मन्त्रीभन्दा मन्त्राणी तगडा परेपछि...

मन्त्रीभन्दा मन्त्राणी तगडा परेपछि...

मन्त्रालयमा मन्त्रीको भन्दा मन्त्राणीको चुरिफुरी बढ्ता, उता विभागमा झड्केलोको झड्का, अनि कर्मचारीमा दृश्यको शक्तिभन्दा अदृश्य शक्तिको हाई–हाई ! सिंहदरबारभित्र अचेल यस्तो रमिता देखिन्छ । 

एमाले समर्थनको प्रचण्ड सरकारकी डेढ महिने मन्त्री विमला राई पौड्यालको कार्यकालमा परराष्ट्र सचिव भरतराज पौडेल संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि (न्युयोर्क) मा पठाउन ठिक्क पारिएका थिए । क्यानाडाका लागि लोकबहादुर थापाको नाम थियो तर अहिले सचिवलाई पठाउने भनिएको ठाउँमा लोकबहादुर तोकिएका छन् क्यानाडा भने खाली छ । 

यी त दृश्यकै शक्ति भए । अचम्मका पात्र त रामप्रसाद सुवेदी हुन् । २०६६ सालको असोजदेखि परराष्ट्र सेवामा प्रवेश गरेका व्यक्ति, एकपछि अर्को आकर्षक देश घुम्दै जेनेभाको निम्ति छानिएका छन् । यसअघि दिल्ली बसेर आए, त्यहीँबाट सहसचिवमा बढुवा खाए । जागिर जम्मा १३ वर्ष भयो । त्यसबीच बेइजिङ, जेनेभा, दिल्ली हुँदै अहिले चौथो पोष्टिङमा छन् । यसअघि एमाले अध्यक्ष केपी ओलीले अमृत राईलाई दक्षिण अफ्रिकाको राजदूतबाट न्यूयोर्क पठाउनुभएको थियो । लोकबहादुर थापालाई पनि बेल्जियममा राजदूत सम्हालेपछि अहिले न्यूयोर्क लगिएको छ, दुवसु क्षेत्रीलाई बेलायतबाट जापान लगेजस्तै ।

यसरी अदृश्य कुनाबाट खेल्नेमध्ये रामप्रसादको सम्पर्क आरजुसँग राम्रो रहेको मानिन्छ । दुवसुले लण्डनमा उपचार गराएर जापान पाएजस्तो दिल्लीमा उपचारको सेवा शुल्कबापत रामप्रसादले आरजुमार्फत जेनेभा पाएको प्रधानमन्त्री कार्यालयमा चर्चा छ । 

मन्त्राणीको मन

डडेलधुराका मन्त्री एनपी साउदकी काठमाडौंकी रैथाने पत्नी ज्योत्सना अधिकारीको बेलाबखत प्रकट हुने चासोले परराष्ट्रका कर्मचारी हैरान छन् भनिँदैछ । उनी ‘आरजु–मञ्जु’ भनेजत्तिकै पैसा र शक्ति खेलाउने मामिलामा माहिर हुन् । अहिले परराष्ट्रका हरेक विषयमा चर्को हस्तक्षेप छ । कतै कुनै छिद्र भेटियो कि आफ्नो मान्छे राख्न खोजिहाल्ने । यसरी नै भर्खरै करारमा दुई मान्छे राखेकी छन् । त्रिचन्द्र क्याम्पसका नेविसंघ कार्यकर्ता सुदर्शन पनेरु र पुल्चोकका गणेश उपाध्यायलाई सबभन्दा बढी भीडभाड हुने त्रिपुरेश्वरस्थित राहदानी विभागमा जागिर लगाइन् । मन्त्रीका पिए दीपक जोशीमार्फत ज्योत्सनाले काम गराउने हुन् । मान्छे खचाखच हुने राहदानी विभागमा काम गर्न नसकेपछि ‘दीपक दाइले बोलाउनुभएको छ’ भनेर ती दुवै हराउने गरेका छन् ।

ज्योत्सनाकै दबाबमा मन्त्रालयमा पनि ड्राइभर नियुक्त गरिएको छ । दीपकले विभिन्न म्यानपावरबाट बिचौलियामार्फत राहदानीको काम लिने गरेका छन् । छानबिन हुँदा बिचौलियाबाट पैसा उठाउने चन्द्रप्रकाश एडी हुन् भन्ने पत्ता लाग्यो । एडीले नरेन्द्र भट्टलाई पैसा बुझाउने गरेको खुल्यो । उनी कञ्चनपुर कांग्रेसका सभापतिको भाइ हुन् । नरेन्द्रले सागर पाण्डे हुँदै दीपक जोशीलाई पैसा बुझाउने गरेको छानबिनबाट खुलेको छ । प्रहरीको छानबिनले यो निश्कर्ष निकालेपछि मन्त्रीसम्म कुरा पुर्‍याइयो र त्यसपछि गेट पास दिने कर्मचारीलाई बलिको बोका छ । 

राहदानी खरिदमा पनि ज्योत्सनाहरूको त्यस्तै दौडधुप चल्यो । तर, कर्मचारीको अडानका कारण स्वार्थ पूरा हुन पाएन । २८ लाख थान नयाँ राहदानी ल्याउने गरी भेरिएसनमार्फत अहिलेकै फ्रान्सेली कम्पनीबाट पहिलाको भन्दा सस्तो दरमा ल्याइने भएको छ । त्यसको मूल्य पहिला १०.४५ थियो, अहिले १०.१३ मा झरेको छ । मन्त्रीले पत्नीको उक्साहटमा रिडस कम्पनी चलाउने पञ्च नेता सूर्यबहादुरका नाति सिद्धार्थ थापाहरूलाई लगाएर यो काम भाँड्न खोज्दै थिए । विभागले पुरानै कम्पनीबाट नयाँ राहदानी सस्तो मूल्यमा ल्याउने कुरा मिलाइसकेपछि जिटुजीका नाममा मन्त्रीले चलखेल गर्न खोजे । विभागले ‘यसरी गर्ने भए गरौं, नत्र हामी यसमा संलग्न हुँदैनौं’ भनेपछि पछि हट्न बाध्य भए । अहिले विभागबाट महिनामा १ लाख ५० हजार (जेठ महिनामा १ लाख ४७ हजार) पासपोर्ट जारी हुन थालेको छ । यस्तो अवस्थामा राहदानी अभाव भयो भने विभाग नै बन्द गर्नुपर्ने हुन्छ । किनभने, टेण्डर गर्न नै एक–डेढ वर्ष लाग्छ । मन्त्रीले विभागबाट दिइएको प्रतिवेदन सदर गर्न मानेका थिएनन् । विभागले मन्त्रालयमा प्रतिवेदन दर्ता गराइदियो । पछि प्रधानमन्त्री आफैंले चासो राखेपछि बल्ल सदर भयो । 

त्यस्तै, मन्त्रीपत्नीले आफू सवार हुनका लागि मन्त्रालयबाट राजदूतहरूले चढ्ने कार लगेकी छन् । चारतिरबाट तेल माग्दै ‘पहिला शहरी विकासमा उहाँ मन्त्री हुँदा कस्तो मज्जा थियो’ भन्ने गर्छिन् । उता, पुलिस रिपोर्ट प्रमाणित गर्न दलालमार्फत कन्सुलर सेवा विभागमा मुठाका मुठा लैजाने क्रम बढेपछि बालकृष्ण खाँणका झड्केलो छोराले यस मामिलामा ज्योत्सनाहरूलाई हेरेको हेर्‍यै पारिदिएका छन् । मलेसियाबाट फिर्ता भएर आएका प्रतीक कार्की बालकृष्णका झड्के अर्थात् मञ्जु खाँणले पूर्वपति न्यायाधीश तेजबहादुर कार्कीबाट जन्माएकी सन्तान हुन् । उनले ज्योत्सनाको धन्दालाई ‘ज्यान गए साथ दिन्न’ भनेपछि मन्त्रालयदेखिकै हाकिमहरू पछाडि हटेका छन् । 

प्रधानमन्त्री मातहतका जासुसहरू यताउता

यसबीच, प्रधानमन्त्रीको प्रत्यक्ष नियन्त्रणमा रहने गुप्तचर (राअवि) विभागमा हाकिमहरूको अदलबदल भएको छ । ललितपुर जिल्ला प्रशासनका एसएसपी इन्द्र लामा डिआइजीमा बढुवा भएर सुदूरपश्चिम पुगेका छन् । विभागको रेकर्ड शाखामा रहेका माधव तिमल्सिना कर्णालीमा हाजिर हुँदै छन् । सुदूरपश्चिमका ओम खड्कालाई लुम्बिनी प्रदेशमा सारिएको छ ।

कर्णालीका रामप्रसाद दास बागमति छिरेका छन् । उनी बारा जिल्लाका बासिन्दा हुन् । बागमतिका किशोरकुमार श्रेष्ठ लमजुङलाई कोशी प्रदेशमा सरुवा गरिएको छ । कोशीका कृष्ण खनाल गण्डकी पुर्‍याइएका छन् । मधेस प्रदेशका डिआइजी सञ्जय यादवलाई भने चलाइएन । पप्पु शर्मा पौडेल हेटौंडाबाट बढुवा भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाइएका छन् । त्यहाँका भूमि पाठकलाई ललितपुरमा दोहोर्‍याइएको छ । काठमाडौं जिल्ला प्रशासनका विकास पाण्डे बढुवा नपाएपछि त्यहीँ राखिएका छन् । कास्की जिल्ला प्रशासनका उत्तम खनाल पनि बढुवापीडित भई त्यहीँ छन् ।

टिप्पणीहरू