रुपन्देहीमा पत्रकार सदस्यता वितरणमा गञ्जागोल

रुपन्देहीमा पत्रकार सदस्यता वितरणमा गञ्जागोल

नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीले गरेको सदस्यता वितरण सम्बन्धी पछिल्लो निर्णय सच्याउन माग गरेको छ । युनियनले आज ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।

महासंघ आफैंले बनाएको सदस्यता वितरण सम्बन्धी मापदण्ड विपरीत हुनेगरी निर्णय गरिएको भन्दै विभेदकारी निर्णय सच्याउन माग गरिएको  युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी दिएका छन् । महासंघ रुपन्देहीको शनिबार र आइतबार बसेको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको थियो । 

‘महासंघले गरेको निर्णयमा कतिपय मापदण्डभित्र पर्नेलाई सदस्यता नदिइएको तर मापदण्ड बाहिरकालाई समेत सदस्यता दिइएपछि युनियनले तत्काल सच्चाउन माग गरेको हो । एउटै मिडिया हाउसमा समान पदमा काम गर्नेमध्ये एउटालाई सदस्यता दिने अर्कालाई नदिने निर्णय भएको छ,’ युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले बताए । 

उक्त विभेदकारी निर्णय नसच्याए प्रेस युनियन आन्दोलनमा उत्रिन बाध्य हुने उनको चेतावनी छ । कुनैपनि आस्था र विचारका आधारमा नभई मापदण्डका आधारमा सदस्यता दिइनुपर्ने भएपनि सदस्यता वितरणको पछिल्लो मापदण्डले महासंघको सदस्यता शुद्धिकरण अभियानलाई समेत गिज्याएको नेपालको ठहर छ । 

ज्ञापन पत्र बुझ्दै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले महासंघले तयार पारेको मापदण्डमा रहेर सबैको छलफलबाट निर्णय गरिएको बताउँदै भने, ‘संगठनहरुले असहमति जनाएकाले पुनः छलफल गरेर निश्कर्षमा पुग्नेछौं ।’ युनियनले ज्ञापन पत्र महासंघ केन्द्रीय समिति र लुम्बिनी प्रदेश समितिलाई बोधार्थ दिएको छ ।

टिप्पणीहरू