पारिवारिक र सामाजिक पीडाको पर्याय बन्दै वैदेशिक रोजगारी

पारिवारिक र सामाजिक पीडाको पर्याय बन्दै वैदेशिक रोजगारी

रोजगारीको पर्याप्त अवसर नहुँदा वर्षेनी नेपाली युवा कामका लागि विदेशिने गरेका छन् । केहीका लागि वैदेशिक रोजगारी रहरको विषय भएपनि अधिंकाशको निम्ति यो बाध्यता बन्न पुगेको छ । स्वदेशमै बसेर केही गर्न नसकिने भएपछि दिनहुँ हजारौंको संख्यामा नेपालीहरु आफ्नो परिवारको आधारभूत आवश्यक परिपूर्ति गर्न विदेशिने गरेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा नयाँ तथा पुनः श्रम स्वीकृति लिएर हालसम्मकै उच्च संख्या सात लाख ७१ हजार ३२७ जना विदेश गएका हुन् । आर्थिक वर्ष २०७८/०७९ मा छ लाख ३७ हजार ११३ जना श्रमिक विदेशिएका थिए । पछिल्लो एक वर्षको अवधिमा एक लाख ३४ हजार २१४ जना बढीले विदेशमा काम गर्न श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

पछिल्लो वर्ष नेपाली श्रमिकको प्रमुख श्रम गतन्व्य मलेसिया, साउदी अरेबिया, कतार, युएई, कुवेत, ओमान, बहराइन, दक्षिण कोरियालगायत मुलुक बनेका छन् । तीसँगै अन्य केही मुलुकमासमेत श्रम गर्न दिनहुँ हजारौं नेपाली कामदार पुग्ने गरेका हुन् ।

वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेती मुलुकभित्र पर्याप्त रोजगारीको अवसर नहुँदा नेपाली युवा विदेशिने क्रम दिन प्रतिदिन बढिरहेको बताउँछन् । उनी भन्छन्, ‘एउटा अवधि काम गरेर स्वदेश फर्किएकाहरु पनि यहाँ अवसर नपाएकाले उतै फर्किन्छन् । थोरैका लागि मात्र वैदेशिक रोजगारी रहर हुनसक्छ, धेरैको लागि यो बाध्यता बनेको छ ।’ 

‘देशभित्र बसेर दैनिक जीवनयापन गर्न समेत नसकिने भएपछि यहाँ बसेर केही हुन्न भन्ने धारणा धेरैमा विकसित हुँदै गएको छ,’ उनी थप्छन्, ‘यसले पनि वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो छ ।’

मुलुकमा एकातिर रोजगारीको अभाव र अर्कातिर बढ्दो महंगीका कारण नेपाली युवाहरु कामको खोजीमा विदेशिन बाध्य छन् । तर, उनीहरुको बाध्यतालाई सीमित व्यक्ति र टाढाबाठाले आम्दानीको स्रोत बनाइरहेका छन् । 

अहिले वैदेशिक रोजगारीमा विदेश पठाइदिने प्रलोभनमा ठग्ने क्रम ह्वात्तै बढेको छ । प्रायः सबै दिन कोही न कोही आकर्षक तलब सुविधासहित विदेश पठाइदिने प्रलोभनमा परेर ठगिएको पाइन थालेको छ ।

यता, विदेश पठाएपनि एउटा मुलुक भनेर अर्को मुलुक पठाइदिने, तस्करी गर्ने, अवैध क्रियाकलाप गर्न लगाउने, बन्धक बनाउने, विभिन्न खालका शोषण गर्नेलगायत घटना पनि बढ्दो छ । 

विभागका अनुसार गत वर्ष मात्र वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाइदिने नाममा ठगी गरेको भन्दै चार हजार चार सय ४० जनाले उजुरी दिएका थिए । जसमा ५५ करोड ६१ लाख रुपैयाँ बिगो माग गरिएको छ । 

त्यस्तै, एउटा मुलुक भनेर अर्को मुलुक पठाइदिएको, एउटा काम भनेर अर्को काम गर्न बाध्य बनाएको तथा काम गर्न नसकेर उद्धार गरिदिन भन्दै सात सय ५८ जनाले निवेदन दिएको विभागले जनाएको छ ।  

अधिकांश नेपाली श्रमिकका लागि खाडीका मुलुक र मलेसिया प्रमुख गन्तव्य बनेको छ । तर, ती देश नेपाली कामदारको निम्ति मृत्युकुण्ड नै सावित भएका छन् । लगातारको काम र चर्को घाम सहन नसकेर खाडी मुलुकमा नेपाली कामदारहरुले अकालमै ज्यान गुमाउने गरेका छन् । अधिकांश अंगभंग हुने गरेका छन् भने कतिपयले अत्यासलाग्दो कामका कारण आत्महत्या समेत गर्ने गरेको पाइएको छ । 

वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार गत वर्ष वैदेशिक रोजगारीमा गएका एक हजार २०८ जना नेपाली कामदार बाकस (कफिन) मा स्वदेश फर्किएका छन् । त्यस्तै, तीन सय ८९ जना अंगभंग वा गम्भीर बिरामी भएका थिए ।

विदेशमा मृत्यु भएकामध्ये औसतमा दैनिक तीन वटा शव सहितको बाकस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने गरेको छ । बोर्डका अनुुसार सुनौलो भविष्यको सपना बोकेर विदेशिएका नेपाली युवाहरु दिनप्रति दिन बाकसमा फर्किने क्रम बढिरहेको छ । 

यता, कैयौं नेपाली कामदारहरुको शव अहिले पनि विदेशमै अलपत्र परेका छन् । सन्तान गुमाएका बाबुआमाले लाश हेर्न समेत नसोचेको हण्डरठक्कर खानुपर्ने अवस्था छ ।

तर, रेमिट्यान्सले देश धानिएको सगौरव दाबी गर्ने सरकार र राज्यका सम्बन्धित निकायहरु यसप्रति संवेदनशील देखिँदैनन् । आफ्ना देशका दक्ष र सीपयुक्त जनशक्तिलाई विदेश पलायन हुनबाट रोकेर स्वःरोजगार कसरी बनाउने ? भन्ने योजना सरकारले अहिलेसम्म बनाएको छैन । 

गत आर्थिक वर्ष विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याकअनुसार आर्थिक वर्ष २०७९–८० मा २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिएको थियो । 

तर, विदेशमा रगत, पसिना बगाएर रेमिट्यान्स पठाउनेहरु नै राज्य र सरकारबाट सबैभन्दा बढी अपहेलित भएको मानव अधिकारकर्मी जस्मिन ओझाको बुझाइ छ । उनको भनाई छ, ‘मुलुकमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाहरु विदेशिनुपर्ने बाध्यता छ । तर, उतै कारणवश उनीहरुको मृत्यु भएमा तथा अंगभंग भएमा पीडित वा पीडितका परिवारले न राज्यबाट क्षतिपूर्ति पाउँछन् न साथ र सहयोग नै । कतिपयको त शव ल्याउन समेत वर्षौं दिन बित्ने गरेको छ ।’

वैदेशिक रोजगारीमा गएकाहरुप्रति सरकार जिम्मेवार नहुँदा उनीहरुको अवस्था दयनीय भएको उल्लेख गर्दै ओझाले स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न सरकारलाई आग्रह गरेकी छन् ।

टिप्पणीहरू