निरन्तर विदेश गइरहनेमाथि विशेष निगरानी

निरन्तर विदेश गइरहनेमाथि विशेष निगरानी

एक क्विन्टल सुन तस्करीको मुख्य लगानीकर्ता भनिएका राकेश अडुकियाका छोरा रोहन साउन २६ गते दिल्लीबाट आउँदा आउँदै विमानस्थलबाट पक्राउ परे । राजश्व अनुसन्धान विभागले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा समातिएका २२ वर्षीय उनलाई सोही दिन हरिहर भवन लगिएको थियो ।

तर, विभागले जिम्मा लिन नमानेपछि सिआइबीको जिम्मा लगाउन खोजिएका उनीसहित अन्य दुई चिनियाँ नागरिकलाई छोडिएको छ । आवश्यक परेको बेला उपस्थित हुने ब्यहोराको कागज गराएर २४ घण्टामै छोडिएका उनलाई किन पक्राउ गरियो ? अहिले व्यापक चर्चामा आएको विषय हो यो । 

रोहन एउटै सर्कलमार्फत बारम्बार हङकङ गएको पाइएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको अध्यागमन स्रोत बताउँछ । उनले एउटै रुटमार्फत ५० पटकभन्दा धेरै जाउआउ गरेको देखिएको छ । यता, उनका बुबा राकेशले भने पछिल्लो १० वर्षमा २८३ पटक विदेश ओहोरदोहोर गरेका छन् । २०७० चैत २२ गतेदेखि २०८० असार २० गतेसम्म राकेश १४२ पटक बाहिरिएका र १४१ पटक नेपाल भित्रिएका थिए । त्यसमध्ये दोस्रो राहदानी २०७७ पुस २४ देखि २०८० असार २० गतेसम्म झण्डै तीन वर्षको अवधिमा ३६ पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गरेको खुलेको छ । 

हङकङस्थित भारतीय दूतावासले जारी गरेको राहदानी प्रयोग गर्दै आएका उनले पुरानो राहदानी नम्बर जेड २० पी ९८१३ को म्याद नसकिँदै नयाँ लिएर प्रयोग गर्न थालेका हुन् । छोरा राहुलले जेड ६३९६४२१ नम्बरको लण्डनबाट जारी राहदानी बोकेका छन् । सो राहदानीमार्फत उनले बारम्बार काठमाडौंबाट दुबई हुँदै हङकङ र त्यहाँबाट बैंककको यात्रा गरेको पाइएको छ । एउटै रुटमार्फत बारम्बार यात्रा गरेका बाबु छोराको कनेक्सन हङकङमा बढी देखिएपछि विभागले उनीहरूमाथि अनुसन्धान अघि बढाएको थियो । 

अब राहुलले विदेश जानुअघिसमेत विभाग र अन्य सरोकारवाला निकायसँग अनुमति लिनुपर्ने भएको छ । ‘उसलाई हामीले पक्राउचाहिँ गरेका थिएनौं । अनुसन्धानका लागि नियन्त्रणमासम्म लिएका हौं । हङकङमा यिनीहरूको यात्रा अस्वाभाविक देखिएकाले शंकाको घेरामा छन् । इन्टरपोलसँग पनि कुराकानी भएको छ’, स्रोतले भन्यो, ‘छोरा हाम्रो निगरानीमा छ । खोजेको अवस्थामा तत्काल उपस्थित हुनुपर्ने भनी कागजात गराएर छोडेका छौं । विदेश जानै परेको खण्डमा पनि सम्बद्ध निकायबाट इजाजत लिनुपर्ने हुन्छ । सेक्युरिटी व्यवस्थापन गरेर मात्रै विदेश पठाइनेछ ।’ स्रोतका अनुसार ‘अण्डरसर्भिलेन्स’ मा राखिएका राहुललाई राजश्व र सिआइबीले कसुर पुष्टि नभएसम्म जिम्मा नलिने भनेपछि रिहा गर्नुपरेको हो । 

अध्यागमनको सिस्टम अपग्रेड 

विदेश यात्रा गरिरहनेहरूले अब होसियार बन्नुपर्ने भएको छ । अध्यागमन विभागले विदेश ओहोरदोहोर गरिरहनेलाई निगरानीमा राख्न थालेको छ । एउटा व्यक्ति कुन रुटको प्रयोग गरेर कतिपटक कुन–कुन मुलुक गयो ? यसको अध्ययन गर्न विभागमा नयाँ सिस्टम जडान गरिएको छ । विमानस्थलबाट एक सय किलो सुन पक्राउ परेपछि विभागले विदेश जाने र आउनेमाथि कडाइ गरेको हो । 

विभागले इन्डिकेटरमा ‘रेगुलर वाचलिष्ट’ भन्ने सिस्टम अपडेट गरेको छ । यसले ‘रेगुलर ट्राभलर’ को विवरण सुरक्षित राख्छ । विभागले धेरैपटक एउटै रुटमार्फत यात्रा गर्नेमाथि अनुसन्धान गर्नेछ । यात्रु किन पटक पटक एउटै मुलुक गइरहेको छ ? उसको त्यस मुलुकसँग के कनेक्सन छ ? लगायत विषयमा छानबिन गरिने विभागले जनाएको छ । 

‘कुनै व्यक्ति बारम्बार अफगानिस्तान जान्छ भने उसको कनेक्सन ड्रग्ससँग हुन सक्छ । पाकिस्तान गइरहने यात्रुको सम्बन्ध आतंककारीसँग हुन सक्छ । कोही अफ्रिकन मुलुक गइरहन्छ भने त्यो किन ? हामीले यस्तो विषयमा अध्ययन गर्न थालेका छौं । विदेश आउजाउ गरिरहनेमाथि छानबिन गर्न निकै जरुरी देखिएको छ’, स्रोतले भन्यो । 

अध्यागमन स्रोतका अनुसार कुनै पनि यात्रुलाई यसबारे जानकारी गराइँदैन । छानबिन सकाएपछि कनेक्सन देखिएको व्यक्तिलाई पक्राउ गरेर सम्बन्धित निकायलाई बुझाइने स्रोत बताउँछ । ‘यात्रुलाई यसबारे जानकारी गराउँदा उनीहरूलाई यात्रा गर्न संकुचन महसुस हुन्छ । सबै त्यस्ता अवैध काममा जोडिएका हुन्छन् भन्ने पनि छैन । कोही आफ्नो कामले विदेश ओहोरदोहोर गरिरहेका हुन्छन् । छानबिनको क्रममा कुनै शंका लागेमा मात्र नियन्त्रणमा लिने हो’, स्रोतले भन्यो ।
 

टिप्पणीहरू