एकीकृत समाजवादीका को मित्र,को शत्रु ?

एकीकृत समाजवादीका को मित्र,को शत्रु ?

 नेकपा एकीकृत समाजवादीले नेपाली समाज तीन वटा प्रधान अन्तरविरोधसँग जुधिरहेको ठहर गरेको छ । 

आजदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेपालको प्रधान अन्तरविरोध किटान गरिएको हो । 'नेपाली समाजको वर्गीय संरचना र प्रधान अन्तरविरोध' उपशीर्षकमा आन्तरिक र बाह्य रुपमा तीन वटा आधारभूत प्रधान अन्तरविरोध रहेको उल्लेख छ । 

जसमा दलाल, नोकरशाही,पुँजीपति वर्ग र आम श्रमजीवी वर्गबीचको अन्तरविरोधलाई नै नेपाली समाजको आन्तरिक प्रधान अन्तरविरोध भनिएको छ । त्यस्तै, विश्व साम्राज्यवाद र प्रभुत्ववाद नेपाली समाजको स्वतन्त्र विकास र समाजवादी क्रान्तिको बाधक भएकाले यससँग नेपालको आधारभूत अन्तरविरोध रहेको जनाइएको छ । 

'यी तीन वटा आधारभूत अन्तरविरोधमध्ये दलाल नोकरशाही पुँजीपति वर्ग र आम नेपाली श्रमजीवी वर्गबीच अन्तरविरोध आन्तरिक र साम्राज्यवाद र प्रभुत्ववादसंगका अन्तरविरोध बाह्य आधारभूत अन्तरविरोध हुन्" अध्यक्ष नेपालले प्रतिवेदनमा लेख्नुभएको छ, 'तर,अहिले बाह्य अन्तरविरोध  प्रधान रहेको अवस्था होइन ।'

समाजवादीले अहिलेको अवस्थामा कुनै एउटा राजनीतिक दललाई दलाल पुँजीपति वर्गको प्रतिनिधि घोषणा गर्न नसकिने निचोड पनि निकालेको छ । दलाल, नोकरशाही,पुँजीपति वर्गको हितमा काम गर्ने प्रतिनिधिहरु विभिन्न दल र संगठनमा रहेकाले एउटा कुनै दललाई त्यो वर्गको राजनीतिक प्रतिनिधि घोषणा गर्नु उपयुक्त नहुने राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा प्रधान अन्तरविरोधको सवाल क्रान्तिको तत्कालिन कार्यभारसंग सम्बन्धित रहने र त्यो रणनीतिक मात्र नभएर कार्यनीतिक पनि हुने भएकाले सोहीअनुसार अन्तरविरोधहरु विभिन्न रुपमा प्रकट हुनसक्ने भनिएको छ । क्रान्तिको चालु अवस्थामा प्रहारको निशाना त्यसैले निर्धारण गर्ने जनाइएको छ ।

समाजवादीले अहिलेको कार्यनीति र तात्कालिन कार्यभार पनि परिभाषित गरेको छ । संविधानको रक्षा गर्दै समाजवादी रुपान्तरणको आधार तयार गर्नुलाई आजको तात्कालिन कार्यभार भनिएको छ । यस कार्यभारको अवधिभर दलाल नोकरशाही पुँजीपति वर्गसँग नेपाली जनताको प्रधान अन्तरविरोध रहने प्रतिवेदनमा जनाइएको छ । 

त्यस्तै, जनवादी क्रान्तिको उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण संघर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक-सामाजिक-सांस्कृतिक रुपान्तरणसहित राष्ट्रिय पुँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य,मान्यतासहित समाजवादको आधार निर्माण गर्नुलाई समाजवादीले आफ्नो कार्यनीति बनाएको छ । यसमा बाधक बन्ने राजनीतिक तत्व नै त्यतिबेला प्रहारको मुख्य निशाना बन्ने अध्यक्ष नेपालको प्रतिवेदनमा उल्लेख छ । 

एकीकृत समाजवादीले मुलुकका नयाँ पुराना सबै दलसँग आफ्नो पार्टीको सम्बन्ध दलाल पुँजीवादबारे उनीहरुको दृष्टिकोणका आधारमा निर्भर हुने जनाएको छ । अध्यक्ष नेपालले केन्द्रीय कमिटी बैठकमा प्रस्तावका रुपमा पेश गरेको प्रतिवेदनमा त्यसैका आधारमा ती दलहरुसँग एकता र संघर्ष सम्बन्ध रहने उल्लेख गरिएको छ ।
 

टिप्पणीहरू