विदेश जानुअघि माधव नेपालको जिकिर-मैले देशको अहित गरेको छैन

विदेश जानुअघि माधव नेपालको जिकिर-मैले देशको अहित गरेको छैन
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज युरोपका विभिन्न मुुलुकको भ्रमणमा निस्कनुभएको छ । उहाँ बिहान पौने ९ बजे श्रीमती गायत्री आचार्यसङ्गै टर्किस एअरलाइन्सको उडानमा काठमाडौंबाट इस्तानबुल हुँदै स्विट्जरल्याण्ड जानुभएको हो ।

नेपाल प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्विट्जरल्याण्डलगायत विभिन्न युरोपेली मुलुकमा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुने निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, ‘उहाँ हिजो सर्वोच्चबाट भएको फैसलाबारे जानकार हुनुहुन्छ । सबै प्रकारका भ्रष्टाचार एवम अनियमितताको निष्पक्ष छानबिन गर्दै दोषीउपर कडा कारबाही हुनुपर्छ र मुलुकमा सुशासन कायम हुनुपर्छ भन्ने कुरामा अध्यक्षको दृढ मान्यता छ ।’

यसैबीच नेपाल निकट एक जना नेताले सर्वोच्चको आदेशपछि पनि उहाँ स्वाभाविक रुपमा प्रस्तुत हुनुभएको जानकारी दिए । ‘अरुले ठूलो इस्यू बनाएझैँ अध्यक्षज्यू आत्तिएको वा हतास अवस्थामा हुनुहुन्न,’उनले भने । उनका अनुसार आज बिहान विदेश जानुअघि अध्यक्ष नेपालले आफू प्रधानमन्त्री हुँदा मन्त्रीबाट आएको टिप्पणीलाई ‘कानुनसम्मत गर्न’ भन्दै तोक लगाइदिएको जानकारी दिनुभएको छ । सोहीबमोजिम क्याबिनेटका विभिन्न समितिबाट सिफारिस हुँदै आएको प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेकोमा प्रधानमन्त्रीको खासै भूमिका नहुने उहाँको जिकीर छ ।

नेपालको भनाई उल्लेख गर्दै स्रोत भन्छ, ‘अहिलेको प्रधानमन्त्री निवासलाई विस्तार गर्न ल्याइएको प्रस्तावलाई बैठकले अनुमोदनसम्म गरेको हो । अरुले झैँ निजी रुपमा जग्गा लिइएको पनि होइन । सरकारकै लागि राम्रो बनाइदिएको हो । त्यही जग्गा विस्तार भएपछि आज र भोलिका प्रधानमन्त्रीहरु ठूलो क्षेत्रफलको निवासमा ढुक्कसँग बस्न पाउने अवस्था बनेको छ ।"

अध्यक्ष नेपाल १२ दिनपछि आगामी भदौ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू