विप्लव यसरी बन्न पुगे प्रचण्डको बाध्यता

विप्लव यसरी बन्न पुगे प्रचण्डको बाध्यता
सुन्नुहोस्

माओवादी–आन्दोलनका ‘सुप्रिमो’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ समाजवादी मोर्चामार्फत नेत्रविक्रम चन्द ‘विप्लव’लाई मूलघरतिरै फर्काउन चाहन्छन् । ११ वर्षअघिको शान्तिप्रक्रियालगत्तै ‘क्रान्तिमाथि धोका भयो’ भन्दै भड्किएका विप्लव हिजोआज प्रचण्डसँग नजिकिएको प्रष्टै देखिन्छ । ‘पूर्वमाओवादीहरूको एकतालाई सकारात्मक रूपमा लिनुपर्छ । हामी कम्युनिष्ट र समाजवादी दलहरूबीच एउटा समाजवादी मोर्चा बन्दै छ । यो मोर्चाले देखाइरहेको बाटो मूलतः क्रान्तिकारी, वैज्ञानिक र दीर्घकालीन छ,’ थवाङका विप्लवनिकट युवानेता अमित घर्तीमगरले भने । संसदीय खेलमा स्थापित अन्य माओवादी नेताहरूको तुलनामा ‘विप्लव’ भने बेग्लै देखिन्छन् । उनले संसदमा ‘पाइला’ समेत टेकेका छैनन् । पहिलो संविधानसभा निर्वाचनमा भाग लिएनन् । समानुपातिक सूचीमा पनि अटाएनन् । 

‘विप्लव’ विद्रोही छन्, सत्ता–स्वार्थमा रुमल्लिएका छैनन् । उग्र छन्, बदनाम छैनन् । उनले प्रचण्ड, मोहन बैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा वा महरालाई सत्तोसराप गरे तर सत्ताका लागि कहिल्यै मरिहत्ते गरेनन् । सायद, विप्लवको यस्तै प्रतिभाबाट प्रचण्ड बेलाबखत प्रभावित हुन्छन् । जनयुद्धको जग मेटिँदै जाँदा आफ्नो रोजाइमा पार्छन्, विप्लवलाई । खस्किँदै गइरहेको ‘प्रचण्डपथ’को नयाँ भरोसायोग्य पात्र ठानिँदै छन्, उनी । माओवादीभित्र दमदार प्रभाव राख्नसक्ने ‘महरा सर’को राजनीतिक यात्रा ओरालोलाग्दो छ । उनी एकपछि अर्को काण्डमा फस्दै छन् तर पनि माओवादी एकतामै जोड दिइरहेका छन् । पार्टी भित्र कमजोर हुँदै गएका उनी ‘आफ्ना केही पूर्वविद्यार्थी मध्ये’ सबैभन्दा चतुर विद्यार्थी ‘विप्लव’लाई माओवादीमा तान्न खोज्दै छन् ।

‘महरा सर’ले वर्षमान पुन, नन्दबहादुर पुन, ओनसरी घर्ती, कुलप्रसाद केसीलाई समेत पढाए । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि बारम्बार उपमहासचिव वर्षमान पुनबाट रोल्पादेखि केन्द्रसम्म पेलिँदै–चेपिँदै आएका महरा अन्ततः विप्लवलाई पार्र्टीमा भित्र्याएर शक्तिशाली हुने दाउमा छन् । विप्लवलाई माओवादीमा तान्न प्रयासरत ‘प्रचण्ड–महरा’का भने आ–आफ्नै स्वार्थ छन् । ‘पूर्वमाओवादीहरूको एकता अहिलेको आवश्यकता हो । समाजवादी मोर्चामार्फत पार्टी एकताको तहसम्मै जानुपर्छ । लड्दै–भिड्दै, सकिँदै गइरहेका छौँ । जसले जे भनेपनि हामीहरू पहिलेजस्तो शक्तिशाली छैनौँ,’ महरानिकट एक पोलिटब्यूरो सदस्यले भने, ‘हामी रक्षात्मक अवस्थामा छौं ।

जताततै गुटबन्दी छ । विप्लव दाइको समूह पनि टुटफुटमा रमाइरहेको छ ।’ प्रधानमन्त्री प्रचण्डको निर्देशन र ‘महरा–विप्लव’बीच पटकपटकको संवादपछि समाजवादी मोर्चामा जोडिएका ‘विद्रोही विप्लव’ शान्त र प्रचण्डप्रति नतमस्तक हुँदै छन् । ‘प्रचण्ड’ सिंहदरबारभित्र छन् । दोस्रो तहका शीर्ष–नेताबीच ब्यापक गुटबन्दी छ । शहरतिर माओवादी हराउँदै छ । ‘रुकुम–रोल्पा’ एकअर्कालाई सराप्दै छन् । ‘वर्षमान–जनार्दन’ तीव्रगतिमा कुदिरहेका छन् । माओवादी खेमा सकिनै लाग्दासमेत प्रचण्डले हिम्मत हारेका छैनन्, नेता–कार्यकर्तालाई यसरी मन्त्रमुग्ध पार्छन् कि सायद अर्को कुनै नेता छैन । कतिपय माओवादीकै नेताहरूले ‘नेकपा ब्युँताउने’ र ‘समाजवादी मोर्चा’ बनाउने प्रचण्डशैलीलाई ‘सत्ता र शक्ति जोगाउने नयाँ खेल’ भनेका छन् । तर प्रचण्डका निम्ति यी बाध्यता र आवश्यकता दुवै हुन् ।

‘हामीले चार दशकदेखि अध्यक्ष कमरेडलाई झेलिरहेका छौँ, एमालेसँग मिलेर उहाँले बनाएको नेकपा हेर्‍याैँ, अब समाजवादी मोर्चा पनि हेर्दैछौँ, यी सबै भ्रम र सत्तामा रमाइरहने कुराहरू हुन् । अहिलेको मूल आवश्यकता पूर्वमाओवादीहरूको एकता हो,’ उपमहासचिव जनार्दन शर्मानिकट एक केन्द्रीय सदस्यले भने ।

सत्ताशक्तिको ‘भ्यूटावर’मा रमाइरहेका ‘प्रचण्ड’ आज पनि ‘सुप्रिमो’को हैसियतमै छन् । तर विप्लवलाई फर्काएर महासचिव पद दिँदैमा ‘माओवादी आन्दोलन’को पुरानो साख नफर्किनेमा ढुक्क छन्– उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत । राजनीतिक रंगमञ्चमा ‘समाजवादी मोर्चा’को नयाँ दुकान थाप्नै लाग्दा प्रचण्डलाई विप्लवको खाँचो छ । अनि पर्दापछाडि खेलिरहेका छन्, ‘महरा सर’ले । माओवादी आन्दोलनको ‘रिब्राण्डिङ’ सम्बन्धी चर्चा चलिरहेका बेला उपमहासचिव वर्षमान र जनार्दनलाई ‘विप्लव’ भयले तर्साइरहेको छ । माओवादी ऐनामा ‘विप्लव’ प्रकट हुँदा उनीहरूसहित अर्का उपमहासचिव शक्तिबहादुरसमेत रन्थनिँदै हिँडिरहेका छन् ।

असार ४ गते घोषणा भएको ‘समाजवादी मोर्चा’ प्रचण्डका लागि विप्लव भित्र्याउने बहाना बन्दै छ । गत असार २१ गते क्रान्तिकारी स्ववियु काउन्सिलको भेला प्रचण्ड बोल्दै जाँदा ‘विप्लवमय’ बन्यो । ‘रैथाने माओवादी’ अर्थात् वर्षमान, जनार्दन र शक्तिबहादुरप्रति असन्तुष्टि जनाउँदै उनले विप्लव, पम्फा भुसाल र देवप्रसाद गुरुङको खुलेरै प्रशंसा गरे । प्रचण्डको मुखबाट विप्लवको प्रशंसा सुनेर दिक्क भएका माओवादी नेता–कार्यकर्ता भने असार २२ गते उत्साहित देखिन्थे । कारण– वर्षमान, जनार्दन र शक्तिबहादुर एउटै मञ्चमा अटाए । अघिल्लो दिनको प्रचण्डको त्यो संबोधनबाट बिथोलिएका माओवादी उपमहासचिव वर्षमान र जनार्दनले मीनेटौँ ‘प्रचण्डबोली’को खण्डन गरे । शक्तिबहादुर खासै बोलेनन्, वर्षमानको तुलनामा जनार्दन भने प्रचण्डप्रति धेरैबेर खनिए । र, आक्रोशित बने ।

विप्लवलाई फेरि माओवादीमै फर्काएर महासचिव बनाउन लागेको सूचना पाएपछि उपमहासचिव वर्षमान र जनार्दनले मोर्चा कसेका छन् । तेस्रो तहका नेताहरू अध्यक्ष प्रचण्डको मनोमानी बढ्दै गएको र बेलामौकामा पार्टी त्याग्दै–फर्किंदै गरेका अवसरवादीहरूलाई सरकार र पार्र्टीको महत्वपूर्ण जिम्मेवारी दिएकोमा असन्तुष्टि पोख्छन् । ‘हामीले आठौँ महाधिवेशनमा अध्यक्ष कमरेडलाई राम्रोसित भनेका थियौँ, महासचिवमा दुई नेता (वर्षमान वा जनार्दन) मध्ये एकलाई बनाउनुपर्छ । तर त्यसो गरिएन, दुई नेताबीच विवाद भएजस्तो देखाइयो अनि तेस्रो व्यक्तिलाई समातियो,’ जनार्दननिकट ती केन्द्रीय सदस्यले भने ।

आफूहरूबीच महासचिवका सन्दर्भमा विवाद नहुँदा–नहुँदैसमेत प्रचण्डबाट दुबै नेतालाई पाखा लगाउने काम भएको बताउँछन्, वर्षमान–जनार्दन । ‘यो सन्दर्भ पुरानो भइसक्यो । तैपनि प्रसंग आइहाल्यो, जनार्दन कमरेड र मेरो बीचमा कुनै विवाद छैन । हामीहरू सँगसँगै सहयात्रा गरेका पुराना साथी–साथी हौँ । त्योबेला मैले अध्यक्ष कमरेडलाई भनेको थिएँ, सहमति जुटेन भने जनार्दन कमरेडलाई महासचिव बनाउनुहोस्,’ माओवादी उपमहासचिव वर्षमान पुनले भने । तर, प्रचण्डले कसैका कुरा नसुनी महासचिव बनाए, देवप्रसाद गुरुङलाई । महाधिवेशन सकिएको महिनौँ भइसक्यो । जनार्दनले चित्त दुःखाउँदै कमिटीमा फरक मत राखे । यति हुँदासमेत माओवादीभित्र एकखालको बहस कायमै छ । प्रचण्डले किन रुचाएनन्, जनार्दनलाई ?

दशकपछि ‘प्रचण्ड–विप्लव’ फेरि सँगसँगै हुन चाहन्छन् । एक समय प्रचण्डसँगै हिँडेका विप्लव अहिले वैज्ञानिक समाजवादको अँध्यारो बाटोतिर छन् । विद्रोह र सडक मोर्चामा कमजोर हुँदै गएपछि समाजवादी मोर्चा हुँदै माओवादीतिर फर्किंदै छन्, विप्लव । ‘महरा सरले अध्यक्ष कमरेडको मार्ग पछ्याइरहनुभएको छ । तर उहाँमाथि उपमहासचिवहरूले ब्यक्तिगत तहमा उत्रिएर आक्रमण गरिरहेका छन् । पार्टीलाई मिलाएर लैजाऊँ, एकता गरौँ, विप्लव कमरेडलाई मूलघरमा फर्काऊँ भन्दा सुन तस्कर भन्दै समाचार लेखाइरहेका छन्,’ महारानिकट एक पोलिटब्यूरो सदस्यले भने ।

चुलबुले ‘विप्लव’ युद्धकालदेखि नै आफ्नै पारा अनि आफ्नै समूहमा रमाउने नेता हुन् । चतुर छन् । रणनीतिका बादशाह हुन् । उनी जहाँ पुग्थे, त्यहाँ आफ्नो ‘क्रान्तिकारी’ छाप छोड्थे । युद्धको समय भारतले माओवादी नेताहरूलाई धरपकड गरेपछि तत्कालीन हेडक्वार्टर आधारभूमि रोल्पातिरै सर्‍याे । प्रचण्डले नरुचाउँदा नरुचाउँदै ‘विप्लव’ पार्र्टीको राप्ती ब्यूरो इञ्चार्ज बने । त्यो कठिन समयमा सुप्रिमो प्रचण्डसहित अन्य शीर्ष नेताहरू लामो कालखण्ड रोल्पा–रुकुमतिरै रहे । विप्लवको जीवनमा त्यो एउटा संयोग थियो र ‘हेडक्वार्टर’का सामु उनलाई स्विकार्नैपर्ने बाध्यता रह्यो । विप्लव आफूले लिएको ‘जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सक्ने नेता हुन्’ भन्दै अध्यक्ष प्रचण्ड आज पनि प्रशंसा गर्छन् । माओवादी हेडक्वार्टर रोल्पा सरेका बेला आधारक्षेत्रको मोर्चा उनै विप्लवले सम्हालेका थिए । त्योबेला शीर्ष नेतृत्वका रक्षक थिए उनी । तिनै विप्लव आज पनि बदलिएको ‘प्रचण्डपथ’को रक्षापंक्तिमै खडा छन् ।

‘विप्लव कमरेडको आफ्नै स्वभाव छ । उहाँको हँसिलो र ऊर्जाशील जीवनशैली सबैलाई मन पर्छ । हिजो होस्, या आज उहाँभित्रको क्रान्तिकारी चिन्तनको अध्यक्ष कमरेड पनि प्रशंसक नै हुनुहुन्छ, त्यसकारण पनि विप्लव कमरेड माओवादीमै फर्किनुपर्छ,’ माओवादी केन्द्रकी शीर्ष नेता जयपुरी घर्ती भन्छिन् । प्रचण्ड थाक्दैनन् सायद, यो माओवादीका अरू नेताहरूलाई लाग्छ । थाके पनि नथाकेजस्तो गर्छन्, अनि प्रचण्डलाई लाग्छ सायद थाक्ने छुट उनी आफैँलाई छैन । प्रधानमन्त्री बन्ने अन्तिम यात्राको ‘अभिष्ट’ सकिँदै गर्दा प्रचण्ड डोरिने भनेको फेरि उही पार्टी नै हो । राजनीतिक जीवनको यो उत्तरार्धमा प्रचण्ड चिन्तन अब ‘उत्तराधिकारी’को खोजीमा छ । आ–आफैँ लडेर सक्किइरहेका जनार्दन, वर्षमान अनि शक्ति बस्नेतहरूलाई त्यो ठाउँ दिन प्रचण्डको मन मानिरहेको छैन । र, प्रचण्ड चाहन्छन् विप्लवको ‘इन्ट्री’ ती ‘शक्ति’हरूलाई तह लगाउने एउटा अर्को शक्ति बनोस् ।
 

टिप्पणीहरू