सरकारको कामप्रति कांग्रेस नेता असन्तुष्ट, आफूहरुलाई बाइपास गरे राम्रो नहुने चेतावनी

सरकारको कामप्रति कांग्रेस नेता असन्तुष्ट, आफूहरुलाई बाइपास गरे राम्रो नहुने चेतावनी

नेपाली कांग्रेसका केही नेताले सुन तस्करी प्रकरणमा अर्थ र गृहमन्त्रीको राजीनामा मागिरहेकै बेला सभापति शेरबहादुर देउवा निकट भनेर चिनिएका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारको कामप्रति चर्को असन्तुष्टी जनाएका छन् ।  

कांग्रेस जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारप्रति जनताका अपेक्षा धेरै रहे पनि त्यसअनुरूप चल्न नसकेको आरोप लगाएका हुन् । सरकारलाई जनअपेक्षा अनुरूप सञ्चालन गर्न छुट्टै संयन्त्र गठन गर्नुपर्ने आवश्यकता देखिएको महरले ‍औंल्याए । 

'कांग्रेस गठवन्धनको सबैभन्दा ठूलो दल हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार असफल हुँदा त्यसको दोष कांग्रेसको टाउकोमा पनि आउँछ । हामीले चुनावको समयमा जनतासामु गरेका वाचा र प्रतिबद्धता भुल्नु हुँदैन । वर्तमान सरकारले अपेक्षाकृत रूपमा कामको गति समात्न सकेको छैन । त्यसैले सरकारलाई जनअपेक्षीय रूपमा सञ्चालन गर्न छुट्टै संयन्त्र गठन गर्नुपरे त्यो पनि गरौं,' उनले भने ।

क्याबिनेटबाट कुनै निर्णय हुने वा मन्त्रीहरूले निर्देशन दिनेमा मात्र सीमित हुन नहुने बताउँदै नेता महरले जनताका अपेक्षा के छन् र मुलुकका लागि तत्काल आवश्यक प्राथमिकता के हो ? भन्ने कुरा पहिचान गरेर सोअनुरुप काम गर्न सरकारलाई सुझाव पनि दिए । 

'अहिले पशु चौपायामा लागेको लम्पी स्किन रोग महामारीका रूपमा फैलिएको छ । लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघिसके छ । यसले किसानहरू ठूलो मारमा परेका छन् । सरकारले सुरुमै संक्रमित पशुमा खोप लगाउन सकेको भए अहिलेको अवस्था आउने थिएन। सरकारको तर्फबाट रोग निदानका लागि भरपुर प्रयास हुनुपर्थ्यो । त्यो हुन सकेन,' महरले भने ।

किसानलाई हाम्रा लागि पनि सरकार छ भन्ने अनुभूति दिलाउन सक्नेगरी सरकारले काम गर्नुपर्ने उनले बताए । यो एउटा उदाहरणमात्रै भएको बताउँदै उनले यस्ता जनजीवनसँग जोडिएका थुप्रै सवालमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । 

भ्रष्टाचार न्यूनीकरणमा समेत सरकारको ध्यान उच्चताका साथ जानुपर्ने महरको सुझाव छ । विमानस्थलबाट एक कुन्टल सुन बाहिरिएको घटनाले गम्भीर बनाएको बताएका उनले यसले सरकारप्रति आमरुपमा प्रश्न उठेको बताए । यो अवस्थाको अन्त्यका लागि सरकारले कडा कदम चाल्नुपर्ने उनको भनाई छ । 

गठबन्धन दलकै नेताहरूबाट चितवनका हरेक संघ संस्थामा कांग्रेसलाई बाइपास गर्न खोजिएको बताउँदै नेता महरले त्यो आफूहरूका लागि स्वीकार्य नहुने पनि बताएका छन् । गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसलाई बाइपास गर्न खोजिए त्यो कसैका लागि राम्रो नहुने उनको चेतावनी छ ।

टिप्पणीहरू