आँखा पाक्ने रोग सल्किएपछि पोखराका विद्यालय तीन दिन बन्द

आँखा पाक्ने रोग सल्किएपछि पोखराका विद्यालय तीन दिन बन्द

पोखरा महानगरपालिकाभित्र सञ्चालनमा रहेका विद्यालय भोलिदेखि तीन दिनसम्म बन्द हुने भएका छन् । विद्यार्थीहरुमा आँखा पाक्ने रोग देखिएपछि महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

महानगरपालिकाले आज सूचना जारी गर्दै सम्पूर्ण सामुदायिक, संस्थागत  र मन्टेश्वरी स्कुललाई भोलिदेखि साउन २६ गतेसम्म बिदा दिन निर्देशन दिएको छ । सो बिदा वर्षे, हिँउदे वा स्थानीय बिदाबाट कट्टा गर्न महानगरपालिकाले भनेको छ । 

'सम्पूर्ण सामुदायिक, संस्थागत र मन्टेश्वरी स्कुलहरुसमेत वर्षे, हिँउदे र स्थानीय बिदाबाट कट्टा हुने गरी मिति २०८०–४–२४ गतेदेखि २०८०–४–२६ गतेसम्म तीन दिन बिदा दिने निर्णय भएकोले सोही अनुरुप विद्यालय बन्द गर्नुहुन सरोकारवाला सबैमा जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ', महानगरको सूचनामा भनिएको छ ।

त्यस्तै, महानगरपालिकाले आफ्ना बालबच्चालाई घरमा सुरक्षित तरिकाले बस्न लगाउन र संक्रमणबाट जोगिन सम्पूर्ण अभिभावकलाई आग्रहसमेत गरेको छ । 

पछिल्लो केही दिनयता मुलुकभरका अस्पतालमा आँखा पाक्ने समस्या भएका बिरामीको चाप ह्वात्तै बढेको छ । विद्यार्थीहरुमा यो रोगको व्यापक संक्रमण देखिन थालेपछि स्थानीय तहहरुले धमाधम विद्यालय बन्द गरिरहेका छन् ।

टिप्पणीहरू