काँग्रेस सभापति र महामन्त्रीको अभिव्यक्तिले भ्रम उत्पन्न गरायो : महर

काँग्रेस सभापति र महामन्त्रीको अभिव्यक्तिले भ्रम उत्पन्न गरायो : महर

नेपाली काँग्रेसका युवानेता नैनसिंह महरले पार्टीका शीर्ष नेताहरुका फरक–फरक अभिव्यक्तिले जनता र कार्यकर्तामा भ्रम सिर्जना गरेको भन्दै असन्तुष्टी जनाएका छन् । 

पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै उनले पदाधिकारी तहबाटै फरक–फरक धारणा सार्वजनिक भएका कारण पार्टीप्रति जनतामा भ्रम फैलिएको बताए । सभापति, महामन्त्री र उपसभापतिलगायत पदाधिकारीहरुको यस्तो व्यवहारले पार्टी सदस्यहरुमा विभाजन र दोधार पैदा गरेको नेता महरले बैठकमा सुनाए । 

बैठकमा लिखित टिप्पणी राखेका उनले सरकार, सदन र पार्टीबीचको समन्वयमा समस्या रहेको पनि बताए । त्यसको अन्त्य गर्नुपर्ने धारणा राख्दै भने, ‘जनताबाट छानिएका प्रतिनिधिलाई पार्टीको घोषणापत्रप्रति उत्तरदायी बनाउन तथा मूल्याङ्कन गर्ने संयन्त्र बनाउनुपर्ने आवश्यकता छ ।’ यसो हुन सकेमात्रै विकासले गति लिने महरको भनाई छ । 

‘काँग्रेस केन्द्रीय समिति, संसदीय दल र सरकार÷प्रदेश समिति तथा स्थानीय तहकाबीच ठूलो खाडल देखिन्छ । संसद्ले पास गर्ने विधेयकप्रति केन्द्रीय समिति बेखबर छ । यो अवस्थाको अन्त्य हुनुपर्छ,’ उनले भने । वार्ड सदस्यदेखि अध्यक्ष, पालिकाका प्रमुख, प्रदेशदेखि संघीय सांसदहरूले प्रत्येक तीन महिनामा जनताका पक्षमा गरेको काम र काँग्रेसलाई जनताको लोकप्रिय पार्टी बनाउन गरेको कार्यको समीक्षा रिपोर्ट बुझाउउने गरि मूल्यांकन पद्धती विकास गर्नुपर्नेमा पनि उनले जोड दिए ।

नेता महरले पार्टीमा व्यापक गतिशीलताको खाँचो रहेको पनि औँल्याएका छन् । राजनीतिक अवस्था पनि फेरिँदै गएको र विश्वराजनीतिमा तीब्र परिवर्तन आएकाले काँग्रेस सोही अनुरूप अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

टिप्पणीहरू