पेट दुखेको निहुँ,टाउकोमा किरा स्युँ स्युँ

पेट दुखेको निहुँ,टाउकोमा किरा स्युँ  स्युँ

नेपालीमा एउटा उखान छ ‘टाउको दुःखेको ओखती नाइटोमा लाई’ भन्ने । तर,अष्ट्रेलियामा पेट दुख्ने रोगबाट ग्रसित ६४ वर्षीया महिलाको उपचार क्रममा मस्तिष्कमा तीन इञ्च लामो जुका फेला परेको छ । दिमागमा घुसेको जुकाको कारण महिलाको रोग पत्ता लगाउन चिकित्सकहरुलाई डेढ वर्ष लागेको द वासिङ्गटन पोष्टले जनाएको छ ।

न्यु साउथ वेल्स,अष्ट्रेलियाकी ती महिला जनवरी २०२१ मा पेट दुखेको भन्दै अस्पताल पुगेकी थिइन् । तीन हप्तादेखिको पेट दुखाई, सुख्खा खोकी र राती पसिना आउने लक्षणको आधारमा चिकित्सकहरुले पेट,फोक्सो,कलेजोको परीक्षण गरे । परीक्षणमा असामान्य तरिकाले ह्वाइट ब्लड सेल अर्थात श्वेत रक्त कोशिका घटेको पाइयो ।

चिकित्सकहरुको भाषामा यो भनेको बिरामीको शरीरमा कुनै रोगको संक्रमण छ भन्ने हो । तर उनको शरीरमा ब्याक्टेरिया,फंगलको कुनै लक्षण देखिएन । बिरामी क्रमशः कमजोर हुँदै सम्झने शक्ति क्षीण हुने र  डिप्रेसनमा जान थालिन् ।

अन्ततः जुन २०२२ मा त्यहाँका डाक्टरहरूले उनको मस्तिष्कमा समस्या रहेको पत्ता लगाए । क्यानबेरा अस्पतालका एक सर्जनले उनको मस्तिष्कबाट फिक्का रातो रंगको तीन इञ्च लामो राउन्डवर्म (जुका) निकाले । 

यो कसरी सम्भव भयो भन्नेबारे चिकित्सकहरुले अझै अनुसन्धान जारी राखेका छन् । प्रारम्भिक अनुमानमा ती महिलाको घर नजिकै ताल थियो । सामान्यतयाः मानिसको मस्तिष्कमा यस्तो किरा कसरी प्रवेश गर्यो भन्ने सम्बन्धमा दुषित पानी वा सागपात सेवनको क्रममा कुनै भाँडाकुँडा वा महिलाको हातबाट उनको मुख हुँदै मस्तिष्कमा जुकाको फुल पुगेको हुनसक्ने उनीहरुको आकलन छ ।  

पहिले पेट दुखेको रोगमा केन्द्रित डाक्टरहरूले पछि बिर्सने बानी र डिप्रेसनको उपचारमा केन्द्रित हुँदा मस्तिष्कको एमआरआई गराएका थिए । डा. हरिप्रिया बन्दीको टोलीले ती महिलाको मस्तिष्क सर्जरी गरेर उक्त जुका निकालेको हो । शल्यक्रियापछि बिरामीको अवस्थामा धेरै सुधार भएको बताइन्छ ।

टिप्पणीहरू