्व गर्ने खतरा बढेको उनको भनाई छ ।

टिप्पणीहरू